कोरोना भाइरस: तीन महादेश, चार जीवन, एकै दिन अस्त

फिलिप र एन्टनी

तस्बिर स्रोत, Photo supplied

    • Author, एलिश कडी
    • Role, बीबीसी न्यूज
  • Published

एकआपसमा केही पनि साझा नभएका र हजारौँ माइल टाढा बस्ने मानिसहरू अहिले कोरोनाभाइरसविरुद्धको सङ्घर्षमा एकजुट भएर लागिरहेका छन्।

गत वर्षको अन्त्यमा चीनमा पहिलो पटक देखिएको भाइरसबाट संसारभरीका ३५ लाखभन्दा बढी मानिस सङ्क्रमित भैसकेका छन्। करिब दुई लाख ४५ हजारको ज्यान गइसकेको छ।

औंलामा गन्न सकिने सङ्ख्यामा देशहरू मात्र बाँकी छन् जहाँ अहिलेसम्म यो महामारी देखिएको छैन।

यो कथा तीनवटा महादेशका चार जना मानिसको हो जसले गत एप्रिल १२ तारिखमा एकै दिन ज्यान गुमाएका थिए।

एप्रिल १२ तारिखमा यूकेका अस्पतालहरूमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू सङ्ख्याले दशहजारको सिमा नाघेको थियो।

Short presentational grey line

मारिया पोलिडोरी फेब्रुअरीको अन्त्यमा इटलीको अस्पतालमा पेटको क्यान्सरको शल्यक्रियाको निम्ति भर्ना भएकी थिइन्। सबै कुरा सामान्य ढङ्गले जाँदै थियो। उनको परिवार उनी फर्किने पर्खाइमा थियो।

तर एप्रिल ९ तारिखमा ८४ वर्षिया उनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको खबर उनको परिवारले अस्पतालबाट पायो। त्यसको तीन दिनमा मृत्युको खबर गयो।

मारिया

तस्बिर स्रोत, Photo supplied

उनका छोरा पिएरलुइजीको निम्ति आमालाई आवश्यक परेका बेला उनको नजिक पुग्न नपाएको कुरा कठोर यथार्थ बन्न पुग्यो।

एकजना नर्स र मिडवाइफको रूपमा २५ वर्ष काम गर्दा उनी पोर्टो पोटेन्जा नगर आसपासको क्षेत्रमा परिचित थिइन्। तर महामारीका कारण कसैले पनि उनको अन्तिम संस्कारमा सहभागी भएर सम्मान व्यक्त गर्न पाएनन्।

त्यो यस्तो घटना बन्यो जसको चर्चा देशभरी भयो।

Short presentational grey line

हजारौँ माइल टाढा अमेरिकी राज्य टेक्ससमा फिलिप साई ब्रुक्स् र उनका पति एन्टनी दुबै सङ्क्रमित भएर एप्रिल १२ मा अस्पतालमा भर्ना थिए।

बीबीसीलाई फिलिपका भाइले दिएको वक्तव्यमा फिलिप र एन्टनीले सामाजिक बन्धनहरू तोड्न सफल भएको र उनीहरूलाई सान एन्टोनियो सहरमा एक समलिंगी दम्पत्तिको रूपमा स्वीकार गरिएको बताए।

एन्थोनी र फिलिप

तस्बिर स्रोत, Photo supplied

पाँच भाइमध्येका एक फिलिपको केशसज्जा विज्ञ बन्ने र कपाल काट्ने आफ्नै सलोन खोल्ने सपना थियो।

टोनी भनेर चिनिने एक्लो छोरा एन्टनीले स्थानीय निकायमा बजेट योजनामा सघाउने काम थाल्नुअघि कैयौँ वर्ष अमेरिकी वायु सेनामा बिताएका थिए।

नातेदार र साथीहरूले उनीहरूलाई पूर्ण दम्पत्तिको रूपमा लिएको सुनाउँछन्। एक दिन आफ्नो सन्तानको रूपमा कसैलाई स्वीकार गर्ने उनीहरूको सपना थियो।

तर उनीहरूको जीवन र सपनाहरू कोरोनाभाइरसको प्रकोपले दु:खद अन्त्य गरिदियो।

फिलिप ४२ र एन्टनी ५२ वर्षका थिए। मार्चको अन्त्यमा फेसबुकमा फिलिपले बिसन्चो महसुस गरेको र क्वारन्टीनमा बस्न भनिएको लेखेका थिए।

छ दिनपछि कोरोनाभाइरस पुष्टि भएर अस्पतालमा भर्ना भएको जनाए।

मिल्दो लक्षणपछि एन्टनी अर्को अस्पतालमा लगिए। फिलिपका भाइले उनीहरूको प्रेमको अन्तिम अध्याय सुनाए। उनका अनुसार टोनीलाई फिलिप रहेकै अस्पतालमा सारियो।

स्वास्थ्य बिग्रिँदै गएपछि उनीहरूलाई एकअर्का नजिकैको कोठामा राखियो। कोभिड-१९ कै कारण हृदयाघात भएर फिलिपको एप्रिल १२मा मृत्यु भयो। त्यसको दुई दिनपछि एन्टनीको पनि मृत्यु भयो।

फिलिपका भाइले भने, "कस्तो दु:खद क्षति तर उनीहरूको प्रेम जीवन्त रहनेछ।"

Short presentational grey line

उत्तर अमेरिकाबाट भिक्टर बटिस्टा फाला ६० वर्षपछि पहिलो पटक हालसालै आफू जन्मेको देश क्युबा फर्किएका थिए।

८७ वर्षका उनी देशको एउटा सम्पन्न परिवारमा जन्मिएका थिए। भिक्टरले सन् १९६० मा फिडेल क्यास्ट्रो र विद्रोही फौजले राष्ट्रपति फूलखेन्सियो बटिस्टालाई अपदस्त गरेपछि देश छाडेका थिए।

भिक्टर न्यूयोर्कमा क्युबाका एक प्रमुख निर्वासित साहित्यकार बन्न पुगेका थिए।

भिक्टर

तस्बिर स्रोत, Handout

मड्रिड गएपछि उनीले एउटा प्रकाशन गृह खोले। त्यहाँबाट उनले क्युबाकोबारेमा असङ्ख्य निबन्धहरू प्रकाशित गरेका थिए।

स्पेनको राजधानीमा भिक्टरलाई सन् १९९६ मा भेटेका फ्रान्सस्थित क्युबाका लेखक विलियम नाभारेयटेले पछि मड्रिड जाँदा उनलाई भेटिरहन्थे।

उनले भिक्टरलाई 'झैझगडा र कानेखुशी मन नपराउने मानिस' को रूपमा चित्रित गर्छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

भिक्टर ग्रान्ड डचेस अफ लक्जम्बर्गका काका थिए। ड्युक तथा डचेसको वक्तव्यमा उनको निधनले परिवारको निम्ति 'ठूलो क्षति' भएको उल्लेख छ।

तर विलिमयका अनुसार भिक्टरले कहिल्यै शाही परिवारसँगको सम्बन्धबारे कुरा गर्दैनथे र पारिवारिक सम्पन्नताकाबारे पनि कुरा गर्न मन पराउँदैनथे।

उनी चुपचाप ६० वर्षपछि गत फेब्रुअरीमा स्वदेश फर्किनुको कारण स्पष्ट छैन।

विलियमलाई पनि उनको यात्राबारे जानकारी थिएन। कोभिड-१९ का कारण आफ्नो साथीको मृत्यु भएको खबर समाचारपत्र पढेपछि मात्र थाहा पाएको उनले बताए।

Short presentational grey line

भारतको भोपालस्थित एउटा रासायनिक केन्द्रभित्र सन् १९८४ को डिसेम्बर ३ तारिखमा चुहावट भयो। लगत्तै छिमेकभरी नै घातक ग्यासको बादल फैलियो।

हजारौँ मानिसहरूको ज्यान गएको त्यो घटना आधुनिक इतिहासको एउटा घातक औद्योगिक विपद् बन्न पुग्यो। थप दशौँ हजारलाई उपचारको खाँचो पर्‍यो।

त्यसबेला इमरान खान भरखरका थिए। दुई वर्षअघि उनलाई मुखको क्यान्सर भयो। त्यही चुहावटकै परिणाम उनमा उक्त रोग देखिएको ठानियो र उनले काम छाड्नु पर्‍यो।

सुरुको क्यान्सरबाट बाँचेका उनमा रोग फेरि बल्झियो। उनको स्वास्थ्य पछिल्ला साताहरूमा बिग्रिएको थियो र एप्रिल १२ तारिखमा उनको मृत्यु भयो।

पछि परीक्षणमा पुष्टि भयो, उनमा कोरोनाभाइरसको सङ्क्रमण भएको रहेछ।

ग्यास दुर्घटनाबाट बाँचेकाहरूको एउटा समूहले स्थानीय सरकारमाथि इमरान जस्ता मानिसहरूलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

उनीहरूले उक्त दुर्घटनाबाट बाँचेका पाँचजनाको कोरोनाभाइरसका कारण ज्यान गएको बताएका छन्।

ग्यास दुर्घटनाका पीडितहरूको निम्ति स्थापना गरिएको एउटा अस्पताल भाइरस सङ्क्रमितको उपचार केन्द्रमा परिणत गरिएको छ।

इमरानका श्रीमती र छोराको हेरचाह उनका दाजु रशिद खानले गरिरहेका छन्।

उनले बीबीसी हिन्दीलाई भने, "सिङ्गो परिवारको रेखदेख गर्ने जिम्मेवारी मेरो काँधमा आइपरेको छ।"

(थप रिपोर्टिङ् एलेसान्द्रा माजीओरानी र शुरिआह निआजी)