म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुक कर्मचारीसँग 'डेटिङ' गएपछि पदबाट हटाइए

तस्बिर स्रोत, Getty Images
म्याक्डोनल्ड्सले एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट हटाएको छ।
अमेरिकी प्रसिद्ध रेस्टुराँको सञ्जालले दुई जनाबीचको सम्बन्ध सहमतिमा आधारित भए पनि इस्टरब्रुकले 'कम्पनीको नीति उल्लङ्घन गरेका' र 'कमजोर निर्णय क्षमता देखाएका' बताएको छ।
कर्मचारीहरूलाई पठाएको एउटा इमेलमा ब्रिटिश नागरिक इस्टरब्रुकले ती महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको बताएका छन्।
"कम्पनीको मूल्यलाई ध्यानमा राख्दै मैले अब जागिर छोड्ने विषयमा बोर्डसँग सहमति जनाएको छु," उनले भनेका छन्।
भुक्तानी
श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेका ५२ वर्षीय इस्टरब्रुकले अहिलेको पद सम्हाल्नुअघि पहिलो पटक सन् १९९३ मा लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा काम गरेका थिए।
सन् २०११ मा उनले म्याक्डोनल्ड्स छोडेर पिज्जा एक्स्प्रेसका र त्यसपछि सन् २०१३ मा म्याकडोनल्ड्समा फेरि फर्कनुअघि खानासम्बन्धी एशियाली सञ्जाल वागामामाका प्रमुख भए।
सन् २०१५ मा उनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भए।
म्याक्डोनल्ड्सका मेन्यू तथा रेस्टुराँमार्फत् अझ राम्रा कुरा पस्केर कम्पनीलाई अगाडि बढाएको श्रेय इस्टरब्रुकलाई जान्छ।

तस्बिर स्रोत, PA Media
उनको कार्यकालमा कम्पनीको शेअर मूल्य दुई गुणाभन्दा बढीले बढ्यो।
इस्टरब्रुकको नेतृत्वमा म्याक्डोनल्ड्सले आफ्नो डेलिभरी सेवालाई विस्तार गर्नुका साथै मोबाइलमार्फत् गरिने भुक्तानीमा अझ बढी जोड दियो।
शुक्रवार एउटा समीक्षापछि म्याक्डोनल्ड्सको बोर्ड बैठकले इस्टरब्रुकको बहिर्गमनबारे मतदान गरेको थियो।
म्याक्डोनल्ड्सका अध्यक्ष र बोर्डका सदस्य पदबाट पनि उनले राजीनामा दिएका छन्।
वर्जित
सो कम्पनीको नीतिले व्यवस्थापकहरूलाई आफूसँग तल्लो तहका कर्मचारीसँगको प्रेम सम्बन्धलाई वर्जित गरेको छ।
पदबाट हटाइएपछि उनलाई दिइने रकम लगायतबारे विस्तृत विवरण सोमवार सार्वजनिक गरिनेछ, जसलाई धेरैले नजिकबाट नियाल्नेछन्।
कर्मचारीलाई दिने तलबलाई लिएर म्याक्डोनल्ड्सले आलोचना खेप्दै आएको छ र सन् २०१८ मा लिएको एक करोड ५९ लाख डलर बराबरको तलब-सुविधालाई लिएर इस्टरब्रुकले छानबिनको सामना गर्नुपरेको थियो।
त्यो मध्यम तहका कर्मचारीको तलबभन्दा २,१२४ गुणाले बढी हो। मध्यम तहका कर्मचारीले ७,४७३ अमेरिकी डलर पाउँछन्।
इस्टरब्रुकको ठाउँमा तत्काल लागु हुने गरी क्रिश केम्पजिन्स्की आउनेछन्।
एउटा वक्तव्यमार्फत् केम्पजिन्स्कीले इस्टरब्रुकलाई धन्यवाद दिँदै भनेका छन्, "स्टिभले मलाई म्याक्डोनल्ड्समा ल्याए। उनी धैर्यवान् र सहयोगी गुरु थिए।"
गत वर्ष इन्टेलका प्रमुखलाई कम्पनीको नीतिविपरीत कर्मचारीसँग सम्बन्ध राखेको पदबाट हटाइएको थियो। उनी सन् २०१३ देखि प्रमुख पदमा थिए।





















