अमेरिकी राज्य यूटाको सिनेट बहुविवाहलाई अपराध नमान्ने पक्षमा

युटाह

तस्बिर स्रोत, Getty Images

Published

संयुक्त राज्य अमेरिकाको यूटा राज्यको सिनेटले वयस्कहरूको आपसी सहमतिमा गरिने बहुविवाहलाई अपराध ठहर नगर्ने पक्षमा सर्वसम्मतिले मत दिएको छ।

विद्यमान कानुनअनुसार एक जनाभन्दा धेरैसँग विवाह गरेको पाइएमा पाँच वर्षसम्म जेल सजाय हुन्छ।

उक्त नयाँ कानुनका पक्षधरहरूले यसले बहुविवाह अभ्यास गर्ने समुदायहरूसँग सम्बन्धित गोप्यता हटाइदिने र कोही पीडित भए त्यसको उजुरी गर्न सहयोग पुग्ने बताउने गरेका छन्।

तर आलोचकहरूले चाहिँ यसले पीडकहरूलाई झन् बल पुग्ने भनेका छन्।

के छ प्रस्तावित कानुनमा?

सिनेटले पारित गरेको उक्त विधेयकलाई अब उक्त राज्यको तल्लो सदन प्रतिनिधिसभाले पनि पारित गर्नुपर्छ।

प्रस्तावित कानुनअनुसार एक जनाभन्दा बढी पति वा पत्नी भएको खण्डमा त्यसलाई सडकनियम उल्लङ्घन गरे सरह न्यून स्तरको अपराध मानिनेछ।

चर्च अफ जीजस क्राइस्ट अफ ल्याटर डे सेन्ट्स

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सोल्ट लेकस्थित चर्च अफ जीजस क्राइस्ट अफ ल्याटर डे सेन्ट्स

तर बलपूर्वक गरिएका बहुविवाहलाई भने अपराध मानिनेछ।

समाचारसंस्था एपीका अनुसार यूटा राज्यमा झन्डै ३०,००० मानिसहरू बहुविवाह मान्ने समुदायका छन्।

मोर्मोन चर्च भनिने चर्च अफ जीजस क्राइस्ट अफ ल्याटर डे सेन्ट्स पनि यूटामै अवस्थित छ।

उक्त चर्चले विगतमा बहुविवाहलाई मान्यता दिने गर्थ्यो, तर सन् १८९० मा आएर उसले त्यसलाई प्रतिबन्धित गर्‍यो।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

अचेल बहुविवाह गरेकालाई उसले आफ्नो समुदायबाट बहिष्कार गर्छ। तर अझै पनि कट्टर मोर्मोन समुदायले उक्त अभ्यास जारी राखेको छ।

यूटाको संविधानले बहुविवाहलाई अवैध मानेको भए पनि अधिकारीहरूले त्यस्तो अभ्यास गर्ने मानिसविरुद्ध कानुनी कारबाही गर्दैनन्।

सन् २००१ मा टम ग्रीन नामक व्यक्ति ५० वर्षयता बहुविवाहका कारण दोषी ठहर भएका पहिलो पुरुष थिए। उनका पाँच पत्नी थिए।

उनकी एक पत्नी १३ वर्षकै उमेरमा गर्भवती भएको पाइएपछि उनलाई बालिका बलात्कारको मुद्दामा पनि सजाय दिइएको थियो।