प्यारिस: खाना समयमा नदिएको भन्दै वेटरको गोली हानी हत्या

तस्बिर स्रोत, AFP
Published
समयमै आफ्नो खाना तयार नगरिदिएको झोकमा प्यारिस नजिकैको एक रेष्टुरेन्टमा एक जना ग्राहकले एक वेटरको गोली हानी हत्या गरेका छन्।
प्रहरीले शुक्रवार रातिको घटनामा हत्याको अनुसन्धान भइरहेको बताएको छ।
गोली हान्ने ग्राहक भागेको र अहिलेसम्म पक्राउ नपरेको बताइएको छ।
स्वास्थ्यकर्मीहरूले काँधमा गोली लागेका २८ वर्षीय वेटरलाई बचाउने प्रयास गरेपनि सफल भएनन्।
मृतकका सहकर्मीहरूले ती ग्राहक उनले माग गरेको खाना बनाउन लागेको समयका कारण रिसाएका थिए।
हत्याले स्थानीय बासिन्दा र पसलेहरू दुःखी छन्।
"यो दुःखद घटना हो," एक २९ वर्षीया महिलाले फ्रान्सेली समाचार संस्थालाई बताइन्।
"यो कुनै समस्या नभएको शान्त रेष्टुरेन्ट हो। यो केही महिना अगाडि खोलिएको थियो।"
केही स्थानीय बासिन्दाहरूले सडकमा लागु पदार्थको कारोबार बढेको कारण अपराध बढेको बताए।




















