तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस: उदयपुरका ३ सय घरपरिवारको स्वास्थ्य परीक्षण गर्ने तयारी
- Author, विक्रम निरौला
- Role, बीबीसी न्यूज नेपाली, विराटनगर
- Published
एकै ठाउँमा धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ का करिब ३ सय घर परिवारका सबै मानिसको परीक्षण गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताएका छन्।
त्यहाँस्थित एक मस्जिदमा बस्दै आएका ११ भारतीयसहित १२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि उक्त वडाका सबै मानिसहरूको परीक्षण गर्न लागिएको सुवेदीले बताए।
मस्जिद र आसपास परीक्षण गरिने
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार कोरोनाभाइरस सङ्क्रमित बसेको उक्त मस्जिदमा बसेका अन्य र उनीहरूको सम्पर्कमा रहेका आसपासका बस्तीका करिब १५ सय मानिसको परीक्षण गर्नुपर्ने अवस्था रहेको छ।
उनका अनुसार त्रियुगा नगरपालिकाको वडा नं १, २, ३, ६ र १२ मा कोरोना सङ्क्रमितहरूको आवतजावत भएको देखिएको छ।
प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय विराटनगरले आवश्यकता अनुसार द्रुत तथा पीसीआर परीक्षणका लागि चिकित्सकसहितको टोली खटाइसकिएको जनाएको छ।
"सबै तयारी भइसकेको छ, आजै (शनिवार)देखि परीक्षणको काम शुरू हुन्छ," जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले भने।
आवतजावतमा प्रतिबन्ध
स्थानीय प्रशासनले कोरोनाभाइरस सङ्क्रमित भेटिएको मस्जिदको आसपासका क्षेत्रमा मानिसको आवतजावतमा पूर्णरूपमा प्रतिबन्ध लगाएको जनाएको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले मस्जिदमा भेटिएका सङ्क्रमितहरूको अन्य मानिससँगको सम्पर्क र उनीहरूको आउजाउको विवरण सङ्कलन गर्न थालिएको बताएका छन्।
मस्जिदमा बसेका उनीहरूको द्रुत विधि वा आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो। तर उनीहरूको स्वाब सङ्कलन गरी कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा भने सङ्क्रमण रहेको पोजिटिभ परिणाम आएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। त्यहाँ भएको परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
प्रारम्भिक विवरण अनुसार गत फागुनमै उनीहरू भारतको दिल्लीबाट जोगवनी नाका हुँदै नेपाल प्रवेश गरेका थिए।
त्यसपछि मोरङ्ग, सुनसरी, सप्तरी हुँदै उनीहरू उदयपुर पुगेको बताइएको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
विराटनगरमा उपचार शुरू
उदयपुरको मस्जिदमा भेटिएका १२ जना सङ्क्रमितको विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचार शुरू गरिएको छ।
शुक्रवार राति उदयपुरबाट एम्बुलेन्समा हालेर उनीहरूलाई विराटनगर ल्याइएको थियो।
उनीहरूसँगै रहेका अन्य चार जनामा सङ्क्रमण नभेटिएकाले मोरङ्गको टाँडीस्थित क्वारन्टीनमा पठाइएको छ।
कोशी अस्पतालकी मेडिकल सुपरिन्टेण्डेन्ट डा संगिता मिश्रका अनुसार सङ्क्रमित सबै १२ जनालाई दूरी कायम गरि एउटै कोठामा राखिएको छ।
उनीहरूलाई खाना र पानी पनि त्यहीँ दिने गरिएको छ।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सङ्क्रमितहरूमा कोरोनाभाइरसको लक्षण देखिएको छैन।
तर पनि चिकित्सकको निगरानीमा उनीहरूको उपचार थालिएको बताइएको छ।
उनीहरूको उपचारका लागि दुईजना चिकित्सकसहित आठजनाको टोली खटाइएको छ।
सामाजिक विकास मन्त्रालयले तयार पारेका क्लिनिकल प्रोटोकलअनुसार कोरोनाभाइरस सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले एकसातापछि दुई सातासम्म क्वारन्टीनमा बस्नुपर्नेछ।