प्रधानमन्त्री नियुक्त हुन बहुमत सांसद आफूसँग रहेको ओली र देउवा दुवैको दाबी

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि शुक्रवार साँझसम्म दाबी गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि नेपालको राजनीतिमा नयाँ मोड आएको छ। शुक्रवार दिनभरिको राजनीतिक घटनाक्रमको ताजा जानकारी यो लाइभ पेजमा अपडेट हुनेछ।

लाइभ कभरेज

  1. संविधानको धारा ७६ मा के छ?

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिको लागि नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिक आह्वान गरेकी हुन्।

    नेपालको संविधानको धारा ७६ मा के लेखिएको छ त? सो धारा र त्यसका सबै उपधारा यस्तो छ:

    ७६. मन्त्रिपरिषदको गठनः

    (१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।

    (२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।

    (३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।

    (४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

    (५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ ।

    (६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

    (७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

    (८) यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।

    (९) राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।

    स्पष्टीकरणः यस भागको प्रयोजनका लागि “मन्त्री” भन्नाले उपप्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनु पर्छ ।

    (१०) प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र संघीय संसदप्रति उत्तरदायी हुनेछन् ।

  2. राष्ट्रपतिमाथि महाभियोग लगाऊः विवेकशील साझा पार्टी

    विवेकशील साझा पार्टीले राष्ट्रपतिमाथि महाभियोग लगाउन र नयाँ सरकार बनाउन आह्वान गरेको छ।

    शुक्रवार एउटा विज्ञप्ति निकाल्दै पार्टीले भनेको छः “देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाएर उनलाई पदमुक्त गर्दै संसद्‌मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एकजुट भई नयाँ सरकार गठनका लागि पहल गर्न विवेकशील साझा पार्टी आह्वान गर्दछ।”

    उसले “प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबाट संविधानमाथि शृङ्खलाबद्ध रूपमा भइरहेका प्रहारप्रति गम्भीर चिन्ता” व्यक्त गरेको छ।

    “नयाँ प्रधानमन्त्री नियुक्तिका लागिअघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको” आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छः “प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबरस्ट्याम्प सरह सदर गर्नु पूरापूर असंवैधानिक कदम हो।”

    विवेकशील साझा पार्टी

    तस्बिर स्रोत, BSP

  3. राजनीतिमा नयाँ मोड कसरी?

    बिहीवार तीन वटा प्रमुख घटनाले नेपाली राजनीतिमा नयाँ मोड ल्याएको हो।

    पहिलो: सर्वोच्च अदालतले मन्त्रिपरिषद्मा संलग्न माओवादी छोडेका कारण सांसद पद गुमाएका सात मन्त्रीहरूको नियुक्ति संविधानअनुकूल नभएको भन्दै अन्तरिम आदेश दिएको थियो।

    दोस्रो: रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा नेकपा-एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पराजित भए। उनी सर्वोच्चको निर्णयअघि मन्त्रिपरिषद्‌मा तेस्रो वरियतामा गृहमन्त्री रहेका थिए।

    र तेस्रो: राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न सांसदलाई नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम आह्वान गरिन्।

  4. प्रधानमन्त्री र राष्ट्रपतिको कदमबारे पत्रपत्रिकाले के लेखेका छन्

  5. नमस्कार! लाइभ पेजमा स्वागत छ

    नेपालको राजनीतिका आज शुक्रवार महत्त्वपूर्ण दिन हुने र राजनीतिक घटनाक्रमहरू तीव्र हुने देखिएको छ।

    हिजो मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ प्रधानमन्त्री नियुक्तिका लागि शुक्रवार बेलुकी ५ बजेसम्म दाबी प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि नेपालको राजनीतिमा नयाँ मोड आएको हो।

    आज दिनभरिका घटनाक्रमको समाचार र अपडेट हामी यो लाइभ पेजमा दिनेछौँ।