कोरोना भाइरस नेपाल: बालबालिका र भारतबाट फर्किएका व्यक्तिमा पनि सङ्क्रमण, कुल सङ्ख्या २४९ पुग्यो

Published
पढ्ने समय: २ मिनेट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मानिसको कुल सङ्ख्या २४९ पुगेको जनाएको छ।

बिहीवार साँझ एउटा विज्ञप्ति प्रकाशित गर्दै मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले थप तीन जनामा कोरोनाभाइरस देखिएको पुष्टि गरेका हुन्।

योसहित कुल छ जनामा कोभिड-१९ देखिएको बिहीवार पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये दुई बालबालिका छन्। एक जना भारतबाट फर्किएका व्यक्ति पनि छन्।

के छ परीक्षणको स्थिति?

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म देशभरि पीसीआर विधिबाट २२,६६४ वटा परीक्षण गरिएको छ।

उनका अनुसार अहिले देशभरि १५,६०० जना क्वारन्टीनमा र २७२ जना आइसोलेशनमा अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्। काठमाण्डू उपत्यकामा छ जना आइसोलेशनमा छन्।

अहिले ५३,८३५ जनालाई क्वारन्टीनमा राख्न शय्या भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म कर्णालीबाहेक छवटा प्रदेशका २२ जिल्लामा सङ्क्रमित फेला परेका छन्।

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्।

को हुन् सङ्क्रमित?

पछिल्ला तीन सङ्क्रमितहरूमा काठमाण्डूका एक सात वर्षीय बालक, जनकपुरकी एक १७ वर्षीया किशोरी र धादिङकी एक ३० वर्षीया महिला छन्।

काठमाण्डूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका ती सबैको स्वास्थ्यस्थिति सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहेको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ।

अपराह्ण सङ्क्रमण पुष्टि भएका व्यक्ति नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकाका ४९ वर्षीय पुरुष हुन्। यो गण्डकी प्रदेशमा पर्छ।

भरतपुर अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार ती व्यक्ति भारतको कोलकाताबाट रक्सौल हुँदै नेपाल भित्रिएर बुधवार जाँचका लागि आएका थिए।

उनलाई कोरोनाभाइरस उपचारका भरतपुरमा बनाइएको विशेष अस्पतालमा राखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

बिहान पुष्टि भएका सङ्क्रमित काठमाण्डूको चन्द्रागिरिका ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी छ वर्षीया बालिका हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएका परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो।तर दोस्रो विवरणमा यसअघि पुष्टि भएका सर्लाही, धनुषा र महोत्तरीका पाँच जना दोहोरिएका थिए।

केही दिनयता नेपालमा कोरोनाभाइरसको सङ्क्रमण बढेको देखिएको छ।

बुधबार स्वास्थ्य मन्त्रालयले थप २६ जनामा सङ्क्रमण भएको विवरण सार्वजनिक गरेको थियो भने मङ्गलवार एकै दिन ५७ जना सङ्क्रमित भएको पुष्टि भएको थियो।

किन गर्नुपर्‍यो मन्त्रालयले तथ्याङ्क संशोधन?

यसअघि आफूले प्रकाशित गरेको एउटा विज्ञप्ति त्रुटिपूर्ण भएको भन्दै मन्त्रालयले सङ्क्रमितको कुल सङ्ख्या संशोधन गरेको थियो।

बिहीवार बिहान पहिलो विज्ञप्तिमा थप दुई जना र दोस्रो विज्ञप्तिमा थप पाँच जनामा कोभिड-१९ देखिएको उल्लेख थियो।

तर दोस्रो विज्ञप्तिमा पुरानो विवरण दोहोरिएको भन्दै मन्त्रालयले सङ्क्रमितको कुल सङ्ख्या संशोधन गरेको थियो।

"अद्यावधिक विवरणअनुसार कोभिड-१९ पुष्टि भएकाहरूको जम्मा सङ्ख्या २४५ नै रहेको छ," सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिहान १०:१५ बजे प्रकाशित गरेको विज्ञप्तिमा लेखिएको छ।

"पछिल्लो अद्यावधिक विवरणअनुसार २५० भएकोमा प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुन: रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु," उनले भने।