एसईई: पूरक परीक्षामा ग्रेड वृद्धिका लागि सबै सहभागी हुन पाउने

Published

माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक परीक्षा तीन साता बाँकी रहँदा सरकारले सबै विद्यार्थी ग्रेड वृद्धिका लागि सहभागी हुनसक्ने निर्णय गरेको छ।

अघिल्लो वर्षसम्म दुई वा कम बिषयमा सी वा कम ग्रेड ल्याउने विद्यार्थीहरू मात्रै पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो।

गत वर्ष एसईईमा सहभागी चार लाख ७५ हजार विद्यार्थीमध्ये झण्डै तीन लाख ६० हजार विद्यार्थीले कम्तीमा एक विषयमा सी वा कम ग्रेड ल्याएका छन्।

शिक्षा मन्त्रालयको नयाँ परिपत्र अनुसार ती सबै पूरक परीक्षाका लागि योग्य ठहरिनेछन्।

अर्को ठूलो परीक्षा

"तर ती सबै परीक्षामा सहभागी हुने सम्भावना निकै कम छ," परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।

शुक्रवारसम्म फारम भर्ने समय दिइएकाले त्यसपछि मात्र भदौको परीक्षामा कति सहभागी हुनेछन् भन्ने थाहा हुनेछ।

सरकारी अधिकारीहरूले यो मूख्य परीक्षाजस्तो हुने भएकाले छिटो तयारी चुनौतीपूर्ण भएको बताएका छन्।

दुईवटा विषयका लागि मात्र पूरकको अवसर दिँदा त्यो सङ्ख्या एक लाख १५ हजार हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले जनाएको छ।

भदौ महिनाको सुरुबाटै पूरक परीक्षाका लागि संशोधित सूचना जारी गरिएको छ।

अधिकारी भन्छन्, "यो पूरक परीक्षाजस्तो नै भएन, नियमितजस्तो भयो। यो पूरकको मर्मअनुसार नभए पनि राज्यले सहुलियत दिएको रूपमा हेर्नुपर्ला।"

किन यस्तो गरियो?

परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरू यसअघि सरकारले आफै तय गरेको व्यवस्था विपरीत मन्त्रालयको निर्देशन आएपछि अचम्भित भएको बताएका थिए।

तर सूचना प्रकाशित गरिसकेपछि अब जसरी पनि गर्नैपर्ने अवस्था आएको उनीहरू बताउँछन्।

एसईईमा धेरै विद्यार्थीको राम्रो ग्रेड नहुँदा निजी विद्यालयका कक्षा ११ र १२ मा विद्यार्थीहरू नै नपुगेको विद्यालय सञ्चालकहरूले बताएका छन्।

त्यसरी नपुगेको विद्यार्थी सङ्ख्या पुर्‍याउनका लागि कतैबाट दबाब आएको हुन सक्ने शिक्षाविद् विद्यानाथ कोइराला ठान्छन्।

"आफ्नै पुरानो निर्णय बदल्नुको कारण धेरैलाई पास गराउने नियत हुनसक्छ।"

'लेटर ग्रेडिङ्' प्रणालीमा कोही पनि फेल भएर बस्दैन तर झण्डै साढे तीन लाख विद्यार्थीहरू फेल सरह बसेको अवस्थालाई सुधार्न थप पास गराउने रणनीति समेत यसपछाडिको लुकेको अर्को उद्देश्य हुनसक्ने शिक्षाविद् कोइराला बताउँछन्।

जस कारण यस प्रणालीको सक्षमता देखाउन पाइने सरकारले सोचेको हुनसक्ने उनको भनाइ छ।

'लेटर ग्रेडिङ्'माथि प्रश्न

अहिले प्रणालीमा न्यून ग्रेड ल्याउनेहरू उच्च शिक्षाका लागि भर्ना नपाउने हुँदा अनुत्तीर्ण सरह भएका उनीहरूका लागि विकल्प दिन नसकिएको भन्दै आलोचना भइरहेको छ।

उनीहरूका लागि व्यावसायिक एवम् सीपमूलक शिक्षा दिने व्यवस्था गर्ने यस प्रणालीको विशेषता बताइएको थियो।

शिक्षाविद् कोइराला भन्छन्, "कसैलाई कुनै एक दुई विषय मात्रैले कुनै क्षेत्रमा जान पर्याप्त हुन्छ भने त्यो क्षेत्र समेत खुला गर्नुपर्‍यो। वा आइएलटिएसजस्तो कुनै परीक्षा प्रणाली बनाइयो भने त्यो पास गर्दा थप पढ्न पाइने गराउनुपर्थ्यो।"

तर एक कक्षादेखि नै ग्रेडिङ् प्रणाली लागु नहुँदा यस परीक्षा शैलीकै औचित्यमाथि प्रश्न उठेको छ।

कतिपयले यसले झन् प्रयोगात्मक शिक्षाको बदनाम गरिएको बताउँछन्।

अहिले प्रयोगात्मक र सैद्धान्तिकमा फरक फरक ग्रेड राखिएको छैन।

जसले गर्दा प्रयोगात्मकमा पूरा अङ्क पाउने विद्यार्थीहरूले सैद्धान्तिकमा भने निकै न्यून अङ्क समेत ल्याउन नसकेका भेटिन्छन्।

शिक्षाविद् कोइराला भन्छन्, "अहिलेको व्यवस्थाले न ग्रेडिङ् प्रणालीको इज्जत धान्न सक्यो न त विद्यार्थीमाथि पनि न्याय भयो।"