कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

तस्बिर स्रोत, Courtesy of Daniel Reardon
मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली वैज्ञानिक एउटा अकल्पित सङ्कटमा परे।
आफ्नो 'आविष्कार' को परीक्षण गर्न खोज्दा चुम्बकहरू उनको नाकमा अड्किएपछि उनी अस्पताल जानुपर्ने स्थिति उत्पन्न भयो।
डा. ड्यान्यल रिएर्डन नामका ती खगोलभौतिकशास्त्री मानिसले हात अनुहारनजिक पुर्याउँदा प्रतिकार गर्ने एउटा हारजस्तो उपकरण बनाउने योजनामा थिए। तर उनले सोचे जस्तो भएन।
"मेरो आविष्कारको उल्टो प्रभाव भयो। चुम्बक नजिकै हुँदा यसले आवाज निकालिराख्यो," उनले भने, "मैले आफू समस्यामा परेको थाहा पाएँ।"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

"म हाँसे र केही बेर काम गरिनँ," उनले बीबीसीलाई भने।
"अनि मैले केही नसोचीकन अनुहारमा चुम्बकहरू राख्न थालेँ। पहिला कानका लोतीमा, त्यसपछि नाकभित्र - चुम्बकका मुन्द्राजसरी।"
"नाकको अर्को प्वालमा चुम्बकहरू राखेपछि समस्या भयो। ती सँगै टाँसिए र नाकेहाडमा चुम्बकहरू अड्किए!"
"पहिला दुख्यो तर म धेरै आत्तिइनँ," उनले भने, "तर ती (चुम्बक) हटाउन त्यति सजिलो नहुने ठम्याएपछि म चिन्तित भएँ।"
"बाँकी दुइटा चुम्बक प्रयोग गरेर चुम्बक हटाउने निरर्थक प्रयास गर्दा ती पनि अड्किएपछि मलाई आफू समस्यामा परेको थाहा भयो।"
तर आफैँ त्यस परिस्थितिबाट मुक्त हुने उनले प्रयास गरे। तार च्याप्ने औजार पनि उपयोगी भएन।
"त्यो औजार मेरो नाकतिर आकर्षित भइराख्यो। अनि नाक तानिँदाको बल पीडादायी थियो।"
त्यति बेला बल्ल उनलाई अस्पताल गएको भयो हुन्थ्यो भन्ने लाग्यो। उनी मेल्बर्नस्थित एउटा स्थानीय अस्पताल गए।
"उनीहरू (चिकित्सकहरू) लाई यो गजब हो भन्ने लाग्यो," उनले भने, "हाँसेर उनीहरूले सोधे - नाकमा किन त्यति धेरै चुम्बक हालेको?"
चिकित्सकहरूले उनको नाकबाट सबै चुम्बक निकालिदिए।
अहिलेका लागि उनको उपकरण बनाउने योजना स्थगित भएको छ।
हाँस्दै उनले भने, "म यो काम कोही क्षमतावान् व्यक्तिलाई गर्न दिन्छु।"

यो पनि हेर्नुहोस्






















