होलीमा हुने दुर्व्यवहारको भारतमा विरोध

तस्बिर स्रोत, Getty Images
हिन्दू पर्व होलीका बेला सामना गर्नुपर्ने दुर्व्यवहारप्रति भारतीय राजधानी दिल्लीस्थित महिला विद्यार्थीहरूले विरोध जनाएका छन्।
ती महिला विद्यार्थीहरूले आफ्ना अनुभवबारे बीबीसीकी निकिता मन्दानीसँग कुरा गरेका थिए।
वसन्त याममा मनाइने होली पर्व भारतका धेरै भागहरूमा एकअर्कामाथि विभिन्न रंग र पानी छ्यापाछ्याप गरी मनाइने चलन छ।
तर होली पर्वमा आफ्नो भोगाइ र वास्तविकता, बलिवूड चलचित्रमा देखाइने प्रेमपूर्ण दृष्यहरू वा पर्यटकहरूका रमाइला अनुभवभन्दा धेरै भिन्न भएको कतिपय महिलाहरूको भनाइ छ।
वास्तविकता
दिल्ली विश्वविद्यालयमा अध्ययनरत गुरमेहर कौर भन्छिन् - हुर्कँदै गएपछि होलीका बेला तपाईँलाई आफ्नो शरीर केवल एउटा वस्तु हो भन्ने लाग्न सक्छ।
सो विश्वविद्यालयमा अध्ययनरत कैयौँ महिला विद्यार्थीहरूले आफूमाथि पानीका लोला, हिलो वा अण्डा प्रहार गरिने हुनाले होली पर्वको समयमा आफ्नो क्याम्पस नजिकको बाटो हुँदै हिँड्न पनि डर लागेको बीबीसीलाई बताएका छन्।
होलीको केही दिनअघि अविधा राह टेम्पोमा भएको बेला उनको छातीमा एक्कासी तरल पदार्थ भरिएको भरिएको बेलुन आएर लाग्यो र फुट्यो।
"त्यसमा के थियो मलाई थाहा छैन तर त्यो च्यापच्याप थियो," उनले भनिन्, "मलाई एकदमै घिन लाग्यो।"
उनले अन्य विद्यार्थीहरूबाट वीर्य भरिएका बेलुन महिला विद्यार्थीहरूमाथि प्रहार गरिएकोबारे सुनेकी थिइन् र सोही कारण उनले त्यतिबेला लगाएको टी-सर्ट दुई दिनसम्म पानीमा भिजाएर राखिन्।

तस्बिर स्रोत, Getty Images
अर्की विद्यार्थी तोलिनो चिशीले फेब्रुअरी २७ मा इन्स्टाग्राममा सन्देश लेख्दै कसैले उनीमाथि "वीर्य भरिएको बेलुन" प्रहार गरेको दाबी गरेकी थिइन्।
उक्त सन्देश भाइरल भएको थियो र त्यसले दिल्ली विश्वविद्यालयभित्र र वरपर केही दुर्व्यवहार विरोधी प्रदर्शनहरू गरिए।
रंगले भरिएका बेलुन प्रहार गरिनु नौलो कुरा हैन। तर ती विद्यार्थीहरूले कसरी ती बेलुनमा भएका पदार्थ वीर्य भएको थाहा पाए भन्ने चाहिँ स्पष्ट छैन।
दुर्व्यवहारमा वृद्धि
"प्रदर्शनबाट घर फर्किरहँदा बाटोमा ममाथि पानीले भरिएको बेलुन प्रहार भएको थियो। मोटरबाइकमा सवार दुई जना केटाहरूले त्यसो गरेर भागेका थिए," रागिनी सामराहले आफ्नो अनुभव सुनाइन्।
अविधा राह र अन्य विद्यार्थीले महिलामाथि एक हप्ताभन्दा पनि बढी समयसम्म बेलुनहरू प्रहार गरेका पुरुषविरुद्ध प्रहरीमा उजुरी पनि गरेका थिए।
त्यसपछि क्याम्पस वरपरका केही क्षेत्रमा प्रहरीले गस्ती पनि गरेको थियो।
दिल्ली विश्वविद्यालयकी पूर्वविद्यार्थी अवन्तिका तिवारी भन्छिन्, "संस्कृतिका नाममा हरेक दिन व्यापक यौन दुर्व्यवहार हुने गर्छ र त्यसलाई सामान्य रूपमा लिइन्छ।"
"जब क्याम्पसभित्र सुरक्षाको माग गरिन्छ तब प्रशासनले विद्यार्थीमाथि नै थप नियमहरू लाद्छ।"
अर्की विद्यार्थी जानकी अब्राहम सुनाउँछिन् - होलीआसपास हुने दुर्व्यवहारको लामो इतिहास छ।
सन् १९९६ मा दिल्ली विश्वविद्यालयमा गरिएको एक लैंगिक अध्ययन टोलीमा उनी संलग्न थिइन्। उक्त प्रतिवेदनले होलीका बेला यौन दुर्व्यवहारमा वृद्धि भएको देखाएको थियो।




















