नेपाल आयल निगमः 'बजारमा पर्याप्त ग्यास छ, जगेडा राख्न आवश्यक छैन'

नेपाल आयल निगम

तस्बिर स्रोत, NOC/Website

Published

एलपी ग्यास आपूर्तिमा समस्या आउन सक्ने भन्दै खरिद गरी जगेडा राख्न सुरु भएको पाइएसँगै सरकारले बजारको माग अनुसार 'पर्याप्त' ग्यास आपूर्ति भइरहेको र 'अभाव हुने अवस्था नरहेको' जनाएको छ।

कोरोनाभाइरसको सङ्क्रमण विभिन्न देशमा फैलिरहेको अवस्थामा भविष्यमा आपूर्तिमा समस्या आउने हो कि भनेर ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएपछि सरकारी भनाइ आएको हो।

नेपाल आयल निगमले शनिवार एउटा विज्ञप्ति जारी गर्दै ग्यास सिलिन्डर खरिद गरी राख्ने प्रवृत्तिले बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने र आपूर्ति व्यवस्था असहज हुने भन्दै आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्रै ग्यास खरिद गर्न सर्वसाधारणलाई आग्रह गरेको थियो।

निगमले सर्वसाधारणलाई नयाँ सिलिन्डर खरिद नगर्न र पुरानो सिलिन्डर दिई ग्यासको मात्रै मूल्य तिर्न पनि सुझाएको छ।

"आपूर्तिमा कुनै पनि किसिमको समस्या छैन। हामीले सामान्यतया आयात गर्नेभन्दा बढी परिमाण आयात गर्न सुरु गरिसकेका छौँ। ग्यास जगेडा राख्न आवश्यक छैन," निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने।

ग्यास
तस्बिरको क्याप्शन, फाइल तस्बिर

यसअघि गृह मन्त्रालयले पछिल्लो परिस्थितिका कारण व्यापारीहरूले उपभोग्य सामानको कालोबजारी गरेको थाहा पाए खबर गर्न अपील गरेको थियो।

अनावश्यक हल्लाको पछाडि लागेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न पनि मन्त्रालयले सर्वसाधारणलाई अनुरोध गरेको छ।

निगमका अनुसार नेपालमा हाल प्रतिमहिना करिब ३८,००० मेट्रिक टन एलपी ग्यास खपत हुन्छ।

कुल खपतको करिब ५० प्रतिशत सङ्घीय राजधानी काठमाण्डूमा नै हुने निगमको भनाइ छ।

बढ्दो मागलाई ध्यानमा राखी यो महिनादेखि आफूहरूले ४५,००० मेट्रिक टनका दरले आपूर्ति हुने व्यवस्था मिलाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार नेपालमा ५७ वटा ग्यास उद्योग छन्।

Presentational grey line
Presentational grey line

इन्धनमा नेपाल पूर्ण रूपमा भारतमा निर्भर भएकाले सबै उद्योगले भारतबाट ग्यास आयात गर्ने र 'बोटल' गरेर बजारमा पुर्‍याउने गर्छन्।

सबै उद्योगको क्षमता जोड्दा नेपालमा एक पटकमा ६ हजार मेट्रिक टन सम्म ग्यास भण्डारण गर्न सकिने अवस्था रहेको गोइतले बताए।

"जाडो याम सकिँदै गएसँगै बजारमा ग्यास खपत घट्दै जाने बेला भइसकेकाले पनि उपभोक्ताहरू आत्तिनुपर्ने अवस्था छैन," उनले भने।

"सरकारी स्तरबाट हामीले गर्ने भनेको पाँच बुलेट आपूर्ति भइरहेको अवस्थामा आठ बुलेट आपूर्ति गर्ने हो, जुन भइराखेको छ।"

ग्यास
तस्बिरको क्याप्शन, फाइल तस्बिर

सन् २०१५ मा भूकम्प र त्यसको करिब छ महिनामै भारतले नेपालमा आर्थिक नाकाबन्दी गरेपछि बजारमा इन्धनको चरम अभाव देखिएको थियो।

अभावका कारण अस्वाभाविक रूपमा मूल्य वृद्धि समेत भएको र त्यसैको झस्कोका कारण सर्वसाधारण अत्तालिएर बजार अस्थिर हुन सक्ने परिस्थिति सिर्जना भएको निगमका अधिकारीहरू स्वीकार्छन्।

"तर अहिले त्यस्तो परिस्थिति छैन। सर्वसाधारणले नै महिना वा डेढ महिनाका लागि जगेडा गर्न खोजेको र आवश्यकताभन्दा बढी खाली सिलिन्डर भर्न खोजेका कारण बजारमा हल्लाखल्ला चलेको हो," गोइतले भने।

हल्लाकै भरमा ग्यास खरिद गर्नुभन्दा कसैले काला बजारी गरेको थाहा पाए निगम लगायतका सरकारी नियकायलाई तत्काल जानकारी गराउन पनि उनले आग्रह गरे।