चन्द्रयान-३: चन्द्रमामा पुग्ने भारतको तेस्रो योजना सार्वजनिक

तस्बिर स्रोत, EPA
विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ।
भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के. शिवनले मानवरहित चन्द्रयान-३ मिसनसम्बन्धी कार्य "सहज रूपमा" अघि बढिरहेको बताएका छन्।
उनका अनुसार उक्त मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म "पुग्न सक्ने" सम्भावना छ।
योजना सफल भए भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र हुनेछ जसले कम लगानीसहितको अन्तरिक्ष शक्तिका रूपमा उसको साख बढाउनेछ।
चन्द्रमाको सतहमा हालसम्म रुस, अमेरिका र चीन मात्रै सफल मिसन कार्यान्वयन गर्न सफल भएका छन्।
यसअघि सन २००८ मा भारतले चन्द्रयान-१ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुक्खा सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।

तस्बिर स्रोत, ISRO
यसै वर्ष प्रक्षेपण गरिएको चन्द्रयान-२ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए।
चन्द्रयान-२ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिसन पठाउने योजनामा काम गरिरहेको छ।
भारतको योजना के छ?
इसरोका अध्यक्ष शिवनका अनुसार चन्द्रयान-३ मा यसअघिको मिसनकै जस्तै "कन्फ्युगरेसन" हुनेछ। चन्द्रयान-२ भारतको अन्तरिक्ष निकायले प्रयास गरेको हालसम्मकै कठिन मिसन थियो।
यसले चन्द्रमामा पानी र खनिज पदार्थको खोजीका साथै त्यहाँको भूकम्प मापन गर्ने लक्ष्यका साथ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने लक्ष्य लिएको थियो जहाँ हालसम्म कुनै पनि यान पुग्न सफल भएको छैन।
तर गत सेप्टेम्बरमा चन्द्रमाको सतहमा ठोक्किएर उक्त यानले अवतरण गरेपछि त्यो महत्त्वाकाङ्क्षी मिसन सफल हुन सकेन।
शिवनका अनुसार नयाँ मिसनमा पनि पुरानै क्षेत्रमा अवतरण गरिने योजना बनाइनेछ र पुरानो मिसनमा जस्तै उपकरणहरूको प्रयोग गरिनेछ।

तस्बिर स्रोत, PTI
नयाँ उपकरणहरूको मूल्य करिब ३५ मिलियन अमेरिकी डलर पर्ने बताइएको छ। मिसनको पूर्ण लागत भने निकै बढी हुने अपेक्षा गरिएको छ।
शिवनका अनुसार सन् २०२० मा भारतले कम्तीमा २५ वटा मिसन प्रक्षेपण गर्ने योजना बनाएको छ। उनले इसरोले मानवसहित अन्तरिक्षको कक्षमा पुग्ने योजनामा पनि "राम्रो प्रगति" भइरहेको बताएका छन्।
त्यसका लागि चारजना अन्तरिक्षयात्री तय गरिएका छन्। यसै महिनाको अन्त्यतिर उनीहरूले रुसमा तालिम लिन शुरू गर्ने बताइएको छ।
सन् २०२२ मा हुने भनिएको त्यो मिसनमा तीनजना अन्तरिक्षयात्रीले सहभागिता जनाउन सक्ने सम्भावना छ।




















