पेरुमा भेटिएको बालबालिकाको सामूहिक चिहान 'सम्भवत: अहिलेसम्मकै ठूलो'

बालबालिकाको कङ्काल

तस्बिर स्रोत, AFP

Published

पेरुमा पुरातत्त्वविद्हरूले उत्खनन गरेको बालबालिकाहरूको सामूहिक चिहान इतिहासकै सबैभन्दा ठूलो भएको ठानिएको छ।

पाँचदेखि १४ वर्ष उमेरका २२७ जना बालबालिकाको चिहान राजधानी लिमाको उत्तरतर्फको तटीय नगरमा भेटिएको हो।

ती बालबालिकाहरूको पाँच सय वर्षभन्दा अघि हत्या गरिएको ठानिएको छ।

देशका अन्य दुईवटा भागमा २०० जना बालबालिकाको चिहान भेटिएको मात्र एक वर्षपछि पछिल्लो चिहान फेला परेको छ।

'भगवान खुशी पार्न बालबलि'

पुरातत्त्वविद्हरूले समाचार संस्था एएफपीलाई बताए अनुसार पछिल्लो उत्खननमा भेटिएका केही शवसँगै छाला र रौँ पनि थिए।

बालबालिकाको कङ्काल

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, पुरातत्त्वविद्हरूले थप शव फेला पर्न सक्ने बताएका छन्

प्राप्त सङ्केतहरूले जाडो याममा बालबालिकाको हत्या गरिएको देखाएका छन् र समुद्रतर्फ फर्काएर गाडिएका छन्। त्यसको अर्थ सम्भवत: चिमुले भगवान्‌लाई खुशी पार्न बालबलि चढाइएको हो।

घटना कुन वर्ष भएको हो भन्ने स्पष्ट छैन।

पेरुको उत्तरी तटसँगै चिमु बसोबासको केन्द्र थियो, जुन त्यस क्षेत्रको एउटा शक्तिशाली सम्भता मानिन्छ।

सामूहिक चिहान रहेको ठाउँमा उत्खननको काम चलिरहेको छ। पुरातत्त्वविद्हरूले अझैँ पनि थप शवहरू फेला पर्न सक्ने बताएका छन्।

फेरेन क्यास्टिल्योले एएफपीलाई भने, "यो अनगन्ती छ। जहाँ खन्यो त्यहीँ अर्को भेटिन्छ।"

बालबालिकाको कङ्काल

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, गत वर्ष २०० बालबालिकाको चिहान भेटिएको थियो