परीक्षार्थीलाई अरूको उत्तरपुस्तिका हेर्न नदिने अनौठो उपाय, आलोचना भएपछि क्षमायाचना

Published

कार्डबोर्डका खाली बक्साले टाउको छोपेर परीक्षा दिइरहेका विद्यार्थीको तस्बिर सार्वजनिक भएपछि भारतको कर्नाटक राज्यस्थित एउटा कलेजले क्षमायाचना गरेको छ।

तस्बिर भगत प्रीयूनिभर्सिटी कलेजमा रसायनशास्त्रको परीक्षा हुँदै गर्दा खिचिएको थियो।

विद्यार्थीहरूले एकअर्काको उत्तरपुस्तिका हेर्न नसकून् भनेर त्यो अनौठो उपाय अपनाइएको बताइएको छ।

परीक्षार्थीले आफ्नो उत्तरपुस्तिकामा मात्र हेर्न मिल्नेगरी ती बक्सामा प्वाल पारिएको थियो।

माफी

कलेजका एक कनिष्ठ प्रशासकले यसबारे सार्वजनिक रूपमा बोल्दै तथा जिल्लाका अधिकारीहरूसँग माफी मागेका थिए।

बीबीसी हिन्दीसँग कुरा गर्दै एमबी सतीशले विद्यार्थीहरूले अनियमित रूपमा अरूको उत्तर नसारून् भनेर त्यस्तो अस्वाभाविक शैली अपनाइएको भन्दै क्षमायाचना गरेका थिए।

उनले त्यस्तो उपाय अन्यत्रबाट सुनेपछि 'एउटा परीक्षणको रूपमा' मात्र प्रयोग गरिएको बताए।

अनि यो पनि

उनले त्यो विद्यार्थीहरूकै सल्लाहमा गरिएको र कार्डबोर्ड विद्यार्थीहरू स्वयंले ल्याएको बताए।

"त्यो कुनै बाध्यात्मक थिएन। तस्बिरमा केही विद्यार्थीहरूले त्यो नलगाएको पनि तपाईँ देख्न सक्नुहुन्छ," उनले भने।

"यो लगाउने कसैले १५ मिनेटपछि हटाए भने कसैले २० मिनेटपछि। एक घण्टापछि भने हामी आफैँले हटाउन लगायौँ।"

कारबाही

उक्त तस्बिरबारे थाहा पाएपछि त्यस क्षेत्रका अधिकारीहरूले उजुरीका लागि विद्यालय पुगेका थिए।

प्रीयूनिभर्सिटी एजुकेशन बोर्डका सहायक निर्देशक एससी पिरजादेले उक्त अभ्यास 'अमानवीय' भएको टिप्पणी गरे।

टाइम्स अफ इन्डिया पत्रिकाका अनुसार उनले उक्त कलेजको प्रशासनलाई अनुशासनको कारबाही गरिने बताए।

कलेज प्रशासनले भने त्यस्तो काम रोकेर बोर्डको निर्देशनअनुरूप काम काम गरिरहेको बताएको छ।