एशिया इस्टर्न रीजन टी२० क्रिकेट: मलेशियाद्वारा नेपाल पराजित

तस्बिर स्रोत, Courtesy: CAN
एशिया इस्टर्न रीजन ट्वेन्टी२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मलेशियाले नेपाललाई २२ रनले पराजित गरेको छ।
जित्नको लागि १५५ रनको लक्ष्य पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाइ १३२ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीले समान ३८ रन एवम् पवन सर्राफले १९ रन बनाए।
अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
मलेशियाका लागि सबैभन्दा सफल बलर सर्भिन मुनियान्डी रहे जसले १३ रन खर्चेर ४ विकेट लिए।
यसअघि थाइल्यान्डमा भइरहेको खेलमा मलेशियाले नेपालविरुद्ध २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।
नेपालका लागि स्पीनर सन्दीप लामिछानेले तीन, अविनाश बोहराले दुई र करण केसीले एक विकेट लिए।
मलेशियाका तर्फबाट सैयद मुबारकले नटआउट ५१, अनवर अरुदीनले ३१, मोहम्मद फैज नूरले ३० रन र अमिनुद्दिन रामलीले २९ रन बनाए।
नेपालले अब आइतवार हङ्कङसँग खेल्नेछ।

तस्बिर स्रोत, Courtesy: CAN
एशिया कपको छनौट प्रतियोगिता
प्रतियोगितामा थाइल्यान्ड, सिङ्गापुर र हङ्कङ समावेश छन्।
सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछ।
मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनौट हुनेछ।
एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन्।























