थाईल्यान्डमा बन्दुकधारीको आक्रमणमा १५ जनाको मृत्यु

Published

दक्षिणी थाईल्यान्डमा सन्दिग्ध पृथक्तावादीहरूको आक्रमणमा कम्तीमा १५ जना मृत्यु भएको छ।

हालैका वर्षहरूमा भएकामध्ये सबैभन्दा ठूलो उक्त आक्रमणमा मारिनेहरूमा प्रहरी अधिकृत पनि रहेको बताइएको छ।

याला क्षेत्रको एउटा सुरक्षाजाँच हुने चौकीमा विस्फोटक पदार्थ प्रयोग गरेर आक्रमण गरिएको र सडकमा किला छरेर आक्रमणकारीहरू भागेका थिए।

सन् २००४ मा सुरु भएको पृथक्तावादी विद्रोहमा दक्षिणी थाईल्यान्डमा हजारौँ मानिसको ज्यान गइसकेको छ।

आक्रमण

मङ्गलवार राति द्वन्द्वग्रस्त याला क्षेत्रमा भएको थियो।

आक्रमणकारीले सुरक्षा चेकपोस्टलाई लक्ष्य बनाउँदा एक प्रहरी अधिकृत र अन्य स्थानीय सुरक्षा स्वयंसेवकहरूसहित कम्तीमा १५ जनाको मृत्यु भएक छ।

हतियार चलाउन तालिम दिएर आफ्नो गाउँको सुरक्षा गर्न खटाइएका स्थानीय बासिन्दालाई सुरक्षा स्वयंसेवक भनिन्छ।

बीबीसी थाई सेवाको अनुसार केही घाइतेहरूको अवस्था गम्भीर छ।

आक्रमण कसले गर्‍यो भन्नेबारे स्पष्ट जानकारी नभए पनि क्षेत्रीय सुरक्षा प्रवक्ताले समाचारसंस्था रोएटर्सलाई पृथक्तावादीहरूको काम हुन सक्ने बताएका छन्।

"यो हालैको समयमा भएको ठूलामध्येको आक्रमण हो," उनले भने।

को हुन् पृथक्तावादी?

थाईल्यान्डका पृथक्तावादी विद्रोहीहरू दक्षिणी थाईल्यान्डमा कुनै प्रकारको स्वायत्तता माग गरिरहेको समूह हो।

दक्षिणी क्षेत्र सयौँ वर्षअघि पटानी नामको राज्य थियो र त्यहाँका मले मुस्लिमहरूको बाहुल्य थियो। बीसौँ शताब्दीको सुरुमा पटानी थाईल्यान्डमा मिसियो।

"[मले मुस्लिमहरू] सांस्कृतिक, जातीय र धार्मिक रूपमा अन्य थाई नागरिकभन्दा फरक थिए," अस्ट्रेलियानिवासी स्वतन्त्र विश्लेषक रुन्गावी चालेर्मश्रीपिन्योरातले बताइन्।

उनका अनुसार मले मुस्लिमहरूले आफूमाथि फरक संस्कृति लादिएको विरोध गर्दा राज्य निर्दयी बनेको छ।

लामो समयसम्म शान्त रहे पनि सन् २००४ मा हिंसा बढ्यो।

सन् २००४ मा बन्दुकधारीहरूले सैन्य अस्त्रभण्डारमा आक्रमण गरेर ४०० वटा राइफल लुटेका थिए। त्यसपछिका आक्रमणमा तिनै हतियार प्रयोग भएको मानिन्छ।