कोरोनाभाइरस: उद्धारका लागि पर्यटक खोज्दै सरकार

उद्धार गरिएका पर्यटक

तस्बिर स्रोत, Dhananjay Regmi

तस्बिरको क्याप्शन, उद्धार गरिएका पर्यटक
    • Author, कमल परियार
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

मुलुकमा 'लकडाउन' सुरु भएपछि १४ सयभन्दा बढी पर्यटकहरूलाई विभिन्न पर्यटकीय गन्तव्यबाट उद्धार गरिएको भएपनि हालसम्म नेपालमा रहेका भनिएका हजारौँ पर्यटकहरू कहाँ कुन अवस्थामा छन् भन्ने थाहा पाउन निकै कठिन बनेको अधिकारीहरूले जनाएका छन्।

सरकारले ती पर्यटकहरूको अवस्था थाहा पाउनका लागि जिल्ला प्रशासन कार्यालय र होटल एसोसियसन अफ नेपाललाई दुईतीन दिनभित्र जानकारी गराउन परिपत्र समेत गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

गत मार्च महिनामा २५ हजारको हाराहारीमा पर्यटकहरू नेपाल भित्रिएको र लकडाउन हुनुअघिसम्म बाह्र हजार पर्यटक आ-आफ्नो मुलुक फिर्ता भइसकेको सरकारी तथ्याङ्क छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले भने, ‘‘बाँकी १३ हजारमध्ये केही आफ्नो देश फर्किसके, केही फर्कने क्रममा छन् तर अझै यहिँ बसिरहेका पर्यटकको आँकडा अध्यावधिक गर्न कुनै संयन्त्र नै छैन।’’

उनका अनुसार होटलमा बसेका पर्यटक बाहेक ठूलो सङ्ख्यामा पर्यटकहरू गाउँगाउँका होमस्टे तथा कैयन् लजमा रहेको भनिएको छ।

कोरोनाभाइरस सङ्क्रमणको डरले तत्काल आफ्नो देशमा फर्कन नचाहेका भनिएका पर्यटकको अवस्था थाहा पाउन निकै कठिन भएको बताइएको छ।

पोखरा लगायतका कैयन् स्थानमा केही पर्यटकहरू आफैँ पकाउने, खाने गरेर बसेको र ठमेलमा समेत होटलमा भन्दा होमस्टेमा पर्यटकहरू ठूलो सङ्ख्यामा रहेको बुझिएको उनले जनाए।

कैयन् होमस्टे र लजहरू दर्ता नगरि चलाइएकोले पनि पर्यटकको अवस्था थाहा पाउन गाह्रो भएको सरकारी अधिकारीहरूको गुनासो छ।

उद्धार गरिएका पर्यटक

तस्बिर स्रोत, Dhananjay Regmi

तस्बिरको क्याप्शन, उद्धार गरिएका पर्यटक

तर कैयन् पर्यटकहरूले भने विभिन्न माध्यमबाट आफूहरूको उद्धार गरिदिन आफूहरूलाई आग्रह गरिरहेको पर्यटन बोर्डले जनाएको छ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने, ‘‘जुन देशले आफ्ना नागरिक फिर्ता लैजान चाहन्छ उनीहरूलाई हामीले सहुलियत दरमा हवाई टिकट उपलब्ध गराइ वा नि:शुल्क बसबाट काठमाण्डूसम्म ल्याउने कार्य गरिरहेका छौँ।’’

विभिन्न मुलुकहरूले गरेको लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि हजारौँ पर्यटक विभिन्न होटल तथा लजमा र पदयात्राको क्रममा सगरमाथा आधारशिविर लगायतका क्षेत्रमा अलपत्र परेका थिए।

कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै देशभरि लकडाउन गरिएपछि सगरमाथा क्षेत्रमा एक सयभन्दा बढी विदेशी पर्यटक रोकिएका थिए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोरोनाभाइरसको जोखिमका कारण सरकारले पर्वतारोहण सम्बन्धी सम्पूर्ण गतिविधि स्थगित गरेपछि केही नेपाली पथप्रदर्शकसहित लुक्लाबाट फ्रान्स, जर्मनी,रुस, ब्रिटेन, अमेरिका, स्वीडेन लगायतका देशका ४२९ जनालाई उद्धार गरिएको थियो।

त्यस्तै पोखराबाट जर्मनी, ब्रिटेन, अमेरिका, स्वीडेन र दक्षिण कोरियाका गरि ६१३ जनालाई उद्धार गरिएको थियो।

त्यस्तै ताप्लेजुङ, मुक्तिनाथ, अन्नपूर्ण आधार शिविर, लाङटाङ, सङ्खुवासभा, चितवन लगायतका स्थानबाट २७९ जनालाई उद्धार गरेर काठमाण्डू ल्याइएको छ।

पर्यटन बोर्डका अनुसार ती मध्ये अधिकांशलाई सम्बन्धित देशका दूतावासको पहलमा आआफ्ना मुलुक फर्काइसकिएको छ।

उद्धार गरिएका पर्यटक

तस्बिर स्रोत, Dhananjay Regmi

तस्बिरको क्याप्शन, उद्धार गरिएका पर्यटक

र विभिन्न स्थानमा रोकिएर बसेका पर्यटकहरूलाई यथास्थानमा बस्नका लागि सार्वजनिक आह्वान गरिएको छ।

‘‘जुनसुकै स्थानमा रहेका उनीहरूलाई तत्कालका लागि सोही स्थानमा सुरक्षित रहन भनेका छौँ,’’ बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताए।

होटल व्यवसायी र स्थानीय प्रशासनबाट उपलब्ध हुने तथ्याङ्कका आधारमा थप विदेशी पर्यटकलाई स्वदेश फर्काइने वा थप व्यवस्थापनको टुङ्गो लगाइने नेपाल पर्यटन बोर्डको भनाइ छ।

यसैगरी वीरगन्जस्थित रक्सौल नाकामा विगत केही दिन यता नेपालतर्फ अलपत्र परेको भनिएका झन्डै एक हजार भारतीय नागरिकहरू विभिन्न बाटोबाट भारततर्फ प्रवेश गरेको त्यहाँस्थित हाम्री बीबीसी सम्वाददाताले जनाएकी छन्।