युक्रेनमाथि रुसद्वारा आक्रमणः यूके, ईयू र अन्य पश्चिमा राष्ट्रले गरे निन्दा तर सेना नपठाउने

राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरेको छ।

लाइभ कभरेज

  1. रुसले युक्रेनमा के केलाई निशाना बनाइरहेको छ?

    आफूले गरिरहेको “विशेष कारबाही”बारे बोल्दै युक्रेनी शहरमाथि हमला गरेको कुरा रुसले अस्वीकार गरेको छ।

    सैनिक पूर्वाधार,हवाई प्रतिरक्षा र हवाई फौजलाई “अचुक निशाना हान्ने अस्त्रहरू”बाट प्रहार गरिरहेको रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था रीआले जनाएको छ।

    यसअघि युक्रेनी राष्ट्रपतिले रुसले क्षेप्यास्त्र हमला गरेको बताएका थिए।

  2. रुसले क्षेप्यास्त्र हमला गर्‍योः युक्रेन

    समाचार संस्था रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि रुसले क्षेप्यास्त्र हमला गरेको पुष्टि गरेका छन्।

    युक्रेनी पूर्वाधार तथा सीमा सुरक्षा बलमाथि क्षेप्यास्त्र हमला गरिएको उनले बताए।

    रुसी पक्षबाट त्यस विषयमा कुनै प्रतिक्रिया आइसकेको छैन।

    यसअघि रुसी राष्ट्रपतिले युक्रेनमाथि कब्जा गर्ने कुनै योजना नरहेको बताएका थिए।

    युक्रेन

    तस्बिर स्रोत, Getty Images

  3. रुसी कदमबाट अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनः नेटो

    उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव येन्स स्टोल्टनबेर्गले रुसको "गैरजिम्मेवार आक्रमण" भन्दै निन्दा गरेका छन्।

    सामाजिक सञ्जाल ट्विटरमा एउटा पोस्ट गर्दै उनले रुसी कदमले अनगिन्ती नागरिकको जीवनमा जोखिममा पारेको बताएका छन्।

    “यो अन्तर्राष्ट्रिय कानुनको चरम उल्लङ्घन हो र युरो-एट्लान्टिक सुरक्षामाथि गम्भीर खतरा हो,” उनले थपेका छन्।

    रुसले पुनः शुरू गरेको “आक्रामक व्यवहार”बारे नेटोका साझेदारहरूले छलफल गर्ने उनले बताए।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  4. युक्रेनी राष्ट्रपतिद्वारा सैन्य कानुन लागु गर्न आह्वान

    युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले उनको राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई सैन्य कानुन लागु गर्न भनेका छन्।

    त्यसबारे निर्णय गर्न उक्त परिषद्‍ले आकस्मिक बैठक बोलाउने अपेक्षा गरिएको छ।

  5. युक्रेन-रुस तनावः तेलको भाउ सात वर्षयताकै उच्च

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा “सैन्य कारबाही” घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सात वर्षयताकै उच्च बिन्दुमा पुगेको छ।

    तेलको मूल्य एक्कासी बढेर प्रतिब्यारल सय डलर पुगेको हो।

    जारी तनावको असर एशियाली शेअर बजारमा पनि देखिएको छ जहाँ व्यापारमा २ देखि ३ प्रतिशतले गिरावट आएको छ।

    बीबीसीका एशियाली व्यापार संवाददाताका अनुसार लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ लाग्न थालेका छन्।

    सुनको भाउ एक वर्षयताकै उच्च बिन्दुमा पुगेको छ भने अमेरिकी डलर र जापानी येन बलियो भइरहेका छन्।

  6. युक्रेनको राजधानीमा रहेका नेपाली भन्छन्- 'विस्फोटको आवाज सुनियो'

    युक्रेनको राजधानी किएभमा अध्ययनरत एकजना नेपाली विद्यार्थीले बिहीवार सबेरै आफूले तीनवटा विस्फोटनको आवाज सुनेको बताए।

    नेपालको पोखरा घर भएका लोकेश मगरले टेलिफोनमा बीबीसीसँग कुराकानी गर्दै भने, “यहाँ भर्खरै बिहान भएकाले हामी अपार्टमेन्टबाट बाहिर निस्केका छैनौँ तर हामीले तीनवटा ठूला विस्फोटनका आवाज सुन्यौँ।”

    “अब यहाँ ठूलो लडाइँ होला जस्तो छ, त्यसैले हाम्रो चाँडै उद्धार होस् भन्ने चाहेका छौँ।”

    हाल किएभमा रहेका लोकेश मगरले आफू त्रासमा बाँचिरहेको बताएका छन्

    तस्बिर स्रोत, LOKESH MAGAR

  7. युक्रेनमा यात्रुवाहक विमान उडाउन बन्द- अनुगमनकर्ता

    बिहीवार बिहान जारी गरिएको 'नोटिस टु एअरमेन' (नोटम) अनुसार युक्रेनको हवाई क्षेत्रमा यात्रुवाहक विमान उडाउन "नागरिक उड्डयनका लागि सम्भावित खतराका कारण प्रतिबन्धित छन्" भनिएको फ्लाइटरेडार डेटा ट्र्याकिङ वेबसाइटले जनाएको छ।

    थप विवरण भने तत्काल उपलब्ध भएको छैन।

    युक्रेनका अधिकारीहरूले यसबारे कुनै टिप्पणी गरेका छैनन्।

    यसैबीच धेरैवटा प्रमुख युक्रेनी विमानस्थलमा आगमन र प्रस्थान निर्धारित समयमै भइरहेको देखिएको छ।

    उडान

    तस्बिर स्रोत, Flightradar24

  8. युक्रेनमाथि कब्जा गर्ने योजना छैनः पुटिन

    टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमाथि कब्जा गर्ने “कुनै योजना नरहेको” बताएका छन्।

    “विशेष सैन्य कारबाही”को घोषणा गर्ने क्रममा उनले आफ्नो देश कसले चलाउँछ भन्ने “स्वतन्त्र रूपमा रोज्ने अधिकार युक्रेनी जनतालाई भएको” बताए।

    रुसले चालेको कदम “आत्मरक्षा” भएको पनि पुटिनले दाबी गरेका छन्।

    पुटिन

    तस्बिर स्रोत, Getty Images

  9. ‘युद्धमा मेरो देश’

    संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनका राजदूत सेर्गेई किजलिटाले राष्ट्रसङ्घका लागि रुसी राजदूतले आफ्ना राष्ट्रपतिले ‘मेरो देशमा युद्ध घोषणा गरेको’ पुष्टि गरेको बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

    युक्रेनको आन्तरिक मन्त्रालयले समाचार संस्था सीएनएनलाई भनेको छ: "हमला सुरु भएको छ।”

  10. सैन्य परिचालन रोक्न राष्ट्रसङ्घको आग्रह

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।

    राष्ट्रपति पुटिनले उनलाई "शान्तिको मौका दिन" आह्वान गरेका छन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  11. विश्वले रुसलाई जिम्मेवार ठहर्‍याउनेछ- बाइडन

    अमेरिकी राष्ट्रपति जो बाइडनले ‘रुसी सैन्य फौजको उक्साहटबिनाको र औचित्यहीन हमला’विरुद्ध बोलेका छन्।

    "पूरा विश्वको प्रार्थना यतिखेर युक्रेनका मानिसहरूसँग छ," उनले भने।

    "राष्ट्रपति पुटिनले दुर्भाग्यपूर्ण ढङ्गले मानवीय क्षति र पीडा निम्त्याउने योजनाबद्ध युद्ध रोजेका छन्।"

    आफूले ह्वाइट हाउसबाट अवस्थाको निगरानी गरिराखेको बताउँदै उनले जी-सेभेन नेताहरूसँग सबेरै भेटेर रुसमाथि ‘थप परिणामहरू’ घोषणा गरिने बताए।

    “यस हमलाका मृत्यु तथा क्षतिको लागि रुस एक्लै जिम्मेवार छ र अमेरिका र उसका साझेदारहरूले एकीकृत र निर्णायक ढङ्गले यसको जवाफ दिनेछन्। विश्वले रुसलाई जिम्मेवार ठहर्‍याउनेछ।”

  12. कियभमा पाँचदेखि छ वटा विस्फोटन : बीबीसी संवाददाता

    कियभस्थित बीबीसी संवाददाता पल एडम्सका अनुसार पाँचदेखि छ वटा विस्फोटनको आवाज सुनिएको छ।

    देशका अन्य विभिन्न भागहरूमा पनि विस्फोटन भइरहेका विवरण आएको उनले बताएका छन्।

  13. रुसद्वारा 'सैन्य कारबाही'को घोषणा

    रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ''सैन्य कारबाही''को घोषणा गरेका छन्।

    जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्।

    यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।

    राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ''झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको'' बताएका छन्।

    बिहीवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार त्याग्न आग्रह गरेका छन्। बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।

    दक्षिण पश्चिमी रुसमा पनि एउटा विस्फोटको आवाज सुनिएको विवरण आएको छ।