ब्रिटेन निर्वाचन: जितपछि प्रधानमन्त्री बोरिस जोनसनले भने 'अब निकोहुने क्रम सुरु होस्'

Published

आम निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गरेपछि प्रधानमन्त्री बोरिस जोनसनले अब छिट्टै ब्रेक्जिट बहसको "अन्त्य" हुने आशा व्यक्त गरेका छन्।

उनको कार्यालय र निवास रहेको डाउनिङ स्ट्रीटमा बोल्दै उनले कन्जर्भेटिभहरूलाई मतदान गरेका लेबर समर्थकहरूले उनीमाथि प्रदर्शन गरेको समर्थनको ऋण तिर्ने बताए।

उनले यूरोपसँग "बराबर सार्वभौम"का आधारमा सहकार्य विकास गर्ने र ब्रेक्जिटको विरोध गर्नेहरूलाई नजरअन्दाज नगर्ने बताएका छन्।

कन्जर्भेटिभहरूले हाउस अफ कमन्समा सन् १९८७ यताकै सबभन्दा ठूलो बहुमत प्राप्त गरेपछि जोनसनले त्यस्तो अभिव्यक्ति दिएका हुन्।

"त्यसको अर्थ ब्रिटेन यो महिनाको अन्त्यसम्ममा ब्रेक्जिटबाट बाहिरिनेछ," बीबीसीकी राजनीतिक मामिला सम्पादक लउरा क्यून्सबर्ग भन्छिन् - "जोन्सनको 'राम्रो' बहुमतले 'केही हप्ताभित्रै' ब्रेक्जिटबाट बाहिरिनका लागि आवश्यक कानून संसदबाट पाउन बाटो खुला हुनेछ।"

मत परिणाम

कन्जर्भेटिभहरूले संसद्‍मा ३६५ सिट हात पारेका छन्। लेबरले २०३ हात पारेको छ। एसएनपीले ४८ सिट जितेको छ भने लिबडेमहरूले ११ तथा डीयूपीले आठ सिट पाएका छन्।

त्यसैगरी सीन फेनसँग सात, प्लेइड सीम्रु चार, नर्दर्न आयरल्यान्डको एसडीएलपीले दुई तथा द ग्रीन पार्टी र एनईको अलायन्स पार्टीले एक एक जितेका छन्।

यूरोपेली संसदको पार्टीको चुनावमा विजयी ब्रेक्जिट पार्टीले वेष्टमिन्स्टरमा एक सीट पनि प्राप्त गर्न सकेन।

कन्जर्भेटिभहरूले लेबरको परम्परागत रूपमा बलियो ठाउँहरू मध्यतिर इङ्गल्यान्डको उत्तरतिर तथा वेल्समा विजय प्राप्त गर्न सफल भएको थियो।

मतदान प्रतिशत ६७.३% थियो जुन २०१७ को तुलनामा १.५%ले कम हो।

आफ्नो निवास बाहिर जिन्दगीभर लेबर समर्थक रहेका तर जेरेमी कोर्बिनको पार्टी छोडेर कन्जर्भेटिभलाई मत हालेकाहरूलाई जोनसनले ज्यानुअरी ३१ मा यूकेलाई ईयूबाट बाहिर्‍याउने उनको प्रतिबद्धता पूरा गर्ने बताए।

"हामीमाथि तपाईँहरूले दिएको विश्वासका लागि धन्यवाद दिन चाहन्छु र हर क्षण काम गरेर तपाईँहरूको विश्वासको ऋण तिर्नेछु।"

जोन्सनले त्यसअघि महारानीको सरकार बनाउन गरिएको आमन्त्रण स्विकारेका थिए र कन्जर्भेटिभलाई मत दान नगरेका र अझ पनि इयूमा रहन चाहनेहरूलाई पनि धन्यवाद दिएका थिए।

उनले भने, "कन्जर्भेटिस सरकारले यूरोपका अरू राष्ट्रप्रति तपाईँहरूका सकारात्मक असल र न्यानो धारणाप्रति नजरअन्दाज गर्नेछैन।"