तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

स्थानीय तह निर्वाचनः अधिकांश स्थानमा मतदान सम्पन्न, 'झन्डै ६४ प्रतिशत मत खस्यो'

नेपालमा आज देशका ७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा एक करोड ७७ लाखभन्दा बढी मतदाता थिए।

लाइभ कभरेज

  1. बारा र सर्लाहीका केही केन्द्रमा मतदान रोकियो

    बारा र सर्लाहीका केही मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको अधिकारीहरूले बताएका छन्।

    बाराका पचरौता नगरपालिकाका निर्वाचन अधिकृत नीरबहादुर दाहालले बरगाछी र श्रीनगर-बैरिया मतदान केन्द्रमा दलका नेता कार्यकर्ताबीच झडप भएकाले मतदान कार्य अहिले रोकिएको बताए।

    बरगाछी मतदानकेन्द्रमा कब्जा गर्नेले सम्पूर्ण मत खसालेको र श्रीनगर-बैरिया प्राथमिक विद्यालयमा धाँधली गर्न खोजेपछि विवाद भएको दाहालले जानकारी दिए।

    दाहालले निर्वाचन आयोगमा यसबारे जानकारी गरा[एको र सो मतदानकेन्द्रको मतदान रद्द गर्ने वा फेरि सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताए।

    स्थिति नियन्त्रणमा लिन अश्रुग्यास चलाउनुपरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी गराए।

    यस्तै सर्लाहीको धनकौल गाउँपालिकामा निर्वाचनकै विषयलाई लिएर राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।

    त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरी निर्वाचन सुरु गराउने तैयारीमा जुटेको गौतमले बताएका छन्।

  2. देउवाले 'चुनाव सारौँ' भनेर औपचारिक प्रस्ताव पठाएको ओलीको दाबी

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’ मा मतदान गरेको राससले जनाएको छ।

    मतदानपछि ओलीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै "प्रधानमन्त्री शेरबहादुर देउवाले गत वैशाख ९ गतेसम्म स्थानीय तहको निर्वाचन सारौँ भनेर ओपचारिक प्रस्ताव" पठाएको दाबी गरेका छन्।

    यसअघि शुक्रवारै देउवाले आफ्नो गृहजिल्ला डडेलल्धुरामा मतदानपछि ओलीले चुनाव हुँदैन भनेर भने पनि उनी गलत साबित भएको बताएका थिए।

    त्यसको प्रतिउत्तर दिँदै ओलीले "निर्वाचन रोक्ने अवस्था नभएपछि र कानुनले बाध्य बनाएपछि यो सरकारले चुनाव गराएको" बताएका छन्।

    उनले यस्ता राजनीतिक संवादका कुराहरू प्राय: सार्वजनिक नगरिनेमा "अहिले चुनाव सम्पन्न हुने" बेला भइसकेकाले सार्वजनिक गरेको पनि बताए।

  3. वालिङ जीप दुर्घटनामा पर्ने अधिकांश मतदाता, मृतकको सङ्ख्या १४ पुग्यो

    आज बिहान स्याङ्जाको वालिङको अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ राष्ट्रिय समाचार समितिले जनाएको छ।

    बिहान १०:३० बजे वालिङ–१४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनाको मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालले राससलाई दिएका छन्।

    मृतकहरू नौ वर्षदेखि ८६ वर्षसम्मका छन्।

    दुर्घटनामा परेर ११ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूलाई पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ।

    राससका अनुसार तिवारीपसलस्थित केन्द्रमा मतदान भइरहेको छ।

  4. मतदानपछि नङमा रङ्ग किन लगाइन्छ?

  5. यस्तो छ काठमाण्डूको मुख्य सडक

    निर्वाचन आयोगले स्थानीय तहको चुनावको दिन सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको छ।

    राजधानी काठमाण्डूमा अनुमति प्राप्त निश्चित सवारीसाधनहरू मात्रै गुडिरहेका छन्।

    सार्वजनिक बिदा गरिएकोले निजी र सरकारी कार्यालयहरू बन्द रहेका छन्।

  6. स्याङ्जामा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

    स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिएका छन्।

    ग्रामीण भेगको कच्ची बाटोमा जीप भीरबाट खस्दा थप १२ जना घाइते भएका र उनीहरूलाई उपचारार्थ पोखरा ल्याइएको पौडेलले बताए।

    घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पोखराबाट हाम्रा संवाददाता नारायण कार्कीले जनाएका छन्।

  7. निर्वाचन आयोग: अपराह्न १२ बजेसम्म ३५ प्रतिशत मतदान

    निर्वाचन आयोगले अपराह्न १२ बजेसम्म करिब ३५ प्रतिशत मतदाताले मतदान गरिसकेको जनाएको छ।

    बिहान ७ बजेदेखि १२ बजेसम्म छिटपुट घटनाबाहेक झन्डै २२,००० मतदान केन्द्रमा स्थानीय तहको मतदान भइरहेको आयोगको भनाइ छ।

    निर्वाचन आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान केन्द्रहरूमा सामान्य विवादका कारण मतदान अवरुद्ध भएको र त्यसलाई सुचारु बनाउने प्रयास भइरहेको उल्लेख गरेको छ।

  8. नेपाली सेना: ११ ठाउँमा फेला परेका शङ्कास्पद सामग्री ‘होक्स’, प्युठानमा विस्फोटक पदार्थ निष्क्रिय तुल्याइयो

    स्थानीय चुनावको सुरक्षामा संलग्न रहेको नेपाली सेनाले देशका विभिन्न ठाउँमा ११ वटा शङ्कास्पद वस्तु फेला परेकामा ती झुक्क्याउने सामग्री पुष्टि भएको जनाएको छ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले प्युठान जिल्लामा विस्फोटक सामग्रीलाई सफलतापूर्वक रूपमा निष्क्रिय तुल्याइएको बीबीसीलाई बताए।

    उनी भन्छन्, “स्थिति तनावपूर्ण भएर नेपाली सेनालाई दुई ठाउँबाट बोलावट भएको थियो। दोलखाको बैदेश्वर गाउँपालिका स्थित मतदान केन्द्र र सिन्धुपाल्चोकको गोल्माथान माध्यमिक विद्यालय मतदान केन्द्र तनावग्रस्त रह्यो।"

    "दुवै ठाउँमा सेनाको उपस्थितिपछि स्थिति सामान्य भई मतदान सुचारु भएको छ। सेनाले कतै पनि थप बल प्रयोग गर्नु परेन।”

    चुनावको सुरक्षाको प्रमुख जिम्मेवारी नेपाल प्रहरीलाई दिइए पनि संवेदनशील अवस्थामा नेपाली सेनाले थप सहयोगहरू उपलब्ध गराउँदै आएको छ।

  9. मतदान गरेर फर्कने क्रममा एक वृद्धको निधन

    बैतडीमा मतदान गरेर फर्कँदा एक वृद्धको मृत्यु भएको छ।

    मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिएको राससले जनाएको छ।

    भाटले शुक्रवार बिहान सनातन धर्म मावी खोचलेकमा मतदान गरेका थिए।

    मतदानपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेलामा उनी मुर्छा परेको र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

  10. मतदान गरेपछि सत्ता गठबन्धनका नेताले के भने?

    स्थानीय तहको शुक्रवार भइरहेको मतदानमा आ-आफ्नो मतदाता नामावली भएको स्थानबाट भोट हालेपछि नेताहरूले विभिन्न खाले प्रतिक्रिया दिएका छन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यमिक विद्यालयस्थित मतदान केन्द्र (ख) मा भोट हालेको राससले जनाएको छ।

    मतदानपछि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केपी शर्मा ओली लक्षित प्रतिक्रिया दिएको खबरहरू आएका छन्।

    उनले "ओलीले चुनाव हुँदैन भन्थे गलत साबित भए" भनेको ईकान्तिपुर डटकमले जनाएको छ।

    त्यस्तै सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी विद्यालय शान्तिपुर केन्द्रमा मतदान गरेको राससले जनाएको छ।

    मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरेको राससले जनाएको छ।

    उनले “स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशिला भएको" बताएका छन्।

    दाहालले सञ्चारकर्मीसँग भने, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वाभाविक हो भनेर मान्नुपर्छ। यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो।”

  11. राणाकालमा यसरी गराइएको थियो नेपालकै पहिलो स्थानीय चुनाव

  12. केही स्थानमा 'विवाद र स्थगन'पछि फेरि मतदान सुरु: प्रहरी

    नेपाल प्रहरीले देशका विभिन्न ११ मतदान स्थानमा "विवाद र स्थगन"पछि पुन: मतदान कार्य सुरु भएको जनाएको छ।

    केही स्थानमा गत रातिदेखि नै विवाद भएको तथा कतिपयमा मतदान सुरु भएपछि विवाद र झडपहरू भएको प्रहरीको भनाइ छ।

    "त्यस्ता विवाद भएका लगभग सबैजसो ठाउँमा अहिले मतदान पुन: सुरु भएको छ," नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले भने।

    "एघार स्थानमा मतदानका क्रममा विवाद र केही स्थानमा झडप पनि भएका थिए। तर अहिले मतदान सुरु भइसक्यो।"

    उनका अनुसार ओखलढुङ्गा, बारा, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, बागलुङ, बाजुरा, हुम्लालगायतका जिल्लामा त्यस्ता विवाद उत्पन्न भएका थिए।

    विशेषगरी ठूला दलका कार्यकर्ताबीच विवाद हुँदा केही स्थानमा अवस्थालाई नियन्त्रणमा लिन "हवाई फायर" समेत गर्नुपरेको उनले जानकारी दिए।

    यद्यपि हालसम्म विवाद भएका स्थानहरूमा समेत मानवीय क्षति नभएको उनको भनाइ छ।

    "त्यस्ता केही छिटपुट घटनाबाहेक अहिलेसम्म सबैतिर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ," उनले भने।

  13. मतदान गरेपछि मतदाता के भन्छन्?

  14. बाराको एउटा केन्द्रमा केहीबेर स्थगित भएर पुन: मतदान सुरु

    बाराको देवताल गाउँपालिकाको पिपरपाती मतदान केन्द्रमा केहीबेर स्थगित भएर मतदान पुन: सुरु भएको उक्त जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताएका छन्।

    उनका अनुसार दुईवटा ठूला दलका कार्यकर्ताबीच विवाद हुँदा त्यहाँ केहीबेर मतदान स्थगित भएको थियो।

    उक्त गाउँपालिकाका निर्वाचन अधिकृत सुदर्शन ढकालले २५ मत खसेपछि विवाद भएर मतदान स्थगित गरिएको जनाएका थिए।

    तर सुरक्षा निकाय र स्थानीय प्रशासनका प्रमुखहरूले सहजीकरण गरेर पुन: मतदान सुरु गराएको बताएका छन्।

    मतदानमा अवरोध नहोस् भनेर उक्त क्षेत्रमा तीनै सुरक्षा निकायका सुरक्षाकर्मीहरूले सुरक्षा दिइरहेको बताइएको छ।

  15. कस्तो अवस्थामा मतदान रद्द हुन सक्छ?

  16. तनावपछि बाराको एउटा केन्द्रमा मतदान स्थगित

    बाराको देवताल गाउँपालिकाको वडा नम्बर-७ स्थित पिपरपाटी मतदान केन्द्रमा दुई पक्षबीच विवाद भएपछि मतदान स्थगित भएको उक्त गाउँपालिकाका निर्वाचन अधिकृतले बताएका छन्।

    "२५ मत खसेपछि त्यहाँ दुई पक्षका उम्मेदवार र प्रतिनिधिबीच विवाद र हात हालाहालको स्थिति बनेको रहेछ," निर्वाचन अधिकृत सुदर्शन ढकालले भने।

    "केही व्यक्तिहरू घाइते पनि बनेपछि अहिलेलाई मतदान स्थगित भएको छ। प्रमुख जिल्ला अधिकारीसहित आयोगका अधिकारीहरू पनि उपस्थित भएर मतदान पुन: गराउन पहल भइरहेको छ।"

    उनका अनुसार उक्त स्थानमा तीनै तहका सुरक्षाकर्मीहरूले अहिले स्थिति नियन्त्रणमा लिइसकेका छन्।

  17. मधेश प्रदेशमा मतदान

    मधेश प्रदेशका विभिन्न स्थानमा पनि शान्तिपूर्ण रूपमा मतदान जारी रहेको हाम्रा संवाददाताहरूले जनाएका छन्।

    उक्त प्रदेशमा गाउँगाउँमा रहेका मतदानस्थलमा मतदाताहरू लामो लाइन लागेर आफ्नो पालो कुरिरहेको वीरगञ्जस्थित बीबीसी संवाददाता माधुरी महतोले जनाएकी छन्।

    मधेश प्रदेशमा जारी मतदानका केही तस्बिरहरू:

  18. मतदानमा जेष्ठ नागरिकहरूको उत्साहजनक सहभागिता

    स्थानीय तह निर्वाचनमा देशका विभिन्न भागमा जेष्ठ नागरिकहरूले पनि मतदानमा उत्साहजनक सहभागिता जनाएको देखिएको राससले जनाएको छ।

    राजधानी काठमाण्डूसहित देशका विभिन्न स्थानका मतदान केन्द्रमा वृद्ध अवस्थाका मतदाताले स्वयम् उपस्थित भएर तथा कतिपयले परिवारका सदस्यको सहायतामा मतदान गरेका छन्।

    राससका अनुसार बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालय मतदान केन्द्रमा ९७ वर्षीया नन्दकली केसीले मत खसालेकी छन्।

    त्यस्तै झापास्थित हाम्रा संवाददाता उमाकान्त खनालका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर-३ मा ९३ वर्षीया पार्वती मिश्रले मतदान गरेकी छन्।

    त्यस्तै अन्य क्षेत्रमा पनि जेष्ठ नागरिकहरूले उल्लेख्य सङ्ख्यामा मतदान गरेको राससले जनाएको छ।

  19. नङमा रङ्ग किन?

    निर्वाचनमा मतदान गरिसकेपछि मतदाताको हातको नङमा लगाउने रङ्ग कस्तो हो र कति समय रहन्छ भन्ने लगायत केही प्रश्नको जवाफ हामीले यहाँ समेटेका छौँ।

  20. 'जित्नेले बूढाबूढीका लागि राम्रो काम गरून्'

    काठमाण्डू उपत्यकाभित्रका विभिन्न मतदान केन्द्रमा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ।

    ललितपुर र काठमाण्डू जिल्लाका कतिपय मतदानस्थलमा पुगेका हाम्रा संवाददाता कमल परियारका अनुसार 'पहिलो पटक मत हाल्ने युवादेखि वृद्धवृद्धासम्ममा' उत्साह देखिएको छ।

    काठमाण्डू महानगरपालिका वडा नम्बर- १० स्थित बानेश्वरको एउटा मतदान केन्द्रमा उक्त वडा निवासी ९२ वर्षीय यज्ञमूर्ति कँडेलले पहिलो मत खसालेका छन्।

    मतदानपछि उनले बीबीसीसँग भने, "म २०१५ सालदेखिका सबै चुनावमा भोट हाल्दै आएको छु। त्यसैले लामो मतपत्र भए पनि सजिलै लाग्यो।"

    "आफ्नो ठाउँका लागि चुनिएर आउनेहरूले बूढाबूढीका लागि राम्रो काम गरून् भन्ने अपेक्षा छ।"