तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

स्थानीय तह निर्वाचनः अधिकांश स्थानमा मतदान सम्पन्न, 'झन्डै ६४ प्रतिशत मत खस्यो'

नेपालमा आज देशका ७५३ स्थानीय तहका लागि भएको निर्वाचनमा एक करोड ७७ लाखभन्दा बढी मतदाता थिए।

लाइभ कभरेज

  1. स्थानीय तह निर्वाचनबारे जानकारी दिन प्रकाशित आजको यो लाइभ पेजबाट अब हामी बिदा चाहन्छौँ।ताजा र आधिकारिक जानकारीका लागि बीबीसी न्यूज नेपाली हेर्दै गर्नुहोला।शुभरात्रि।

  2. मतदान सकियो, मतगणनाको तयारी, प्रधानमन्त्री र ओलीको धन्यवाद

    • नेपाल सङ्घीय संरचनामा गएपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
    • देशभरका ७५३ स्थानीय तह मध्ये केही स्थानमा झडप र विवादका कारण मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ।
    • मतदान सकिएका धेरै स्थानमा मतगणना सुरु गर्ने तयारी भइरहेको छ।
    • केही स्थानमा आज साँझबाट नै मतगणना सुरु भएको छ।
    • विवादका कारण दिउँसो मतदान स्थगित भएका कतिपय स्थानमा शुक्रवार करिब ८ बजेसम्म पनि मतदान चलेको थियो।
    • केही स्थानको मतगणना भने शनिवार बिहानबाट मात्रै सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन्।
    • मतदान स्थगित भएका स्थानमा छिट्टै पुनः मतदानको व्यवस्था मिलाइने आयोगले जनाएको छ।
    • राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचन अपेक्षाकृत रूपमा शान्तिपूर्ण हुन नसकेको जनाएको छ।

    यसैबीच प्रधानमन्त्री शेर बहादुर देउवाले उत्साहपूर्ण रूपमा स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्।

    कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गर्दै “जनताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको” देउवाले उल्लेख गरेका जनाएको छ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही मतदान केन्द्रहरूमा “स्वतन्त्र निर्वाचन विरुद्धका घटना” भएको भन्दै सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

    “अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद भन्न चाहन्छु,” ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

  3. चितवनमा शान्तिपूर्ण मतदान, ईश्वर जोशी, चितवन

    स्थानीय तहको निर्वाचन चितवनमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

    चितवनका एक महानगर, पाँच नगरपालिका र एक गाउँपालिकामा आज बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान भएको थियो।

    चितवनमा १६१ मतदानस्थल र ४५१ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताएका छन्।

    चितवनमा ३,९७,६८५ मतदाता रहेकोमा झन्डै ६५ देखि ७० प्रतिशतको हाराहारी मत खसेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ।

    निर्वाचन अवधिभरि कुनै पनि अप्रिय घटना नघटेको र सबै मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान भएको छ। मतदान सम्पन्न भएपछि सबै मतदानस्थलबाट मतपेटिकाहरू आजै चितवन प्रदर्शनी केन्द्रमा ल्याएर आजैबाट मतगणना गरिने सूचना अधिकारी पौडेलले बताएका छन्।

    आज साँझमै मतपेटिकाहरू गणनास्थलमा आउने क्रम सुरु हुने उनले बताए। अन्य पाँच नगरपालिका र एउटा गाउँ पालिकाको मतगणना तिनै पालिकाहरूमा हुने बताइएको छ।

  4. 'पाँच दिनभित्र मतगणना सकिने, दलका प्रतिनिधिले मतपत्र छुन नपाउने'

  5. अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा कम मतदान

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले योग्य मतदातामध्ये करिब ६४ प्रतिशतले स्थानीय तह निर्वाचनमा मतदान गरेको प्रारम्भिक अनुमान गरिएको बताएका छन्।

    शुक्रवार पत्रकार सम्मेलन गर्दै थपलियाले अघिल्लो स्थानीय तह निर्वाचन भन्दा कम मतदान भएको जानकारी दिए।

    “६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ, आयोगले अपेक्षा गरे अनुसार प्रारम्भिक मतदान भएन कि भन्ने लागेको छ,” उनले भने।

    विसं २०७४ सालमा सङ्घीय संरचना कार्यान्वयनमा आएपछि भएको पहिलो स्थानीय तह निर्वाचनमा ७४ प्रतिशत बढीले मतदान गरेका थिए।

    तर त्यसपछिको संसदीय निर्वाचनमा ७० प्रतिशत भन्दा कम मतदान भएको थियो।

    आयोगले धेरै मतदाता भएका स्थानमै काम मतदान भएका कारण यो स्थानीय तह निर्वाचनमा अनुमान गरिएभन्दा कम मत खसेको जनाएको छ। आयोगले काठमाण्डूमा ५२ प्रतिशत मात्रै मत खसेको जनाएको छ।

    “धेरै मतदाता भएको स्थानमा कम मतदान हुने बित्तिकै थोरै मतदाता भएका स्थानमा बढी मतदान भए पनि समग्रमा कम मतदान भएको देखिन्छ,” थपलियाले भने।

    आयोगले देशभरका ७५३ स्थानीय तह मध्ये अधिकांश स्थानमा मतदान शान्तिपूर्ण भए पनि केही स्थानमा झडप र विवादका कारण मतदान स्थगित भएको जनाएको छ।

    शुक्रवार करिब ८ बजेसम्म पनि कतिपय स्थानमा मतदान कार्य जारी रहेको जनाइएको छ।

    केही स्थानीय तहमा मात्रै शुक्रवार रातीबाट मतगणना प्रारम्भ गर्ने र केही अन्य स्थानीय तहमा शनिवार बिहानबाट मात्रै मतगणना सुरु हुने प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

  6. पहिलो पटक भोट गर्दा नागरिक भएको महसुस

    जीवनमा पहिलो पटक मतदान गर्न पाउँदा बल्ल आफूलाई नागरिक भएको महसुस भएको केही युवायुवतीले बताएका छन्।

  7. साँझ ७ बजेबाट उपत्यकामा सवारी आवागमन खुल्ने

    ट्राफिक प्रहरी महाशाखाले साँझ ७ बजेपछि काठमाण्डू उपत्यकामा सवारी साधन आवागमन खुल्ला हुने जनाएको छ।

    महाशाखाका प्रहरी नायब उपरीक्षक बालनरसिंह रानाले साँझ ७ बजेपछि यातायात आवागमनमा रोक नलगाइने जानकारी दिए।

    निर्वाचन आयोगले शुक्रवार बिहानैबाट मतदान नसकिएसम्म देशभरि निर्वाचन प्रयोजन र अत्यावश्यकबाहेक अरू सवारीको आवागमनमा रोक लगाएको थियो।

    मतदानकेन्द्रहरूमा साँझ ५ बजेपछि पनि लाइन बाँकी नै रहेकाले ७ बजेबाट मात्र यातायात खुलाइने रानाले जानकारी दिए।

    साँझ ५ बजेबाट मतदानको समय सकिए पनि मतदान केन्द्रभित्र लाइनमा बसेकाहरूले मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।

  8. तस्बिरमा देशका विभिन्न स्थानको माहौल

    स्थानीय तह निर्वाचनमा आज देशैभर उत्साहजनक रूपमा सर्वसाधारणले भाग लिएको निर्वाचन आयोगले जनाएको छ।

    बिहान ७ बजे सुरु भएको मतदान सम्पन्न हुने निर्धारित समय साँझ ५ बजे तोकिएको छ। तर मतदान स्थलमा प्रवेश गरिसकेका मतदाताले भने त्यसपछि पनि मतदान गर्न पाउने बताइएको छ।

    अपराह्ण ४ बजेसम्म ५५ प्रतिशत मतदाताले मत दिएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ।

  9. सकीनसकी किन भोट?

    आज भएको निर्वाचनमा अपाङ्गता भएका व्यक्ति तथा वृद्धवृद्धाहरूले पनि मतदान गरेका छन्। आफू अशक्त भए पनि उनीहरू किन मत हाल्न गए त? हेर्नुहोस् यो भिडिओ।

  10. अपराह्ण ४ बजेसम्म ५५ प्रतिशत मतदान

    स्थानीय तहको निर्वाचनमा अपराह्ण ४ बजेसम्म ५५ प्रतिशत मतदाताले मत दिएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले समाजिक सञ्जालमार्फत् यस्तो जानकारी दिएका हुन्।

    कुल ७५३ स्थानीय तहमा जनप्रतिनिधि चयन गर्नका लागि भइरहेको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ भन्दा बढी मतदाता छन्।

  11. झापामा साढे चार बजेसम्म ६० प्रतिशत मतदान

    स्थानीय तह निर्वाचनका लागि भएको मतदान अन्तर्गत झापामा अपरान्ह ४: ३० बजेसम्म ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।

    कार्यालयका प्रमुख तुलसी नेपालका अनुसार झापामा ६८४ पदको लागि मतदान भइरहेको छ।

    नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ।

    झापामा २८६ वटा मतदान स्थल र ७५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।

  12. मतदान स्थलबारे मतदाताको गुनासो: जोखिमपूर्ण भौतिक संरचनादेखि झरीमा रुझ्नु पर्ने अवस्था

  13. पूर्वप्रधानमन्त्री भट्टराईलाई निर्वाचन आयोगको २४ घण्टे स्पष्टीकरण

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनका क्रममा मतदान गर्ने क्रममा मत सङ्केत गरेको मतपत्र सार्वजनिक गरेको भन्दै २४ घण्टात्र स्पष्टीकरण दिन भनेको छ।

    आयोगले उक्त कदमलाई निर्वाचन (कसुर तथा सजाय) ऐनको दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसुरबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    कस्तो कारबाही?

    उक्त दफामा मतपत्रमा मत सङ्केत गरेपछि कसैलाई देखाउन, प्रदर्शन गर्न वा गोप्य स्थलबाहिर गएर मतदान गर्न सङ्केत गर्न प्रतिबन्ध लगाइएको छ।

    त्यस्तो कार्य गर्ने व्यक्तिलाई १५,००० रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।

    मतपत्र खसालिनसकेको अवस्थामा त्यसलाई छुट्टै खाममा सिलबन्दी गरेर राख्नुपर्ने र गणना गर्न नहुने कानुनी व्यवस्था छ।

    मत खसालेपछि भट्टराईले सामाजिक सञ्जालमा राखेको तस्बिर हाल उनको आधिकारिक खाताबाट हटाइएको पाइएको छ।

    तर सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको भन्दै आफ्नो प्रतिरक्षा गरेका गरेका छन्।

  14. बाँकेमा मतदान गर्न जानेमध्ये 'महिला बढी', विमला चौधरी, नेपालगञ्ज

    बाँकेमा स्थानीय तहको निर्वाचनको मतदान शान्तिपूर्ण तरिकाले सञ्चालन भइरहेको अधिकारीहरूले बताएका छन्।

    जिल्लाका आठवटै स्थानीय तहका लागि १३६ मतदानकेन्द्र र ३७९ मतदानस्थलमा निर्धारित समयमै मतदान सुरु भएको र हालसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन्।

    उनले दिउँसो ३ बजेसम्म हरेक मतदान केन्द्रमा २,००० भन्दा बढी मतदाताले मतदान गरेको आफूले अनुगमनको क्रममा थाहा पाएको जानकारी दिए।

    उनले बाँकेका सबै स्थानीय तहमा मतदाताहरू शान्तिपूर्ण वातावरणमा मतदानस्थलसम्म जाने क्रम जारी रहेको बताए।

    यसैबीच बाँकेका सबैजसो मतदान केन्द्रमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी देखिएको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन्।

    मतदान गर्न जानेमध्ये महिला र वृद्ध पुरुषको सहभागिता बढी देखिएको छ।

  15. मतदानकै दिन विस्फोट, अनुसन्धान गर्दै सरकार

    स्थानीय तह निर्वाचनको दिन कतिपय स्थानमा विस्फोट भएका विवरणहरू आएका छन्।

    काठमाण्डूको शान्तिनगरस्थित सडकमा शुक्रवार सबेरै एउटा सिलिन्डर बम विस्फोट भएको थियो।

    दाङमा एक उम्मेदवारको घरमा पनि विस्फोट भएको विवरण आएका छन्।

    गृह मन्त्रालयका प्रवक्ता टेकनारायण पाण्डेले पूर्वमा पनि विस्फोट भएको सूचना आएको जानकारी दिए।

    विस्फोटमा संलग्न समूहबारे अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ।

    "विस्फोट राजनीतिकभन्दा पनि आपराधिक समूहले गराएको हुनसक्ने हाम्रो अनुमान छ। कतिपय स्थानमा राजनीतिक समूह पनि संलग्न भएका सूचना आएका छन्," उनले भने।

  16. कर्णालीका १० वटा स्थानमा विवाद, कतै वर्षाका कारण मतदान रोकियो, कृष्णमाया उपाध्याय, जुम्ला

    कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेत जिल्लामा पानी परेको हुनाले पूर्ण रूपमा मतदान कार्य रोकिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।

    सर्वदलीय बैठक बसेर अघि बढ्ने उपायबारे छलफल भइरहेको कर्णाली प्रदेश प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए।

    उनका अनुसार कर्णालीको अन्य जिल्लाका विभिन्न स्थान गरी १० वटा ठाउँमा विवाद भएको छ।

    कालीकोट जिल्लाको रासकोट नगरपालिका, नरहरिनाथ गाउँपालिकाको एउटा मतदानस्थल, दैलेख, हुम्लाको चङ्खेली गाउँपालिका र खार्पुनाथ गाउँपालिका, रुकुमपश्चिम तथा जुम्लाको एउटा मतदान केन्द्र गरेर १० वटा स्थानमा विवाद भएको उनले बताएका छन्।

    जुम्लाको गुठीचौर गाउँपालिकाको वडा नम्बर ३ गज्याङ्कोटस्थित शङ्कर बहुउद्देश्यीय माध्यमिक विद्यालयको मतदानस्थलमा नेपाली कांग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ।

    दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा मतदाताले मतदाता परिचयपत्र च्यातेपछि केही समयको लागि मतदान कार्य रोकिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिएकी छन्।

  17. कुनै पनि केन्द्रमा मतदान 'स्थगित भएको छैन'

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा हालसम्म मतदान स्थगित नभएको बताएका छन्।

    उनले ट्वीट गर्दै भनेका छन्-" केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर चालु हुने क्रम जारी छ। कुनै पनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन।"

  18. शीर्ष नेताहरूले पनि गरे मतदान

    आज शुक्रवार देशैभरि स्थानीय तह निर्वाचनका लागि मतदान भइरहेको छ।

    निर्वाचन आयोगका अनुसार देशका विभिन्न स्थानमा उत्साहपूर्ण रूपमा मतदान भइरहेको छ। अपराह्ण २ बजेसम्म करिब ४१ प्रतिशत मतदाताले मतदान गरिसकेको आयोगले जनाएको छ।

    शीर्षस्थ नेताहरूले पनि आआफ्नो मतदान केन्द्रमा पुगेर मत हालेका छन्।

  19. लाम लागेर मतदान

  20. दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान

    निर्वाचन आयोगले अपराह्ण २ बजेसम्म करिब ४१ प्रतिशत मतदाताले मतदान गरिसकेको जनाएको छ।

    बिहान ७ बजेदेखि २ बजेसम्म छिटपुट घटनाबाहेक उत्साहजनक मतदान भइरहेको आयोगले जनाएको छ।

    निर्वाचन आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानकेन्द्रहरूमा सामान्य विवादका कारण मतदान अवरुद्ध भएको तर फेरि सञ्चालन गराउने प्रयास भइरहेको यसअघि जनाएको थियो।