तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
काठमाण्डूको टुँडिखेल अतिक्रमण: "अति भयो कति सहने"
थुप्रैतिर र थुप्रै पक्षबाट अतिक्रमणमा परेको काठमाण्डूको टुँडिखेल पहिलाकै स्वरूपमा फर्काउन भन्दै नागरिक अभियानकर्मीहरूले शनिवारदेखि 'अकुपाई टुँडिखेल' अभियान सुरु गरेका छन्।
पहिलो चरणमा शनिवार मानिसहरूले हातेसाङ्लो बनाएर खुलामञ्च घेरेका छन्।
अभियानमा पूर्व प्रधानमन्त्री, पूर्व उपकुलपति, पूर्व मन्त्रीहरू लगायत सर्वसाधारण सहभागी भएका थिए।
"असैह्य अतिक्रमण"
धेरै ठाउँमा खुला स्थानमा अतिक्रमण भएकाले त्यसप्रति सर्वसाधारणलाई सचेत बनाउन र खबरदारी गर्न आफू पनि खुलामञ्च घेर्ने समूहमा सहभागी बनेको रुपा जोशीले बताइन्।
उनले भनिन्: "यो असैह्य भइसक्यो हामीले हाम्रा भावी पुस्ताका लागि खुला स्थान सुनिश्चित गर्न पनि अतिक्रमणको विरोध नगरी नहुने अवस्था आएको छ।"
अकुपाइ टुँडिखेलले आगामी तीन महिनासम्म हरेक शनिवार विभिन्न कार्यक्रम आयोजना गरिने जनाएको छ।
टुँडिखेल इतिहासदेखि नै ठूला दैवि विपत् आउँदा आश्रयस्थलको रूपमा प्रयोग गरिने गरिएको छ।
त्यसलाई काठमाण्डूको स्वच्छ हावाको स्रोत र भूमिगत पानीको पुर्नभरणको स्रोतका रूपमा समेत हेर्ने गरिन्छ।
पछिल्लो समय अस्थायी रूपमा बसपार्क बनाइएको खुलामञ्चको एउटा हिस्सालाई पक्की बनाउन थालेपछि धेरैले असन्तुष्टि पोखेका थिए।
कस्तो अतिक्रमण?
सार्वजनिक जग्गाको सबभन्दा दक्षिणपट्टि भूकम्पपीडितलाई बस्न दिएयता त्यहाँबाट टहरा हटाइए पनि टुक्रा ढुङ्गामाटो र इट्टा थुपारिएको छ।
त्यसपछि बीचमा सैनिक मञ्च छ।
त्यसपछि देशमा प्रजातन्त्र स्थापना क्रममा र विभिन्न राजनीतिक प्रदर्शनका बेला नेताहरूले भाषण गर्ने प्रख्यात खुलामञ्च छ।
तर त्यो भाग अहिले अति अतिक्रमित क्षेत्रमा परेको छ।
खुलामञ्चको पूर्वपट्टि रहेको पुरानो बसपार्क टावर बनाउने नाममा हटाएर ठूलो भूभागमा बसपार्क बनाइएको छ।
लक्ष्य
शनिवारको कार्यक्रममा सबै दलका सचेत नागरिकहरू सहभागी भएकाले यो कुनै पार्टी विशेषको अभियान नभएको अकुपाइ टुँडिखेल अभियानका संयोजक विजय श्रेष्ठले बीबीसीलाई बताए।
उनले भने: "म मछिन्द्रबहालमा जन्मेर टुँडिखेलमा हुर्केको मान्छे, टुँडिखेल वरिपरिका बासिन्दा सबै त्यहाँ हुर्केका हुन्। त्यसमाथि गरिएको अतिक्रमण हेर्न नसकेर असैह्य भएर यो अभियानमा लागेको हुँ।"
अभियानको पहिलो चरणमा "बसपार्कलाई पुरानो बसपार्कमै फर्काउनुपर्ने र क्रमश: पूरै टुँडिखेल सर्वसाधारणलाई फर्काउनुपर्ने" आफूहरूको लक्ष्य रहेको श्रेष्ठ बताए।
कुनैबेला नमूना चौरको रूपमा गनिने टुँडिखेलको बिग्रँदो स्वरूपलाई नेपालमा प्रजातन्त्र स्थापना भएपछि लामो समय प्रजातन्त्रका लागि लडेका नेताहरूको विकास चेत र अव्यवस्थाको प्रतीकको रूपमा कैयौँले अर्थ्याउने गरेका छन्।
सामाजिक सञ्जालमा पनि
टुँडिखेल अतिक्रमणको विरोध भने सामाजिक सञ्जालमा #OccupyTundikhel लेख्दै केही दिनयता नै हुन थालेको हो।
जसमा पुराना तस्बिरहरूसाथ मानिसहरूले त्यससँग जोडिएका आफ्ना पुराना स्मृतिहरू राखिरहेका छन्।
कसैले गुगल म्याप्सको सहयोगले विभिन्न वर्षका अन्तरालमा टुँडिखेलको खुला स्थान कसरी मिचिँदै गयो भन्ने देखाएका छन्।
गायक प्रेमध्वज प्रधानले आफूले सानैमा खेल्ने गरेको स्थान हेर्दाहेर्दै मिचिएको भनेर त्यससँग जोडिएका आफ्ना स्मृति एक सम्झनाहरू साटेका छन्।
कांग्रेस नेता गगन थापाले 'आधुनिक सहर बनाउने नाउमा काठमान्डूसँग जे थियो त्यो हामीले खोस्यौं' भन्दै अभियानको पक्षमा ट्विटरमा बोलेका छन्।
शनिवारको हातेसाङ्ग्लोमा सहभाी नभएकाहरूले पनि अकुपाइ टुँडिखेल ह्यासट्यागसाथ आफ्ना भनाईहरू राखेका छन्।
तिनैमध्येका एक साझा पार्टीका रविन्द्र मिश्रले यस अभियानको पक्षमा एउटा भिडिओ पोस्टमा भनेका छन्:
"काठमाण्डूका मेयरले त्यहाँ रहेका भत्काउन मिलेसम्मका संरचना भत्काउनुहुनेछ… र हेर्दै सौन्दर्यले भरिएको क्षेत्र बनाउनु हुनेछ भन्ने आशा गरेको छु।"
थुप्रैले उक्त खाली ठाउँलाई पुर्खाको नासो, जेष्ठ नागरिकहरू टहलिने ठाउँ र बालबालिकाहरू खेल्ने ठाउँजस्ता बिषयसँग टुँडिखेलको महत्त्वलाई जोडेका छन्।