सिन्धुपाल्चोक बस दुर्घटना: कम्तीमा १७ यात्रुको मृत्यु, कैयौँ घाइते

बस दुर्घटना

तस्बिर स्रोत, RSS

Published

सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा कम्तीमा १७ जनाको ज्यान गएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बीबीसीलाई बताए।

शैलुङ्गेश्वर यातायातको उक्त यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाण्डू आउँदै थियो।

दुर्घटनाबारे आइतवार साँझसम्म के थाहा छ?

  • सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ्गका अनुसार काठमाण्डूका लागि छुट्ने क्रममा दोलखामा ४७ जनाले उक्त बसको टिकेट काटेका थिए।
  • ज्यान गुमाउनेमा बाह्र महिला र पाँच पुरूष छन्। जसमा एकजना शिशु समेत रहेको बताइएको छ। दुर्घटनासँगै थुप्रै यात्रुहरू खोलामा बगेको बताइएको छ। ९ वटा शव बगाएर लगेको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक महर्जनले बताए। चार जनाको मृत्यु घटनास्थलमै भएको थियो भने बाँकी चारको उपचारको क्रममा ज्यान गएको थियो।
  • सिन्धुपाल्चोक र काभ्रेका विभिन्न तीन अस्पतालमा कम्तिमा ४६ जना घाइतेहरू पुर्याइएको थियो। टिकट काटेका र घाइते एवं मृतकको सङ्ख्या हेर्दा बीचमा चढ्ने यात्रुहरू अत्याधिक रहेको अनुमान अधिकारीहरूले गरेका छन्। जसले गर्दा दुर्घटनाका बेला बसमा कति यात्रुहरू थिए भन्ने स्पष्ट भएको छैन।
  • चालक अचेत अवस्थामा रहेका छन्। अझै दुर्घटनाको कारण खुलेको छैन।
  • मृतकहरूमध्ये १४ जनाको सनाखत भएको छ। जसमध्ये १२ दोलखाका छन् भने २ काभ्रेका छन्।

उद्धार

बसलाई क्रेनको सहायताले नदी किनारमा ल्याइएको छ।

यात्रुहरू बगेको समेत हुनसक्ने आशङ्कामा उद्धारमा र्‍याफ्टिङमा प्रयोग हुने डुङ्गाहरू समेत प्रयोग गरिएको थियो।

नदीमा बस उल्टो परेको अवस्थामा फेला परेको थियो।

बस

तस्बिर स्रोत, RSS

जसले गर्दा पानीमा डुबेको बसभित्र यात्रुहरू अल्झिएको प्रत्यक्षदर्शीहरूले बताए।

तिहार र छटपर्वको विदा सकिएसँगै शैक्षिक संस्थाहरू खुल्ने समय भएकोले बिचबाटोमा काठमाण्डू फर्किने विद्यार्थीहरू बसमा थपिएको हुनसक्ने प्रहरीको आशङ्का छ।