दामनको रिजोर्टमा बेहोस फेला परेका आठ भारतीयको मृत्यु

Published

मकवानपुरको दामनस्थित एभरेस्ट पानोरामा रिजोर्टमा मङ्गलवार बिहान अचेत अवस्थामा फेला पारिएका आठजना भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ।

हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएका आठै जनालाई चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बीबीसी न्यूज नेपालीलाई बताए।

मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठोरका अनुसार मृत्यु हुनेमध्ये १० वर्षमुनिका बालबालिका पनि छन्।

मृत्यु हुनेमध्ये दुई पुरुष, दुई महिला, दुई बालक र दुई बालिका रहेको महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्सालले बताए।

मृतकहरूको पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारणबारे भन्न सकिने अधिकारीहरूले बताएका छन्।

मृतक सबै भारतको केरलाको भएको अधिकारीहरूले बताएका छन्।

बेहोस अवस्थामा फेला

प्रमुख जिल्ला अधिकारी भट्टले भने: "प्रारम्भिक जानकारी अनुसार सोमवार बेलुका १५ जना भारतीय नागरिक दामनस्थित एभरेस्ट पानोरामा रिजोर्टमा आएर बसे।"

"ती सबैजना एक समूहमै आएका थिए। उनीहरूमध्ये आठजना चाहिँ एउटै कोठामा बसे। राति हिटर बालेर उनीहरू सुते।"

"होटलका कर्मचारीले बिहान सबै जनालाई बेहोस अवस्थामा फेला पारे। होटलले बिहान सवा ७ बजेतिर प्रहरीलाई खबर गर्‍यो।"

"त्यसपछि हेलिकप्टर मगाएर सबै जनालाई काठमाण्डूको ह्याम्स अस्पताल पुर्‍याइयो। अस्पतालले आठै जनाको मृत्यु भएको भनेर घोषणा गर्‍यो।"

'सबैजना केरलाका'

प्रहरी उपरीक्षक सुशील सिंह राठोरले भने: "हामीलाई जानकारी भए अनुसार राति नौ बजेतिर उहाँहरू आउनुभयो।"

"पन्ध्र जनामध्ये बच्चासहित आठजना एउटै कोठमा बस्नुभयो। उहाँहरू ग्यास हिटर बालेर सुत्नुभयो।"

"त्यसपछि उहाँहरू बिहान उठ्नुभएन। किन उठ्नुभएन भनेर होटलका कर्मचारीले हेर्दा बेहोस अवस्थामा उहाँहरू फेला पर्नुभयो।"

"हेलिकप्टरमार्फत्‌ ह्याम्स अस्पताल पुर्‍याएपछि चिकित्सकहरूले मृत घोषणा गर्‍यो।"