कोरोनाभाइरसः स्पेनमा एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च

तस्बिर स्रोत, AFP
स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ।
युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो।
स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या भने निरन्तर घट्दै गएको जनाइएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले कोरोनाभाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन्।
आकलन

तस्बिर स्रोत, Getty Images
कोरोनाभाइरसको रोकथामका लागि गरिएका प्रयासले अर्थतन्त्रमा नराम्ररी असर पुर्याउन सक्ने आकलन भएका बेला राष्ट्रसङ्घको पछिल्लो टिप्पणी आएको हो।
राष्ट्रसङ्घको प्रतिवेदनले कोरोनाभाइरसको महामारीका कारण विश्वभरि २ करोड ५० लाख जागिर गुम्न सक्ने अनुमान गरेको छ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि अहिलेसम्म ८ लाख ७० हजार मानिसमा देखिएको पुष्टि भएको छ भने ४३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
कोभिड-१९ बाट बुधवार स्पेनमा मृत्यु हुने मानिसहरूको सङ्ख्या मङ्गलवारको भन्दा थोरै बढी छ। मङ्गलवार ८४९ जनाको ज्यान गएको थियो।
विगत पाँच दिनयता प्रतिदिन आठ सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ।

तस्बिर स्रोत, Getty Images
प्रतिबन्ध
स्पेनमा विगत दुई हप्तादेखि सर्वसाधारणलाई घरबाहिर निस्कन र आवतजावतमा प्रतिबन्ध लगाइएको छ।
दुई दिनअघि त्यसमा थप कडाइ गरिएको थियो। तर कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित मड्रिड र क्याटलोनियासहितका क्षेत्रमा स्वास्थ्यकर्मीहरूले आवश्यक चिकित्सकीय सामग्रीको अभावको सामना गरिरहेका छन्।
हालसम्म इटली सबैभन्दा नराम्ररी प्रभावित मुलुकको रूपमा देखिएको छ जहाँ कुल सङ्क्रमितको सङ्ख्या १,०५,७९२ रहेको छ भने मङ्गलवार साँझसम्म १२,४२८ जनाको मृत्यु भइसकेको छ।
स्पेनमा १,०२,१३६ सङ्क्रमित छन् भने ९,०५३ जनाको ज्यान गएको छ। संयुक्त राज्य अमेरिकामा मृत्यु हुने मानिसहरूको सङ्ख्या ४,००० नाघेको छ भने इरानमा मृतकको सङ्ख्या ३,००० पुगेको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ





















