अमेरिका-इरान तनाव: युद्धसम्बन्धी निर्णय लिने डोनल्ड ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्बाट स्वीकृत

तस्बिर स्रोत, Getty Images
अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग भएको इरानसित युद्ध सुरु गर्ने अधिकार सीमित पारिदिने एउटा प्रतीकात्मक प्रस्ताव स्वीकृत गरेको छ।
डेमक्र्याटिक पार्टीको बहुमत भएको संसद्मा उक्त प्रस्ताव २२४-१९४ मतले पारित भयो। रिपब्लिकन पार्टीको बहुमत भएको माथिल्लो सदनमा मतदान हुन बाँकी नै छ।
उक्त प्रस्तावका अनुसार अमेरिकाविरुद्ध आक्रमण भएको खण्डमा बाहेक इरानसित हुने सबै द्वन्द्वबारे निर्णय गर्दा कङ्ग्रेसको अनुमोदन आवश्यक हुनेछ।
तर अहिले न त अमेरिकाले न त इरानले नै थप सैन्य कारबाहीको योजना घोषणा गरेका छन्।
गत हप्ता अमेरिकाले बग्दादमा ड्रोन आक्रमण गरेर एक वरिष्ठ इरानी सैन्य नेतालाई मारिदिएपछि केही दिनअघि इरानले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको थियो। तर इरानी आक्रमणमा कोही हताहत भएनन्।
बिहीवार तल्लो सदनले गरेको निर्णयले कङ्ग्रेसले स्वीकृति नदिएसम्म राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध अमेरिकी सेना प्रयोग नगर्न निर्देशन दिएको छ।
तर अमेरिकाविरुद्ध "आसन्न सशस्त्र आक्रमणको प्रतिकार" गर्न छुट दिइएको छ।
दुवै सदनमा प्रस्तुत यो प्रस्तावमा राष्ट्रपतिको हस्ताक्षर चाहिँदैन र कङ्ग्रेसबाट पारित भए पनि उक्त प्रस्तावविरुद्ध ट्रम्पले राष्ट्रपतीय विशेषाधिकार प्रयोग गर्नेछैनन्।

तस्बिर स्रोत, AFP
प्रस्तावमा सन् १९३७ मा जारी युद्धसम्बन्धी कानुन उद्धृत गरिएको छ।
त्यो कानुनले सशस्त्र द्वन्द्वमा राष्ट्रपतिको युद्धाधिकार नियन्त्रण गर्न कङ्ग्रेसलाई अधिकार दिएको थियो।
तर यस्तो प्रस्तावले राष्ट्रपतिलाई कज्याउन सक्छ कि सक्दैन भन्ने विषयमा कानुनी प्रश्नहरू अनुत्तरित छन्।
ट्रम्पको नयाँ दाबी
बिहीवार तल्लो सदनकी सभामुख तथा विपक्षी नेत्री न्यान्सी पेलोसीले आफूलाई ट्रम्पले गत हप्ता इरानी सैन्य नेता कासिम सुलेमानीको ज्यान जानेगरी ड्रोन आक्रमण गराएर राष्ट्रपतिले ट्रम्पले अमेरिकालाई सुरक्षित बनाएको भनेर विश्वास नलागेको बताएकी थिइन्।
ट्रम्पको दल रिपब्लिकन पार्टीका नेता केभिन मकार्थीले उक्त प्रस्तावलाई "अर्थहीन" भनेका छन्।

तस्बिर स्रोत, Getty Images
एउटा ट्वीटमा ट्रम्पले "सबै रिपब्लिकनहरूले युद्धाधिकारसम्बन्धी बहुलट्ठी न्यान्सी पेलोसीको प्रस्तावविरुद्ध" मतदान गर्ने आफ्नो अपेक्षा भएको लेखेका थिए।
ह्वाइट हाउसमा संवाददाताहरूसँग बोल्दै ट्रम्पले गुप्तचरी सूचना प्राप्त भएकाले सुलेमानीमाथि हवाई आक्रमण गरिएको नयाँ दाबी गरेका छन्।
उनका अनुसार इरानी पक्षले इराकस्थित अमेरिकी दूतावासमा विस्फोटन गराउन खोजेको सूचना प्राप्त भएको थियो।
बुधवार कङ्ग्रेसमा भएको ब्रीफिङमा ट्रम्प प्रशासनले उक्त आक्रमणलाई न्यायोचित ठहर्याउन खोजेपछि युद्धाधिकार प्रस्तावले गति लिएको थियो।
रिपब्लिकन सांसद नै असन्तुष्ट
विदेशमन्त्री, रक्षामन्त्री र सीआईएका निर्देशकले कङ्ग्रेसलाई आक्रमणका विषयमा जानकारी दिएपछि दुई रिपब्लिकन सिनेटरले असहमति व्यक्त गरेका थिए।
यूटाका सांसद माइक ली र केन्टकीका र्यान्ड पोलले राष्ट्रपतिको युद्धाधिकार सीमित पार्ने प्रस्तावलाई आफूले समर्थन गर्न सक्ने बताए।

तस्बिर स्रोत, Getty Images
सिनेटमा ५३ सांसद भएको रिपब्लिकन पार्टीको बहुमत छ। त्यहाँ डेमक्र्याटिक पार्टीका ४७ सांसद छन्।
संवाददाताहरूसँग कुरा गर्दै लीले उक्त ब्रीफिङ आफूले नौ वर्ष संसद्मा काम गर्दा देखेको सैन्य मामिलामा गरिएको "सबैभन्दा नराम्रो" भएको टिप्पणी गरे।
अधिकारीहरूले इरानमा आक्रमण गर्न पाउने राष्ट्रपतिको अधिकारमा कुनै छलफल नगर्न आफूहरूलाई भनेको उनले बताए। उनले उनीहरूको शैलीलाई "गैरअमेरिकी" र "विक्षिप्त" को सङ्ज्ञा दिए।
तर अधिकांश रिपब्लिकन सांसदहरूले राष्ट्रपतिलाई समर्थन गरेका छन्।
जोर्जाका सांसद डग कोलिन्जले डेमक्र्याटहरू "आतङ्ककारीहरूसँग प्रेममा परेको" तथा सुलेमानीले मारेका अमेरिकी सुरक्षाकर्मीप्रति भन्दा सुलेमानीको मृत्युमा शोकाकुल भएको टिप्पणी गरे।





















