माओवादी कार्यकर्ताले खुकुरी प्रहार गरेको कांग्रेसको आरोप, माधव नेपाल, बुटवल

तस्बिर स्रोत, Madhav Nepal/BBC
स्थानीय तह निर्वाचनका लागि देशका अधिकांश स्थानमा गठबन्धन गरेको भए पनि रोल्पा जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूबीच तिक्तता उत्पन्न भएको छ।
रोल्पा जिल्लाको गङ्गादेव गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपमा दुई जना घाइते भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ।घटनास्थल सदरमुकाम लिबाङबाट पश्चिममा पर्छ।
“सुरक्षा सतर्कताबीच नै गए राति गङ्गादेवमा यस्तो घटना भएको खबर आएको छ। त्यहाँ अहिले जिल्ला प्रहरी प्रमुखकै नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ,” प्रशासन कार्यालयका सूचना अधिकारी श्रीनाथ पौडेलले बीबीसीसँग भने।
घाइते भएका दुवै जना नेपाली कांग्रेसका कार्यकर्ता रहेको बताइएको छ। उनीहरूमध्ये एक जनाको दाङमा र अर्काको नेपालगन्जमा उपचार भइरहेको प्रशासनले बताएको छ।
उनीहरूमाथि खुकुरी प्रहार भएको बताइन्छ।
“चुनावी प्रचारका लागि पाखापानी भन्ने ठाउमा आउँदै गरेका माओवादी कार्यकर्तालाई कांग्रेसका कार्यकर्ताहरूले रोक्न खोजेपछि झडप भएको हो,” स्थानीय माओवादी कार्यकर्ता अशोक वलीले दाबी गरे।
झडपमा माओवादीका केही कार्यकर्ता पनि सामान्य घाइते भएको उनको भनाइ छ।
नेपाली कांग्रेसले भने हिँडिरहेका कार्यकर्तामाथि माओवादीले आक्रमण गरेको बताएको छ।
कांग्रेसका जिल्ला सभापति किशोर आचार्यले भने, “यो माओवादीको सुनियोजित आक्रमण हो।“
सुरक्षाको हिसाबले संवेदनशील मानिने रोल्पामा यो चुनावका क्रममा यस्तै प्रकारका अरू दुईवटा घटना भएको पनि प्रशासनले जनाएको छ।
सूचना अधिकारी श्रीनाथ पौडेलका अनुसार माडी र परिवर्तन गाउँपालिकामा झडप हुँदा माडीका एक उम्मेदवार पनि घाइते भएका छन्।




