तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतको महाराष्ट्र राज्यमा भिडले तीन जनालाई कुटेर मारेको आरोपमा ११० जना पक्राउ
भारतको पश्चिमी राज्य महाराष्ट्रमा लकडाउन लगाइएको बेला तीन व्यक्तिलाई कुटीकुटी हत्या गरेको आरोपमा १०० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ।
गत बिहीवार पालघर जिल्लामा उक्त घटना भएको थियो। भिडले ती तीन जनालाई साङ्घातिक आक्रमण गरेको दृश्य देखिने एउटा भिडिओ आइतवार भाइरल भएको थियो।
एउटा कारमा चढेर अन्तिम संस्कारमा सहभागी हुन जान लागेका ती तीन जनालाई अपहरणकारी भएको आशङ्कामा भिडले बाहिर निकालेर आक्रमण गरेको थियो।
बीबीसी हिन्दीका अनुसार पक्राउ पर्ने ११० जनामध्ये नौ जना नाबालिग छन्।
कोरोनाभाइरस नियन्त्रण गर्ने प्रयासस्वरूप भारतमा मार्च २५ देखि लकडाउन लगाइएको छ।
को हुन् मृतक?
मृत्यु हुनेमा ३५ र ७० वर्षका दुई साधु र तिनका ३० वर्षीय सवारीचालक हुन्।
भिडिओमा प्रहरीले जोगाउने प्रयास गर्दागर्दै पनि आक्रामक भिडले तिनलाई कुटपिट गरेको देखिन्छ।
भिडले ती तीन व्यक्ति बालबालिका अपहरण गर्न आएको शङ्का गरेको बताइन्छ।
बालबालिका अपहरणसम्बन्धी अफवाहका कारण भारतमा बारम्बार यस्ता घटनाहरू भएका छन्।
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दोषीलाई कडा कारबाही हुने बताए।
पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले राज्यमा सरकारको नियन्त्रण नभएको देखिएको टिप्पणी गरेका छन्।
के भन्छन् गृहमन्त्री?
विभिन्न धार्मिक समूहले पनि साधुहरूको हत्या भएकोमा आलोचना गरेका छन्।
उनीहरूले राज्यमा लकडाउन कार्यान्वयनको पक्षमा प्रश्न उठाएका छन्।
महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उक्त घटनामा कुनै साम्प्रदायिक उद्देश्य नभएको दाबी गरेका छन्।
उनका अनुसार आक्रमणकारी र पीडित सबै एउटै धर्मका अनुयायी हुन्।
सामाजिक सञ्जालमा धार्मिक कारणले उक्त घटना भएको दाबीसहित उत्तेजना फैलाउन थालिएपछि उनले स्पष्टीकरण दिएका हुन्।
यो पनि हेर्नुहोस्