कोरोना भाइरस: ब्रिटेन, फ्रान्स र स्पेनमा लकडाउन खुकुलो पारिँदै

तस्बिर स्रोत, PA Media
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले इङ्ग्ल्यान्डमा सर्वसाधारणहरू बुधवारदेखि घरबाहिर जान पाउनेगरी एउटा 'सर्तसहितको योजना' सार्वजनिक गरेका छन्।
उनले घरबाट काम गर्न नसक्ने व्यक्तिहरूलाई सार्वजनिक यातायात प्रयोग नगरी कार्यस्थलसम्म जान दिइने बताए।
कोरोनाभाइरस महामारी रोकथामका लागि ब्रिटेनले लकडाउन लगाएको थियो।
प्रधानमन्त्री जोनसनले पाँच तहको नयाँ 'कोभिड सतर्कता प्रणाली'ले कति चाँडै लकडाउनका प्रतिबन्धहरूलाई अझ खुकुलो पार्न सकिन्छ भन्ने तय गर्ने बताए।
उनले जुन १ सम्म प्राथमिक तहका विद्यार्थीलाई विद्यालय फर्काउन सकिने आशा व्यक्त गरे।
आगामी चरण
देशवासीका नाममा सम्बोधन गर्दै जोनसनले यो चरणमा "यदि विज्ञानद्वारा समर्थन प्राप्त भए" पसलहरू खोलिने बताए।
आगामी चरणमा केही पर्यटन उद्योगहरू पनि खुल्न सक्नेछन्। तर जुलाई १ अघिसम्म ती बन्द रहनेछन्।
जोनसनले यी चरणहरू लकडाउन खोल्ने योजनाको पहिलो खाका भएको बताए।

तस्बिर स्रोत, Getty Images
उनले भने, "यो साता सामान्य रूपमा लकडाउन समाप्त पार्ने समय होइन। त्यसको साटो हामी हाम्रा उपायहरूलाई सावधानीपूर्वक परिवर्तन गरिरहेका छौँ।"
उनले लकडाउन पालना गर्नुपर्ने समूहमा पर्ने व्यक्तिले उल्लङ्घन गरे बढी जरिवाना तिर्नुपर्ने चेतावनी दिए।
निर्देशन
सोमवार प्रकाशित हुने लकडाउनसम्बन्धी आदेशले नयाँ योजनाबारे विस्तृत जानकारी दिने अपेक्षा गरिएको छ।
विपक्षीहरूले सरकारले अझै पनि सर्वसाधारणले जान्न खोजेका प्रश्नहरूको उत्तर सरकारले स्पष्ट रूपमा दिन नसकेको बताएका छन्।
स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डले 'स्टे अलर्ट' अर्थात् 'सावधान रहौँ' भन्ने नयाँ सरकारी योजनालाई अस्वीकार गरेका छन्।
ती क्षेत्रमा मानिसहरूलाई घरमै बस्न प्रोत्साहित गरिएको छ।

तस्बिर स्रोत, Peter Summers/Getty Images
कानुनी रूपमा उनीहरूले आफ्नो क्षेत्रमा आफ्नै तरिकाको लकडाउन लागउन सक्छन् र ब्रिटिश सरकारको योजना लागु नगर्न पनि सक्छन्।
फ्रान्समा धेरै प्रतिबन्ध हट्दै
युरोपकै सबैभन्दा लामो लकडाउनपश्चात् फ्रान्सले सोमवारबाट कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएका धेरै प्रतिबन्धहरू हटाउँदैछ।
पसलहरू र अधिकांश प्राथमिक विद्यालयहरू खुल्नेछन्।
मानिसहरूलाई आफ्नो घरबाट १०० किलोमिटरसम्म यात्रा गर्न दिइनेछ।
उनीहरूले सानो समूहमा आफ्ना साथीभाइ र आफन्त भेट्न पाउनेछन्।
तर बार, रेस्टुराँ र सिनेमाघर कम्तीमा अझै तीन सातासम्म बन्द रहनेछन्।
भाइरस अतिप्रभावित प्यारिस र पूर्वोत्तर क्षेत्रमा थप नियमहरू लगाइनेछ।

तस्बिर स्रोत, Getty Images
स्पेनमा खुकुलो
स्पेनले पनि आफ्ना केही क्षेत्रहरूमा सोमवारदेखि लकडाउनलाई खुकुलो पार्दैछ।
मानिसहरूले आफन्त र इष्टमित्र भेट्न पाउनेछन्। तर १० जनाभन्दा बढी भेला हुन पाइनेछैन।
आफ्नो प्रदेशभित्र मानिसहरूले आवतजावत पनि गर्न पाउनेछन्। भिडभाड नगरी बार, रेस्टुराँ र पसलहरू खुल्न पाउनेछन्।
तर कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित मड्रिड र बार्सिलोनामा भने प्रतिबन्धहरू यथावत् छन्।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ





















