म महिला हुँ त के भो: कुस्ती खेल्छु
भगवती खड्का रेस्लिङ खेलमा महिला नभएको थाहा पाएपछि आफू त्यतै लागेको बताउँछिन्।
रामेछाप मन्थलीकी खड्का युनिका उपनामबाट पनि परिचित छिन्।
दर्जनौँ रेस्लिङ भिडन्तमा सहभागी भइसकेकी उनी गायन र अभिनय पनि गर्छिन्।
नेपाली केही चलचित्रमा देखा परेकी छन् भने एउटा लोकप्रिय हास्य टेलिशृङ्खला प्राय: देखिरहने गर्छिन्।
'झगडालु थिएँ'
२०६५ सालमा भक्तपुरमा भएको राष्ट्रिय खेलमा भारोत्तोलनमा १३५ किलो तौल उठाएर कास्य पदक जितेपछि केही त पक्कै गर्छु भन्ने आँट बटुलिन्।
उनी भन्छिन्, "म सानैदेखि फरक स्वभावकी थिएँ। केटीहरूले नगर्ने खालका काम गर्न रुचाउँथेँ। रूख चढ्थेँ, खेतमा आली लगाउँथेँ। चित्त नबुझे मुखभन्दा हात बढी चल्थे। झगडालु स्वभावकी थिएँ।"
चलचित्रको लागि द्वन्द्वको प्रशिक्षण लिने क्रममा नेपालको पहिलो रेस्लर भनिने हिमालयन टाइगरसँग भेट भएपछि आफ्नो रेस्लिङयात्रा सुरु भएको भगवती बताउँछिन्।
उनी भन्छिन्, "मलाई गाली गर्थे। अझ कति केटाहरूले त 'आइज, मसँग कुस्ती खेल्न' पनि भन्थे। मेरोबारे समाचार छापिएको देखे जलाउने गर्थे। समाजको हेपाहा प्रवृत्तिले निकै गाह्रो भयो। तर मैले कहिल्यै फर्केर हेरिनँ।"
नेपाल र भारतमा गरी करिब चार दर्जनभन्दा बढी भिडन्तमा लडिसकेकी उनी अहिले प्रशिक्षणमा पनि व्यस्त छन्।
उनै खड्कासँग 'म महिला हुँ त के भो' शृङ्खलाका लागि गरिएको कुराकानी।