२७ वर्षीय कोरियाली कलाकार चा इन-हा घरमा मृत फेला परे

तस्बिर स्रोत, Instagram
दक्षिण कोरियाका चर्चित कलाकार चा इन-हा सोलस्थित आफ्नै घरमा मृत फेला परेका छन्।
सत्ताइस वर्षीय कलाकार चाको प्रतिनिधित्व गर्ने संस्थाले एउटा विज्ञप्तिमा आफू उनको मृत्युबाट शोकाकुल भएको उल्लेख गर्दै उनको मृत्युको कारणबारे कुनै अनुमान नगर्न आग्रह गरेको छ।
उनले भर्खरै टेलिभिजन शृङ्खला 'लभ विथ फ्लज'मा अभिनय गर्न थालेका थिए।
दुई महिनाको अवधिमा मृत्यु हुने उनी तेस्रा दक्षिण कोरियाली कलाकार हुन्।
मनोरञ्जनको क्षेत्रमा काम गर्ने फ्यान्टिएगो नामक एजेन्सीले स्थापना गरेको 'सर्प्राइज यू' अभिनय समूहका सदस्य थिए।
सन् २०१७ मा सार्वजनिक भएको 'यू, डीप इन्साइड अफ मी' उनको पहिलो नामक चलचित्र हो।
यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
Instagram पोस्ट समाप्त
फ्यान्टिएगोले चाको मृत्युलाई "अविश्वसनीय" भन्दै परिवारलाई शान्तिपूर्वक उनको बिदाइ गर्न दिन कुनै हल्ला नफैलाउन तथा अनुमान गरिएका विवरण प्रकाशित नगर्न आग्रह गरेको छ।
"उनको परिवारको इच्छानुसार अन्तिम संस्कार निजी रूपमा गरिनेछ," उसले भनेको छ।
बहस
दक्षिण कोरियामा चर्चित कलाकारहरूको मृत्युबारे बारम्बार चर्चा भइराख्छ। त्यहाँ आत्महत्याको दर उच्च छ।
के-पप भनिने कोरियाली पपका चर्चित कलाकार सुल्ली अक्टोबर महिनामा र गू हारा नोभेम्बरमा आफ्नो घरमा मृतावस्थामा भेटिएका थिए। उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो।
उनीहरूको मृत्युपछि कलाकारले प्रशंसक तथा अन्य व्यक्तिबाट दबाव खेप्नुपर्ने तथा अपमानित र निरुत्साहित हुनुपर्ने विषयमा बहस सुरु भएको थियो।
गू हाराको मृत्युपछि लुकाएर राखिने क्यामराबाट नग्न तस्बिर र भिडिओ खिचिने गरेको विषय पनि चर्चामा आयो।
आफ्ना पूर्वप्रेमीले एउटा त्यस्तै भिडिओ सार्वजनिक गरिदिने धम्की दिएको भन्दै गूले गत वर्ष सेप्टेम्बर महिनामा उनीविरुद्ध मुद्दा हालेकी थिइन्।
यो वर्ष अगस्टमा ती व्यक्तिले भौतिक आक्रमण गरेको र धम्क्याएको ठहर गर्दै अदालतले ती व्यक्तिलाइ पछि लागु हुनेगरी जेल सजाय सुनाएको थियो।

यो पनि हेर्नुहोस्





















