इरान विमान दुर्घटना: खामेनेईले गरे सेनाको बचाउ

तस्बिर स्रोत, EPA
इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेईले भुलवश एउटा यात्रुवाहक विमानलाई आक्रमण गरी खसालिदिएको भनी स्वीकारेको देशको सशस्त्र सैन्यको बचाउ गरेका छन्।
विरलै गरिने एक भाषणमा उनले भने, इरानको रिभोलुशनरी गार्ड- उक्त विनाशकारी हमलाका लागि जिम्मेवार विशेष सैन्य एकाइ- ले इरानको "सुरक्षा व्यवस्थालाई कायम राखेका छन्।"
उक्त घटनालाई लिएर भइरहेका व्यापक विरोध प्रदर्शन र विदेशबाट भइरहेको आलोचनाले इरानमाथि दबाव बढिरहेको छ।
तर खामेनेईले सन् २०१२ पछि पहिलो पटक तेहरानमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्दै समर्थन हासिल गर्ने प्रयास गरे।
युक्रेन इन्टरन्याशनल एअरलाइन्सको उक्त बोइङ ७३७-८०० विमान ८ जनवरीका दिन तेहरानबाट किएभ तर्फको उडानमा रहेका बेला उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको थियो।
त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो, जसमा इरान, क्यानडा, स्वीडेन र युकेका नागरिकहरू थिए।
आयातोल्लाहले "राष्ट्रिय एकता" का लागि आह्वान गरे। उनले इरानका "दुश्मनहरू" भनी वाशिङटन र उसका साझेदारहरूतर्फ सङ्केत गर्दै विमानमा भएको हमलाको घटनालाई उचालेर अमेरिकी ड्रोन हमलामा वरिष्ठ इरानी जेनरल कासिम सुलेमानी मारिएको घटनालाई ओझेलमा पार्न खोजेको बताए।
खामेनेईले अरू के भने?
असी वर्षीय खामेनेईले राजधानी तेहरानस्थित मोसल्ला मस्जिदबाट देशलाई सम्बोधन गरेका थिए।
उनले पछिल्लो पटक सन् २०१२ मा देशमा इस्लामिक क्रान्ति भएको ३३ औँ वर्षगाँठ मनाउने सन्दर्भमा यसैगरी सम्बोधन गरेका थिए।

तस्बिर स्रोत, AFP
राजधानीमा शुक्रवारका प्रार्थनाहरूको नेतृत्व गर्नुको साङ्केतिक रूपमा ठूलो महत्त्व छ।
वाशिङटन इन्स्टिट्युट फर नीअरइस्ट पोलिसी नामक संस्थाका मेहदी खलाजी भन्छन्, यो यस्तो समारोह हो जुन इरानको सर्वोच्च निकायले निकै महत्त्वपूर्ण सन्देश प्रवाह गर्ने बेलाका लागि मात्रै आयोजना गर्ने गर्छन्।
विगतमा इरानी नेताहरूले यस्तो अवसरको जिम्मा वाक्पटुतामा निपुण आफूप्रति वफादार धर्मगुरुलाई दिने गर्दथे।
सेनाको बचाउ गर्नुका साथै खामेनेईले:
• अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको "दुष्ट" प्रशासनको आलोचना गरे।
• इरानी जनताप्रति समर्थन व्यक्त गर्दा वाशिङटनले "झूटो" बोलेको आरोप लगाए र भने अमेरिकाले "तिनीहरूलाई विषालु छुरी धस्नेछ।"
• इराकमा गरिएका इरानी क्षेप्यास्त्र हमला अमेरिकाको अनुहारमा "थप्पड" हो।
• इरानको विशेष सैन्य कुड्स फोर्स, जसलाई अमेरिकाले आतङ्कवादी सङ्गठन भनेको छ- "मानवीय मूल्य-मान्यता भएको मानवतावादी सङ्गठन" रहेको बताए।
• सुलेमानीको अन्तिम संस्कार र इरानी सेनाको प्रतिक्रियालाई "इतिहासको एउटा मोड" भने।




















