तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फ्रान्सबाट चीन गएका इन्टर्पोल प्रमुख 'बेपत्ता'
अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका चिनियाँ प्रमुख मङ खुङ्वे बेपत्ता भएपछि फ्रान्समा अनुसन्धान सुरु गरिएको छ।
इन्टर्पोलको फ्रान्सस्थित मुख्यालयबाट गत हप्ता चीन गएका मङ उनको परिवारको सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।
तर उनी फ्रान्सबाट नहराएको फ्रान्सेली अनुसन्धान टोलीसँग नजिक रहेको एउटा स्रोतले समाचार संस्था एएफपीलाई बताएको छ।
चौसट्ठी वर्षीय मङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी पनि हुन्।
मङ बेपत्ता भएको भन्दै उनकी पत्नी प्रहरीको सहयोग लिन पुगेपछि अनुसन्धान थालिएको हो।
'जानकारी छ'
मङ बेपत्ता भएको भन्ने कुराबारे जानकारी रहेको इन्टर्पोलले एउटा विज्ञप्तिमा भनेको समाचार संस्था रोएटर्सले जनाएको छ।
"यो दुवै फ्रान्स र चीनका सम्बन्धित निकायको चासोको विषय हो," उसले भनेको छ।
एक सय बयानब्बे सदस्य रहेको सो सङ्गठनको दैनिक सञ्चालन गर्ने जिम्मेवारी अध्यक्षको नभएर महासचिवको भएको इन्टर्पोलले जनाएको छ।
अध्यक्षका रूपमा मङले कार्यकारी समितिको नेतृत्व गर्छन्। सो समितिले इन्टर्पोललाई परामर्श र निर्देशन दिन्छ।
मङको कार्यकाल सन् २०२० सम्म छ।
मङ खुङ्वे
- नोभेम्बर २०१६ मा इन्टर्पोलको अध्यक्ष निर्वाचित
- कार्यकाल सन् २०२० सम्म
- चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारी
- चीनका सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री
- आपराधिक न्याय र प्रहरी सङ्गठनमा ४० वर्ष लामो अनुभव
सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका उपमन्त्री थिए।
उनी इन्टर्पोलमा निर्वाचित भएपछि मानवाधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए।
तर मङले संसारभरि प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए।
उनीसँग आपराधिक न्याय, लागुऔषध, प्रतिआतङ्कवाद र सीमा सुरक्षाबारे ४० वर्ष लामो अनुभव भएको इन्टर्पोलले बताएको छ।
खोजी गरिएको व्यक्तिका लागि इन्टर्पोलले संसारभरि रेडकर्नर नोटिस जारी गर्न सक्छ।
तर उसले कसैलाई पक्राउ गर्न प्रहरी खटाउन वा पक्राउपुर्जी जारी गर्न सक्दैन।