चेन्नईमा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेट हुँदै

सी र मोदी

तस्बिर स्रोत, Getty Images

Published

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण भारतीय शहर चेन्नईमा शुक्रवार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई दुई दिने अनौपचारिक शिखर सम्मेलनमा स्वागत गर्दैछन्।

अगस्ट महिनामा दिल्लीले भारत प्रशासित कश्मीरको संवैधानिक हैसियत बदल्ने निर्णय लिएपश्चात् उत्पन्न तनावका माझ सम्मेलन हुँदैछ।

यसैसाताको सुरुमा चीनले भारत तथा उसको रणनीतिक साझेदार पाकिस्तानलाई वार्तामार्फत् कश्मीर विवाद समाधान गर्न आह्वान गरेको थियो।

भारतले भने चीनलाई उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको थियो।

लक्ष्य

दुवै नेता आर्थिक सम्बन्ध बढाउन तथा आपसी आशङ्का निवारण गर्न चाहन्छन्।

खान, सी र मोदी

तस्बिर स्रोत, Getty Images

गत वर्ष चीनको वुहानमा भएको उस्तै अनौपचारिक बैठकले यी दुई देशबीचको जटिल सम्बन्धलाई नयाँ मोड दिन खोजेको थियो।

तर यसपालीको भेटमा कश्मीर विवादको विषय छायामा पर्नसक्ने ठानिएको छ।

भारत आउनु ठीक अगाडि चिनियाँ राष्ट्रपति सी ले बेइजिङमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका थिए।

भारत र पाकिस्तानबीच कश्मीर विवाद चर्किरहेको बेला उक्त भेटघाट भएको हो।

ती भेटघाटमा चीनले कश्मीरलाई एक विवादित मुद्दा भन्दै त्यसको समाधान शान्तिपूर्ण ढङ्गबाट संयुक्त राष्ट्रसंघको बडापत्र, सुरक्षा परिषदले स्विकृत गरेका प्रस्ताव तथा द्विपक्षीय सम्झौताका आधारमा गरिनुपर्छ भनेको छ।

बीबीसी हिन्दी आफ्नो रिपोर्टमा लेख्छ, 'एकातर्फ चीन कश्मीर मुद्दामा लगातार चीनको पक्षमा छ भने अर्कोतिर भारतसँग व्यापारिक सम्बन्ध बलियो बनाउने प्रयासमा पनि ऊ लागेको छ।'

भारतको भ्रमण सकेर शनिवार चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाण्डू आउँदैछन्।