तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'सोधपुछ गर्न' कहाँ लगिए इन्टर्पोल प्रमुख?
अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका चिनियाँ प्रमुख मङ खुङ्वे बेपत्ता भएपछि फ्रान्समा अनुसन्धान सुरु गरिएको छ।
इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मङ उनी परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
तर उनी फ्रान्सबाट नहराएको फ्रान्सेली अनुसन्धान टोलीसँग नजिक रहेको एउटा स्रोतले समाचार संस्था एएफपीलाई बताएको छ।
साउथ चाइना मर्निङ पोस्टले नाम उल्लेख नगरिएको स्रोतलाई उद्धृत गर्दै मङलाई 'सोधपुछ गर्न लगिएको' जनाएको छ।
तर सो पत्रिकाका अनुसार के कारणले 'अनुशासन अधिकारीहरू'ले उनलाई लगेका हुन् भन्ने चाहिँ स्पष्ट भएको छैन।
चौसट्ठी वर्षीय मङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी पनि हुन्।
मङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो। चिनियाँ पक्षले यसबारे केही बोलेको छैन।
इन्टर्पोल के भन्छ?
मङ बेपत्ता भएको भन्ने कुराबारे जानकारी रहेको इन्टर्पोलले एउटा विज्ञप्तिमा भनेको समाचार संस्था रोएटर्सले जनाएको छ।
"यो फ्रान्स र चीनका सम्बन्धित निकायको चासोको विषय हो," उसले भनेको छ।
एक सय बयानब्बे सदस्य रहेको सो सङ्गठनको दैनिक सञ्चालन गर्ने जिम्मेवारी अध्यक्षको नभएर महासचिवको भएको इन्टर्पोलले जनाएको छ।
अध्यक्षका रूपमा मङले कार्यकारी समितिको नेतृत्व गर्छन्। सो समितिले इन्टर्पोललाई परामर्श र निर्देशन दिन्छ।
मङको कार्यकाल सन् २०२० सम्म छ।
मङ खुङ्वे
- नोभेम्बर २०१६ मा इन्टर्पोलको अध्यक्ष निर्वाचित
- कार्यकाल सन् २०२० सम्म
- चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारी
- चीनका सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री
- आपराधिक न्याय र प्रहरी सङ्गठनमा ४० वर्ष लामो अनुभव
सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका उपमन्त्री थिए।
उनी इन्टर्पोलमा निर्वाचित भएपछि मानवाधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए।
तर मङले संसारभरि प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए।
उनीसँग आपराधिक न्याय, लागुऔषध, प्रतिआतङ्कवाद र सीमा सुरक्षाबारे ४० वर्ष लामो अनुभव भएको इन्टर्पोलले बताएको छ।
खोजी गरिएको व्यक्तिका लागि इन्टर्पोलले संसारभरि रेडकर्नर नोटिस जारी गर्न सक्छ।
तर उसले कसैलाई पक्राउ गर्न प्रहरी खटाउन वा पक्राउपुर्जी जारी गर्न सक्दैन।
मङले चीनलाई चिढ्याएका थिए?
बीबीसी एशिया सम्पादक सेलिया ह्याटनको विश्लेषण
मङ खुङ्वे बेपत्ता भएको घटना चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारीहरूले जानेकै शैलीसँग मिल्दोजुल्दो छ।
कुनै अधिकारी अकस्मात् सार्वजनिक दृष्टिबाट हराउँछन् र सर्वसाधारणहरूमाझ उनी बेपत्ता भएको भनेर चर्चा हुन्छ।
ती अधिकारीबारे 'अनुसन्धान' हुँदै गरेको भनेर अन्तत: पार्टीले एउटा संक्षिप्त विज्ञप्ति निकाल्छ। त्यसपछि 'अनुशासन भङ्ग गरेको' भन्दै ती व्यक्तिलाई पार्टीबाट निकालिन्छ र जेल सजाय सुनाइन्छ।
राष्ट्रपति सि जिनपिङ सन् २०१२ मा सत्तामा आएपछि १० लाख जनाभन्दा बढी अधिकारीहरूलाई कुनै न कुनै रूपमा अनुशासनको कारबाही गरिएको छ।
मङको घटना केही कारणले अर्थपूर्ण छ।
पहिलो - उनी केही दिनदेखि मात्रै सम्पर्कविहीन भएका भए पनि मङकी पत्नीले फ्रान्सेली सरकारी निकायलाई गुहारिन्। चिनियाँ कम्युनिस्ट पार्टीका बेपत्ता भएका अधिकारीका परिवारका सदस्यले दण्ड बढी पाउलान् भन्ने भयले प्राय: विदेशी निकायलाई गुहार्दैनन्।
अरू उपाय बाँकी छैन भन्ने लागेर मङकी पत्नीले त्यसो गरेकी हुन् कि?
इन्टर्पोलमा मङको उच्च पद कुनै बेला चीनका लागि गौरवको विषय थियो।
यदि मङ साँच्चै चीनको राज्य संयन्त्रभित्रै बेपत्ता भएका हुन् भने उनले कसलाई चिढ्याएका थिए होलान्? अथवा नियतवश र सार्वजनिक रूपमै इन्टर्पोलको पद त्याग्ने गरी उनले बेइजिङका लागि के गरेका थिए?