रसुवाको सुरूङमा थुनिएका १७ जनाको यसरी गरियो सकुशल उद्धार

रसुवा

तस्बिर स्रोत, Facebook/Rasuwagadhi Hydropower Company

तस्बिरको क्याप्शन, रसुवागढी आयोजनाको एउटा सुरूङ
Published

सुक्खा पहिरोका कारण रसुवागढी जलविद्युत आयोजनाको एउटा सुरूङमा थुनिएका १७ जना कामदारको करिब १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।

निर्माणाधिन उक्त जलविद्युत आयोजनाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित तातोपानी क्षेत्रको सुरूङमा ती कामदार थुनिएका थिए।

आयोजनाले परीक्षणका लागि बनाएको सुरूङ-४ मा कामदार थुनिएको र उनीहरूको सकुशल उद्धार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बीबीसीलाई बताए।

भण्डारीका अनुसार उद्धार हुनेमा ११ जना नेपाली र छजना चिनियाँ कामदार छन्।

यसरी भयो उद्धार

रसुवा

तस्बिर स्रोत, Facebook/Rasuwagadhi Hydropower Company

तस्बिरको क्याप्शन, रसुवागढी जलविद्युत आयोजना निर्माणस्थल

उनीहरू कसैलाई पनि चोटपटक नलागेको बताइएको छ।

भण्डारीका अनुसार बिहीवार बेलुका करिब आठ बजेतिर आएको सुक्खा पहिरो खस्दा उक्त सुरूङको प्रवेशद्वारतर्फको बाटो बन्द भएको थियो।

"हामीले सुरूङमा मानिसहरू थुनिएको थाहा पाउने बित्तिकै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गर्‍यौँ।", उनले भने, "राती बिजुली वा अन्य खाले उज्यालोको व्यवस्था नभएकाले उद्धार गर्न सकिएन। बिहान पाँच बजेदखि उद्धार शुरु गरेर उहाँहरूलाई सकुशल निकालियो।"

सुरूङबाट उद्धार गरिएकाहरूलाई स्वास्थ्यकर्मीहरूको टोली झिकाएर घटनास्थल नजिकै सुरक्षित स्थानमा स्वास्थ्य परीक्षण गराइएको भण्डारीले जानकारी दिए।

उद्धारका लागि करिब ४० जना सुरक्षाकर्मी सम्मिलित टोली खटिएको थियो।

उक्त आयोजनामा कार्यरत चिनियाँ प्राविधिकहरूको सहायताले उद्धारमा सजिलो भएको भण्डारीले जानकारी दिए।

"सुक्खा पहिरो भएकाले पनि अलि सजिलो भयो। हिलो पहिरो भएको भए निक्कै कठीन हुने थियो", प्रजिअ भण्डारीले भने, "सुक्खा पहिरो त अहिले पनि गइरहेको देखिन्छ।"