कृष्णबहादुर महरा: अदालतको फैसला संसद्‍मा बुझाएपछि सांसदको रूपमा काम गर्न पाउने

महरा मुक्त

तस्बिर स्रोत, Courtesy: Nabin Thapa

Published

जबरजस्ती करणीको उद्योग गरेको अभियोग लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमवार काठमाण्डू जिल्ला अदालतले अभियोगमा मागदाबी नपुगेको भन्दै निर्दोष ठहर गरेको छ।

सोमवार नै अदालतको आदेश आएपछि महरा डिल्लीबजार कारागारबाट रिहा भएको कारागारका प्रमुख अरुण पोख्रेलले बताए।

फौजदारी मुद्दामा अभियोगपत्र दायर भएपछि सांसदको हैसियतमा कामकाज गर्न र सेवासुविधा लिन महरा वञ्चित थिए।

रिहाईपछि एउटा विज्ञप्ति जारी गर्दै पूर्व सभामुख महराले आफूले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी 'तथाकथित' आरोप खेपेको उल्लेख गर्दै आफूलाई सद्भाव र सहानुभूति व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्, "एक देशभक्त नेपालीका रूपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैँ थियो, अहिले पनि छ र सदैव रहिरहनेछ। नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखी नै गौरवपूर्ण रहेको छ र सधैँ रहिरहनेछ।"

सय दिनभन्दा बढी कारागारमा बसेर छुटेका महराले अब कहिले सांसदको रूपमा कामकाज गर्न पाउँछन् त?

संसद् नियमावलीको नियम २४४ बमोजिम सांसद थुनुवा रहेको अवधिभर उक्त व्यवस्था लागु हुने उल्लेख गरिएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने, "निर्दोष सावित गरेको अदालतको फैसलाको प्रतिलिपि ल्याएको दिनदेखि उहाँले सांसद पदमा रहेर आफ्ना कामकाज गर्न पाउनु हुनेछ।"

अदालतले दोषी ठहर गरेको भएमात्रै सांसद पद स्वत: निलम्बन भएको मानिने नियमावलीको व्यवस्था छ।

महरा मुक्त

तस्बिर स्रोत, Courtesy: Navin Thapa

महराले राजीनामा दिएपछि सभामुख पदमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।

पुनरावेदनको सम्भावना

महरालाई जिल्ला अदालतले निर्दोष साबित गरे पनि सरकारवादी उक्त मुद्दामा पुनरावेदनको बाटो भने खुल्ला नै छ।

फैसलाको विपक्षमा पुनरावेदन जाने कि नजाने भन्ने विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले कुनै निर्णय गरेको छैन।

सरकारी वकिलको कार्यालयका सूचना अधिकारी नुमराज खनालले भने, "फैसलाको पूर्णपाठ आएपछि त्यसको अध्ययन गर्छौँ र पुनरावेदनमा जाने कि नजाने भन्ने विषयमा निर्णय लिने छौँ।"

खुसीयाली

सुरुदेखि नै आफू निर्दोष भएको दाबी गर्दै आएका महराले फैसलाका बारेमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

कारागार

तस्बिर स्रोत, RSS

महराको फैसलालगतै डिल्लीबजार कारागारमा उनका समर्थकहरूको भिड लागेको थियो।

बधाई दिन जानेहरूको समूहमा अधिकांश पूर्वमाओवादी कार्यकर्ता छन्।

सामाजिक सञ्जालमा समर्थकहरूले महराको फैसलालाई 'सत्यको जित'को रूपमा व्याख्या गरिरहेका छन्।

तर फैसलाको विरोध गर्नेहरूले विभिन्न व्यंग्यात्मक र आलोचनात्मक टिप्पणीहरू गरिरहेका छन्।