तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१३ औँ दक्षिण एशियाली खेलकुद: नेपाललाई महिला क्रिकेटमा कांस्य
नेपालले महिला क्रिकेटमा माल्दिभ्सलाई जम्मा ८ रनमा अलआउट गर्दै १.१ ओभरमा विजय प्राप्त गरेको छ।
माल्दिभ्सले ११.३ ओभरमा ८ रन बनाएको थियो भने नेपालले कुनै विकेट नगुमाई सात बलमा जित हासिल गरेर कांस्य पदक प्राप्त गर्यो।
खेलमा उत्कृष्ट खेलाडी चार ओभरमा एक रन दिएर चारै विकेट लिएकी अञ्जली चन्द भइन्।
उनले लिग चरणको खेलमा माल्दिभ्सविरुद्ध कुनै रन नदिई छ विकेट लिएर विश्व कीर्तिमान कायम गरेकी थिइन्।
माल्दिभ्सको ब्याटबाट एक रन
टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सले जम्मा एक रन मात्रै ब्याटबाट बनाएको हो।
अन्य सात रन वाइडका रूपमा प्राप्त गरेको हो।
माल्दिभ्सका ओपनर आइमा आइसाथले एक रन बनाएकी थिइन् भने बाँकी दश खेलाडीले कुनै रन बनाउन सकेनन्।
नेपालका लागि चन्दले चार र सीता रानामगर एवम् रुबिना क्षेत्रीले दुई-दुई विकेट प्राप्त गरे।
पुरुष क्रिकेटमा स्वर्णको आशा समाप्त
बाङ्ग्लादेशले १३ औँ दक्षिण एशियाली खेलकुद सागको क्रिकेटमा नेपालालाई ४४ रनले हराएको छ।
यो नतिजासँगै बाङ्ग्लादेश र श्रीलङ्काले स्वर्ण पदकका लागि फाइनल खेल्ने निश्चित भएको छ।
टस हारेर ब्याटिङ गरेको बाङ्ग्लादेशले कप्तान नजमुल हुसैन शान्तो र अफिफ हुसैनको अर्धशतकको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले धैर्यपूर्वक ब्याटिङ गर्दै ४३ रन बनाए पनि नेपाल २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटिएको छ।
सागमा बाङ्ग्लादेश र श्रीलङ्काका २३ वर्षभन्दा मुनिका खेलाडी सम्मिलित टोलीले भाग लिइरहेका छन्।
कमजोर ब्याटिङ
ओपनर पारस खड्का ९ रनमै आउट भएपछि नेपालको थप दुई विकेट लगालग खसेको थियो।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन बनाउने क्रममा मल्लसँग ३२ रनको साझेदारी गरे।
मल्लले ४३ बलमा एक चौका र एक छक्काको सहायताले ४३ रन बनाए। उनी आउट हुने नवौँ खेलाडी थिए।
अविनाश बोहराले नटआउट १३ रन बनाए।
तर अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् र नेपाल सहजै पराजित भयो।
बाङ्ग्लादेशका सुमोन खान, तनविर इस्लाम, सौम्य सरकार र महेदी हसनले दुई-दुई विकेट लिए।
पारस खड्काको शानदार बलिङ
नेपालका पूर्व कप्तान पारस खड्काले सानदार बलिङ गर्दै पहिलो चार ओभर भित्र तीन विकेट लिएपछि बाङ्ग्लादेश दबाबमा आएको थियो।
शान्तोले नटआउट ७५ रन बनाए भने हुसैनले २८ बलमा ५२ रन बनाए।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा दुई विकेट लिए।