रुसी आक्रमणले सर्वसाधारण निकास कार्य अवरुद्ध भएको युक्रेनको दाबी

रुसले मारिऊपोल, खार्किभ र अन्य प्रमुख सहरहरूमा निकास मार्ग प्रस्ताव गरेको भए पनि ती ठाउँहरूमा बम आक्रमण जारी रहेको युक्रेनी अधिकारीहरूले बताए।

लाइभ कभरेज

  1. तेलको म‍ूल्य १३ वर्षमा सबैभन्दा बढी

    तेल खानी

    तस्बिर स्रोत, Getty Images

    संयुक्त राज्य अमेरिकाले रुसबाट हुने तेल आपूर्तिमा प्रतिबन्ध लगाउने विषयमा छलफल भइरहेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको छ।

    एशियाको बजारमा कच्चा तेलको बेन्चमार्क 'ब्रेन्ट क्रूड' बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो। तर पछि १३० डलरभन्दा कममा आइपुग्यो।

    एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।

    रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने डरले इन्धनको बजार प्रभावित भएको छ।

    पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन्।

  2. ‘रुसले सिरियाली भाडाका लडाकु भर्ती गर्दै’

    भाडाका लडाकु

    तस्बिर स्रोत, Getty Images

    मस्कोले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएको छ।

    युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन्।

    तर उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन्।

    युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन्।

  3. किएभमा पूर्ण क्षमतामा आक्रमण गर्ने रुसको तयारी : युक्रेन

    युक्रेनी रक्षा अधिकारीहरूले रुसले पूर्ण क्षमतामा राजधानी किएभ माथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन्।

    युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जमा गर्न थालेको छ।

    त्यसको तयारी स्वरूप किएभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बताइएको छ।

    सेनाले दिएको सूचना अनुसार रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेका छन्।

    सेना

    तस्बिर स्रोत, Getty Images

  4. रुसमा पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या १३ हजार नाघ्यो

    प्रदर्शन

    तस्बिर स्रोत, Reuters

    रुसभरि युद्धविरोधी प्रदर्शनहरू जारी रहँदा पक्राउ पर्ने मानिसहरूको सङ्ख्या पनि बढ्दो छ।

    रुसी गैरसरकारी संस्था ओभीडी इन्फोका अनुसार ६४ वटा शहरमा आइतवार पक्राउ पर्ने प्रदर्शनकारीको सङ्ख्या ४,६३१ पुगेको छ।

    रुसले युक्रेनमाथि अतिक्रमण गरेयता पक्राउ पर्ने मानिसको सङ्ख्या १३,०२८ पुगेको ओभीडीले जनाएको छ।

    हाल जेलमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रखर आलोचक एलेक्सी नभाल्नीले अतिक्रमणविरुद्ध रुस, बेलारुस र अन्यत्र पनि दिनहुँ प्रदर्शन गर्न आह्वान गरेका छन्।

  5. युक्रेनमा मानवीय सङ्कट गहिरिँदै

    रुसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहँदा मानवीय सङ्कट गहिरिँदै छ।

    फसेका मानिसहरू हातमुख जोड्न नसक्ने वा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ।

    आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजेकै केही सर्वसाधारण रुसी गोलाबारीमा मारिएका विवरणबीच ज्यान गुमाउने सर्वसाधारणको सङ्ख्या बढ्दै गएको छ। थप यो लिङ्कमा

  6. रुसी फौज फसेका छन्- यूके

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

    यूकेका रक्षा अधिकारीहरूले गत ४८ घण्टामा रुसी फौजले न्यून सफलता हासिल गरेकोमा उनीहरू विश्वस्त रहेको बताएका छन्।

    उनीहरूका भनाइमा रुसी सैनिकहरू कडा युक्रेनी प्रतिरोध र कमजोर बन्दोबस्ती आपूर्तिबीच फस्न पुगेका छन्।

    रक्षा मन्त्रालयले प्रकाशित गर्ने दैनिक गुप्तचर प्रतिवेदनमा अधिकारीहरूले भनेका छन्, “रुसले आजसम्म आफ्नो योजनाबद्ध उद्देश्यहरू हासिल गरेको छ भन्ने अत्यन्तै असम्भव छ।”

    तर उक्त प्रतिवेदनमा गत २४ घण्टामा युक्रेनी क्षेत्रमा व्यापक मात्रामा रुसी हवाई हमला र गोलाबारी जारी रहेको जनाइएको छ।

    त्यस्ता हमला सैन्य र सर्वसाधारण नागरिक दुवै लक्षित देखिएको यूकेको भनाइ छ।

  7. युद्धका कारण तेलको मूल्यमा व्यापक वृद्धि

    कच्चा तेल

    तस्बिर स्रोत, Getty Images

    संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल १३८ डलर पुगेको छ।

    विवरणहरूमा जनाइएअनुसार तेलको मूल्य हालसम्मकै उच्च पुग्ने दिशामा उन्मुख छ।

    युक्रेनमा जारी लडाइँ तत्काल रोकिने कुनै सम्भावना नदेखिएको पृष्ठभूमिमा धातुका साथै गहुँ, मकै लगायत वस्तुको मूल्यमा पनि व्यापक वृद्धि भएको छ।

  8. युक्रेनी परमाणु केन्द्रलाई लिएर राष्ट्रसङ्घीय निकायको चिन्ता

    जोपोरिज्या परमाणु ऊर्जा केन्द्र

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, जोपोरिज्या परमाणु ऊर्जा केन्द्र

    परमाणु ऊर्जा नियमनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले युक्रेनी परमाणु केन्द्र तथा त्यसका पर्यवेक्षकहरू रुसी नियन्त्रणमा रहेकाबारे गम्भीर चासो व्यक्त गरेका छन्।

    आईएईएका प्रमुख रफाएल ग्रोसीका अनुसार युक्रेनी निकायलाई जोपोरिज्या परमाणु ऊर्जा केन्द्रका आफ्ना कर्मचारीहरूसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ।

    रुसी फौजले मोबाइल नेटवर्क र इन्टरनेट काटिदिएपछि भरपर्दो सूचना आउन नसकेको उनले बताएका छन्।

    फ्रेन्च राष्ट्रपतिसँग कुराकानीका क्रममा रुसी राष्ट्रपतिले युक्रेनी परमाणु ऊर्जा केन्द्रहरूमाथि हमला गर्ने कुनै मनशाय नरहेको बताएका छन्।

  9. फ्रेन्च राष्ट्रपतिद्वारा युक्रेनको तनाव मत्थर पार्ने प्रयास

    एमानुएल माक्रोँ

    तस्बिर स्रोत, Reuters

    फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले तनाव मत्थर पार्ने र घेराबन्दीमा रहेका युक्रेनी शहरमा मानवीय सहायता पुर्‍याउन दिने प्रयासमा रुसी एवं युक्रेनी नेताहरूसँग कुराकानी गरेका छन्।

    कुराकानीका क्रममा पुटिनले अतिक्रतमण वा वार्तामार्फत्‌ आफूले युक्रेनमा आफ्ना लक्ष्यहरू हासिल गर्न चाहेको माक्रोँलाई भनेको उनको कार्यालयस्थित अधिकारीहरूले बताएका छन्।

    युक्रेनी परमाणु केन्द्रहरूको सुरक्षा सुनिश्चितताबारे माक्रोँले चासो राख्दा पुटिनले तिनीहरूमाथि हमला गर्ने कुनै मनशाय नरहेको बताएका थिए।

    युक्रेनमा सर्वसाधारणमाथि जानाजान आक्रमण भइरहेको विषयमा वाशिङ्गटनले विश्वसनीय प्रमाणहरू सङ्कलन गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताएका छन्।

  10. रुसी फौजले प्रतिक्रारको सामना गर्दैः अमेरिका

    युक्रेन

    तस्बिर स्रोत, EPA

    रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहे पनि युक्रेनी सैनिकहरूले अझै प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूले जनाएका छन्।

    अमेरिकी सैन्य स्रोतका अनुसार मस्कोले युक्रेनी हवाई क्षेत्रमा अझै पूर्ण नियन्त्रण कायम गर्न नसकेको र किएभतर्फ बढ्न खोजेको रुसी फौजको विशाल लस्कर अझै रोकिएको अवस्थामा छ।

    अतिक्रमणअघि जम्मा भएका रुसी फौजमध्ये ९५ प्रतिशत लडाइँमा जुटिसकेको अमेरिकी रक्षा अधिकारीहरूको विश्वास छ।

    अमेरिकी कङ्ग्रेसले युक्रेनका लागि १० अर्ब डलर बराबरको सैन्य र मानवीय सहायतालाई छिट्टै अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

  11. लाइभ पेजमा स्वागत छ

    शुभप्रभात!

    रुसले युक्रेनमाथि अतिक्रमण गरेयता हामीले महत्त्वपूर्ण घटनाक्रमबारे निरन्तर अद्यावधिक गर्दै आएका छौँ।

    आज दिनभरि पनि हामीले ताजा विवरणहरू प्रकाशित गरिरहनेछौँ।

    कृपया हामीसँगै रहनुहोला।