तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
१३ औँ दक्षिण एशियाली खेलकुद: क्रिकेटमा माल्दिभ्सलाई हराएपछि नेपालको फाइनल पुग्ने आशा कायम
नेपालले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा माल्दिभ्सलाई ८४ रनले हराउँदै स्वर्ण पदकको आशा कायम राखेको छ।
काठमाण्डूको कीर्तिपुर मैदानमा १३औँ दक्षिण एशियाली खेलकुद साग अन्तर्गतको क्रिकेटमा माल्दिभ्समाथि सहज विजय प्राप्त गरेको हो।
नेपालले २० ओभरमा सात विकेटको क्षतिमा बनाएको १६३ रनको जवाफमा माल्दिभ्सले छ विकेट गुमाएर ७९ रन मात्रै बनाउन सक्यो।
शनिवार हुने खेलमा बाङ्ग्लादेशलाई पराजित गरे नेपालको फाइनलमा पुग्ने सम्भावना जीवित रहनेछ।
माल्दिभ्सको कमजोर खेल
ठूलो लक्ष्य लिएर मैदानमा उत्रेको माल्दिभ्स ब्याटिङमा निकै कमजोर देखिएको थियो।
सुरुदेखि नै रन बनाउन सङ्घर्ष गरेको माल्दिभ्सको १० ओभर सकिँदा दुई विकेटमा ३३ रन थियो।
उसका लागि सबैभन्दा धेरै रन मोहम्मद आजमले बनाएका थिए। उनले १६ रन बनाए।
नेपालका लागि ललितनारायण राजवंशी र सुसन भारीले दुई-दुई एवम् पवन सर्राफले एक विकेट लिए।
करणको आक्रामक खेल
अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ गरेपछि नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य दिएको थियो।
करण केसीले दुई चौका र चार छक्काको सहायताले १६ बलमा नटआउट ४० रन बनाउँदा नेपालले अन्तिम पाँच ओभरमा ५८ रन प्राप्त गरेको थियो।
केसीपछि सबैभन्दा धेरै रन उपकप्तान दीपेन्द्रसिंह ऐरीले बनाए।
ऐरीले ३९ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९-१९ रन बनाए।
आरिफ शेखले १७ र पूर्वकप्तान पारस खड्काले ११ रन बनाए।
माल्दिभ्सका लीम सफिग तीन विकेट लिएर सबैभन्दा सफल बलर बने भने अमील मौरुफले दुई विकेट लिए।
महिला क्रिकेटमा श्रीलङ्कासँग नेपाल पराजित
श्रीलङ्काको महिला क्रिकेट टोली १३औँ दक्षिण एशियाली खेलकुद सागको महिला क्रिकेटको फाइनलमा पुगेको छ।
शुक्रवार पोखरा रङ्गशालामा भएको खेलमा श्रीलङ्काले नेपाललाई ४१ रनले हराउँदै बाङ्ग्लादेशसँग स्वर्ण पदक खेल्न आफ्नो स्थान सुरक्षित गरेको हो।
श्रीलङ्काले २० ओभरमा सात विकेट गुमाएर ११८ रन बनाएको थियो। नेपालले भने २० ओभरमा नौ विकेट गुमाएर ७७ रन मात्रै बनाउन सक्यो।
अब नेपालले शनिवार कांस्य पदकका लागि माल्दिभ्ससँग खेल्नेछ।
श्रीलङ्काको ब्याटिङ
टस जितेर ब्याटिङ गरेको श्रीलङ्काका लागि लिहिनी अप्सराले ३७ रन र जनादी अनालीले ३५ रन बनाए।
नेपालका लागि सोनु खड्का र सरस्वती चौधरीले दुई-दुई एवम् अञ्जली चन्दले एक-एक विकेट लिए।
दोस्रो ओभरमै दुई विकेट गुमाएपछि नेपालले सम्हालिन सकेन। कप्तान रुबिना क्षेत्रीले १९ रन बनाइन्।
श्रीलङ्काकी सचिनी निशानसालाले तीन र सत्थ्या सन्दीपनीले दुई विकेट लिइन्।
यसअघि नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको थियो भने बाङ्ग्लादेशसँग हारेको थियो।
सागको महिला क्रिकेटको प्रतिस्पर्धामा नेपाल, बाङ्ग्लादेश, श्रीलङ्का र माल्दिभ्सले मात्रै भाग लिएका छन्।
यो पनि हेर्नुहोस्