स्पेन निर्वाचनः स्थापनाको चार वर्षमै अतिदक्षिणपन्थी दलको उदय

नेतहरू

तस्बिर स्रोत, Reuters

Published

स्पेनमा दशकौँपछि क्षेत्रीय निर्वाचनमा अतिदक्षिणपन्थी दलले जितेको छ।

पाँचवटा सीट जित्ने अनुमानविपरीत एन्डालुसियामा आइतवार भएको निर्वाचनमा भक्स पार्टी १२ वटा सीटमा विजयी भएको हो।

एन्डालुसियाको गठबन्धनमा आप्रवासनप्रति कडा दृष्टिकोण राख्ने उक्त दल निर्णायक हुनसक्छ।

युरोपभरि देखा परेको राष्ट्रवादी लहरमा यो पछिल्लो उदाहरण हो।

कैयौँले फासीवादी तानाशाही व्यवस्थाअन्तर्गत बिताउनु परेको इतिहास सम्झेर स्पेनमा त्यस्तो नहुने ठान्दथे।

पहिलो परीक्षण

फ्रान्सका अतिदक्षिणपन्थी मारिन ले पेनले फ्रेन्च भाषामा ट्वीट गरेका छन्, "गतिशील र युवा अभियानका निम्ति स्पेनमा अर्थपूर्ण परिणाम हासिल गरेकोमा भक्स पार्टीका मेरा साथीहरूलाई न्यायो र जोडदार बधाई।"

सोसलिस्ट पार्टीले ३६ वर्षदेखि एन्डालुसियामा शासन गर्दै आएको छ।

अझै पनि अन्य दलभन्दा बढी स्थानमा जितेको उक्त दलसँग कुल ३३ सीट छ।

तर त्यो वामपन्थीसँगको सम्भावित गठबन्धनपछि पनि बहुमतका लागि अपुग रहनेछ।

दोस्रो भएको अनुदारवादी मानिने दल पपुलर पार्टी (पीपी) ले पनि आफ्नो पकड गुमाएको छ।

उक्त दलका राष्ट्रिय नेता पाब्लो ससाडोले निर्वाचनमा राम्रो पकड देखाएको मध्यदक्षिणपन्थी दल र भक्सलाई उक्त क्षेत्रमा एउटै गठबन्धन ल्याउन सकिने आशा व्यक्त गरेका छन्।

प्रदर्शन

तस्बिर स्रोत, AFP/GETTY

तीनवटा दलले बहुसङ्ख्यक सीटहरूमा विजय हात पारेका छन्।

क्षेत्रीय निर्वाचन परिणाम स्पेनका नयाँ प्रधानमन्त्री पेड्रो सान्चेथको निम्ति ठूलो धक्का हो।

भ्रष्टाचार प्रकरणपछि गत जुनमा सत्ताधारी दललाई विस्थापित गर्दै उनी सत्तामा आएपछि पहिलो पटक यो चुनावी परीक्षण भएको हो।

सम्वाददाताहरूका अनुसार महिनौँदेखि प्रधानमन्त्रीले युरोपेली र क्षेत्रीय चुनावसँगै आउँदो मे महिनामा राष्ट्रिय निर्वाचन घोषणा गर्ने अनुमान गरिँदै आएको थियो।

तर एन्डोलुसियाको परिणामले त्यसो गर्न उनलाई अलि कम नै प्रेरित गर्ने ठानिन्छ।

भक्सको पहिचान

सन् २०१४ मा स्थापान भएको उक्त दल स्पेनको राजनीतिमा प्रभाव देखाउन सङ्घर्षरत छ।

भक्स पार्टीलाई आप्रवासन र मुस्लिमविरोधी अनि अतिदक्षिणपन्थी र लोकप्रियतावादीको रूपमा प्रस्तुत गर्दै खिल्ली उडाउने गरिन्थ्यो।

तर उक्त दलका नेता स्यान्टियागो एबास्कलले आफ्नो पार्टीले दशौँ लाख स्पेनी नागरिकको धारणा बोकेकोले पछिल्लो समर्थन प्राप्त गरेको बताएका छन्।

उक्त दलका नेताहरूले 'अतिवाद' भन्दा 'अतिआवश्यक' दल रहेको भन्दै दक्षिणपन्थीको आरोप अस्वीकार गर्छन्।

उक्त दलले 'स्पेनलाई फेरि महान् बनाउने' प्रस्ताव अघि सारेको छ र आलोचकहरूले उसको विधारधारालाई राष्ट्रवादको आवरणमा फ्रान्सिस्को फ्रान्कोको तानाशाहीको पुनरावृत्ति भनी ‍व्याख्या गर्ने गरेका छन्।