कोरोनाभाइरस: कोभिड-१९ का कारण चीनभन्दा स्पेनमा धेरै मानिसको मृत्यु

स्पेन

तस्बिर स्रोत, Getty Images

Published

कोरोनाभाइरस सङ्क्रमणका कारण स्पेनमा मर्नेहरूको सङ्ख्या चीनको भन्दा धेरै पुगेको छ।

त्यहाँ बितेको एक दिनमा थप ७३८ जना सहित कुल ३४ सय मानिसले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।

चीनको भन्दा त्यो १५० जनाले धेरै हो। चीनमा ८१ हजारमा सङ्क्रमण फैलिएपनि ज्यान गुमाउनेको सङ्ख्या ३२ सयभन्दा केही बढी बताइएको छ।

उक्त रोगबाट सबभन्दा धेरै इटलीमा मरेका छन्। त्यहाँ सात हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।

स्पेनकी उपप्रधानमन्त्री पनि सङ्क्रमित

स्पेनकी उपप्रधानमन्त्री कार्मेन काल्भोलाई पनि भाइरस सङ्क्रमण देखिएपछि अस्पताल लगिएको छ।

स्पेनमा खासगरि राजधानी मड्रिड सबैभन्दा प्रभावित भएको छ भने उत्तरपूर्वी क्याटलोनियामा पनि तीव्र गतिमा सङ्क्रमण बढिरहेको छ।

त्यहाँका सांसदहरूले देशमा लगाइएको आपतकालीन स्थितिलाई थप दुई साताले बढाएर अप्रिल ११ सम्म पुर्‍याउन मतदान गर्दैछन्।

ती नियम अनुसार मानिसहरूलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। उनीहरू केवल अत्यावश्यक सामान किनमेल गर्न वा कामका लागि निस्कन पाउँछन्।

विश्वभरिको पछिल्लो आँकडा अनुसार हालसम्म चार लाख साठी हजार मानिसमा सङ्क्रमण पाइएको छ।

बिस हजारभन्दा धेरैको ज्यान गइसकेको छ।

साथै एक लाख दश हजार जना भने निको भएका छन्।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

भारतको अवस्था

जोन्स हप्किन्स विश्वविद्यालयले दिएका विवरण अनुसार भारतभरि कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ६५० नाघेको छ। त्यहाँ १२ जनाले ज्यान गुमाएका छन्।

सङ्क्रमणका सङ्ख्या बढ्दै जाँदा त्यहाँ देशभरि लकडाउन वा कडा बन्देज लगाइएको छ।

भारतमा लकडाउन

तस्बिर स्रोत, Getty Images

'लकडाउन'को पहिलो दिन बुधवार शहरका केन्द्रहरू तथा सडकहरू सुनसान रहे।

कोभिड-१९ को सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँ २१ दिनको 'लकडाउन' घोषणा गरेका थिए।

एक अर्ब ३० करोड जनसङ्ख्या भएको भारतमा ती कडा बन्देज लागु गराउन प्रहरी खटाइएको छ।

तर उक्त बन्देजका बेला अत्यावश्यक सेवाहरूको सञ्चालन बारे अन्योल भएका छन्।

खानेकुराका किराना पसलेहरूले थोक विक्रेताबाट सामान ल्याउन नपाएको बताएका छन्।

कैयन् ठाउँमा आत्तिएका मानिसहरूले धेरै किनमेल गरिरहेका छन्।

भारतभरि नयाँ सङ्क्रमण भेटिने क्रम निरन्तर छ तर अझैपनि ती सङ्ख्या कमै छ।