बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको हो।

लाइभ कभरेज

  1. कोभिडको औषधी खरिद जस्ता विषयमा सरकारलाई हिलो छ्याप्ने काम भयो: ओली

    प्रम ओली

    तस्बिर स्रोत, RSS

    विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीको साझा सङ्कटसँग जुध्न सहकार्य हुनुपर्ने औषधि खरिदजस्ता विषयमा नभएका ‘कनेक्सन’ लाई उछाल्ने प्रयास गरिएको बताए।

    उनले प्रधानमन्त्री र सरकारमाथि हिलो छ्याप्ने काम गरिएको भन्दै कोभिड नियन्त्रणसँग जोडिएको विषयमा भ्रष्टाचार भएको भए दोषीलाई कारबाही हुने बताए।

    उनले राष्ट्र र जनताको हितलाई छाडेर सरकारले अनुचित सम्झौता नगर्ने बताए।

    उनले भने, “कोभिड जस्तो औषधि खरिदमा भ्रष्टाचार उछाल्ने र नभएका कनेक्सन अनुचित ढङ्गले देखाउने क्रियाकलाप भयो।”

    सदनको आफूलाई समर्थन रहेको विश्वास भएकाले विश्वासको मत लिन संसद्मा उभिएको ओलीले बताए।

    राष्ट्रिय हित सम्वर्धन गर्ने र राष्ट्रिय स्वाभिमान माथि उठाउने कुरामा सरकारले कुनै कसर बाँकी नराखेको ओलीले बताए।

    उनको सम्बोधन अझै जारी छ।

  2. 'हाम्रो ध्यान जेमा केन्द्रित हुनुपर्थ्यो त्यसमा हुन सकेन'

    प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कारण जेसुकै भए पनि "हाम्रा गतिविधि र ध्यान जे कुरामा केन्द्रित हुनुपर्थ्यो त्यसमा हुन सकेन" भनेका छन्।

    सरकारले आफ्नो ध्यान कोभिड-१९ विरुद्धको सङ्घर्ष र विकासमा केन्द्रित गर्न चाहेको तर अप्ठेराहरू सामना गर्नुपरेको गुनासो गरे।

    कोभिड-१९ खोपको विषयमा भ्रष्टाचार भएको कुरा गरेर आफूमाथि हिलो छ्याप्ने काम भएको उनको भनाइ थियो।

    सरकार राष्ट्रिय हित र जनताको हितमा आफूले तलमाथि नगर्ने कुरा पटकपटक संसद्‌मा भनेको बताए।

  3. प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण, प्रत्यक्ष भिडिओ हेर्न प्ले बटन थिच्नुहोला।

    यो YouTube पोस्ट छोड्नुहोस्
    Google YouTube को सामग्रीलाई अनुमति छ?

    यो लेखमा Google YouTube बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Google YouTube cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन। YouTube का सामग्रीमा विज्ञापन हुन सक्छन्।

    YouTube पोस्ट समाप्त

    प्रतिनिधिसभाले गरेको प्रत्यक्ष प्रसारण। लिङ्क गरिएका अन्य बाहिरी वेबसाइटमा भएका सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

  4. नेपाल-खनाल पक्षका सांसदले मत नदिए कस्तो कारबाही?

      • Author, गनी अन्सारी
    केपी ओली

    तस्बिर स्रोत, RSS

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रियामा अनुपस्थित हुने माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले निर्णय गरेपछि उनीहरूमाथि गरिने कारबाहीबारे ओली पक्षले ‘पर्ख र हेर’को नीति लिएको देखिएको छ।

    ओली पक्षधर नेता एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले नेपाल-खनाल पक्षका सांसदहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा आफूहरू अझै आशावादी रहेको बीबीसी न्यूज नेपालीसित भने।

    “हिजो उहाँहरूले राजीनामा दिने कुरा थियो, तर आज बिहान उठ्दा राजीनामा नदिने कुरा आएछ। अहिले उहाँहरूले विश्वासको मत नदिने भन्नुभएको छ, तर उहाँहरूले मत दिनुहुन्छ भन्ने हामीलाई विश्वास छ,” भट्टराईले थपे।

    नेपाल-खनाल पक्षधर धेरै सांसदहरू प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पक्षमै रहेको उनले दाबी समेत गरे।

    तर नेपाल-खनाल पक्षका सांसदले पार्टी ह्विपको उल्लङ्घन गर्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिए तपाईँहरू के गर्नुहुन्छ भन्ने जिज्ञासामा भट्टराईले भने, “अहिले नै त्यसबारे नभनौँ किनकि उहाँहरूले मतदान गर्ने सम्भावना अझै बाँकी छ।”

    यसबारे नेपाल-खनाल पक्षका थुप्रै सांसदलाई फोन गर्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्।

    यसअघि उक्त पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन भन्दै आइतवार आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको थियो।

    प्रधानमन्त्री ओलीले पनि हतारमा निर्णय नगर्न र आफूलाई विश्वासको मत दिन भन्दै सोमवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत्‌ आग्रह गरेका थिए।

  5. प्रतिनिधिसभाको विशेष अधिवेशन सुरु

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ।

    सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएपछि राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र पढेर सुनाएका थिए।

    त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दोस्रो बैठक १५ मिनेटपछि सुरु हुने गरी पहिलो बैठक अन्त्य गरेका छन्।

    संसद् भवन

    तस्बिर स्रोत, RSS

  6. ओलीलाई मत नदिने माओवादी संसदीय दलको निर्णय

    माओवादी

    तस्बिर स्रोत, RSS

    नेेकपा माओवादी केन्द्रको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले बताएका छन्।

    प्रधानमन्त्रीले विश्वासको मत लिने उद्देश्यले बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन बस्नुअघि आज बिहान माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो।

    यसअघि नै माओवादी केन्द्रले ओलीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ।

    प्रतिनिधिसभामा माओवादी केन्द्रका ४९ सांसद छन्।

  7. संसद्‌को बैठक: विश्वासको मत लिन खोज्दै प्रधानमन्त्री ओली

    आफ्नै दलका सांसदहरूले राजीनामा दिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका छन्।

    कसरी हुन्छ मतदान? अन्य दलका अवस्था के छ? संसद्को अङ्कगणित कस्तो छ?

  8. एमाले नेता झलनाथ खनाल सङ्क्रमणमुक्त

    नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल (फाइल तस्बिर)

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल (फाइल तस्बिर)

    नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कोरोनाभाइरसको सङ्क्रमणमुक्त भएका छन्।

    कोभिड-१९ भएपछि उपचारकालागि अस्पताल भर्ना भएका खनालको आइतवार गरिएको पीसीआर परीक्षणमा सङ्क्रमण नदेखिएको सरकारी समाचारसंस्था राससले जनाएको छ।

    खनालका स्वकीय सचिव कृष्ण भट्टराईले नेता खनाल केही दिन चिकित्सकको सल्लाहमा अस्पतालमै रहने राससलाई बताएका छन्।

    सङ्क्रमित भएपछि वैशाख १८ गते खनाल अस्पतालमा भर्ना भएका थिए।

  9. माधव नेपाल-झलनाथ खनाल पक्षका सांसदले प्रधानमन्त्री ओलीलाई 'विश्वासको मत नदिने'

  10. 'अनुचित निर्णय' नगर्न प्रधानमन्त्रीको एमाले सांसदलाई ध्यानाकर्षण

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत दिन आग्रह गरेका छन्।

    सोमवार बिहान माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदहरू बैठक बसिरहेको बेला ओलीले ट्वीट गर्दै एमाले सांसदहरूको ध्यानाकर्षण गराएका हुन्।

    यो X पोस्ट छोड्नुहोस्
    X को सामग्रीलाई अनुमति छ?

    यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

    चेतावनी: बाह्य वेबसाइटका सामग्रीप्रति बीबीसी जिम्मेवार हुने छैन।

    X पोस्ट समाप्त

  11. नमस्कार। लाइभ पेजमा स्वागत छ।

    नमस्कार। हाम्रो लाइभ पेजमा स्वागत छ।

    आज प्रतिनिधिसभाको विशेष अधिवेशन बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन बोलाइएको बैठक १ बजे बस्ने कार्यक्रम छ।

    नेकपा एमालेभित्रको विवाद चुलिएको बेला यसले राष्ट्रिय राजनीतिलाई तरङ्गित बनाएको छ। हामी दिनभरि यो लाइभ पेजमा यससम्बन्धी समाचार प्रकाशित गर्नेछौँ।