अध्यक्षबाट ओली निष्कासित, प्रचण्ड-नेपाल समूहको बैठकको निर्णय

प्रधानमन्त्रीले केपी शर्मा ओलीले डाकेको पार्टी बैठकमा केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय, प्रदीप ज्ञवाली प्रवक्ता नियुक्त, प्रचण्ड र माधव नेपालको पद 'यथावत'। प्रचण्ड-नेपाल समूहको बैठक जारी।

लाइभ कभरेज

  1. आजकालागि बीबीसी न्यूज नेपालीले प्रस्तुत गरिरहेको दिनभरका ठूला घटनाहरूको प्रत्यक्ष विवरण अब यहीँ समाप्त हुन्छ। थप समाचार विवरणहरूकालागि https://bbc.com.im/nepali%3C/a%3E%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81 होला। हाम्रो सामग्रीहरू पढेर साथ दिनु भएकोमा धन्यवाद।

    बीबीसी नेपाली सेवाको फेसबुक पेज https://www.facebook.com/BBCnewsNepali मा पनि हामी ताजा विवरणहरू राख्ने गर्छौँ।

  2. प्रचण्डले पूर्व एमालेलाई आफ्नो 'राजनीतिक पथ'मा तानेका हुन्?

    मोहन वैद्य नेतृत्वको दल नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का एकजना प्रमुख नेताले सत्तधारी नेकपाको विभाजन आफ्नो निम्ति 'हर्ष न बिस्मात'को विषय भएको टिप्पणी गरेका छन्।

    त्यस्तो टिप्पणी गर्ने नेता सीपी गजुरेल सशस्त्र सङ्घर्षका बेला तत्कालीन माओवादीका प्रमुख नेतामध्ये एक थिए।

    उनले बीबीसीसँग भने, "नेकपाको विभाजनप्रति हामीलाई न हर्ष छ, न विस्मात।"

    तर उनका भनाइमा 'विचार र सिद्धान्तको समानताका आधारमा देशमा थोरै पार्टी हुनु राम्रो' हो। त्यसका साथै नेकपाको विभाजनले राष्ट्रिय राजनीतिमा पनि असर गर्नेछ।

    पूर्व एमालेभित्रको फाटो नेकपा फुटेपछि बन्ने केपी शर्मा ओली र प्रचण्डको नेतृत्वका दुई वामपन्थी दलसँग अन्य साना वामपन्थी पार्टीहरूको एकता हुने सम्भावना बढ्ने कतिपयको ठम्याइ पाइन्छ।

    त्यसमा पनि धेरैलाई चासो प्रचण्ड नेतृत्वको दलले पूर्व माओवादीलाई सङ्गठित गर्न सक्छ कि सक्दैन भन्नेमा देखिएको छ।

    प्रचण्डमाथि 'क्रान्तिलाई धोका दिएर एमालेसँग मिसिएको' आरोप उनका पूर्ववर्ती माओवादी सहकर्मीले लगाउने गरेका छन्।

    तर नेकपा विभाजनको बेला कतिपय पूर्व माओवादीका नेताले ओलीलाई साथ दिएको देखिए पनि उनले पूर्व एमालेभित्र ठूलै फाटो ल्याएर उच्च नेताहरूलाई आफ्नो पक्षमा पारेको देखिन्छ।

    यसलाई प्रचण्डले पूर्व एमालेको ठूलो हिस्सालाई आफ्नो 'राजनीतिक-पथ'मा तान्न सफल भएको अर्थ लगाउन मिल्दैन?

    नेता सीपी गजुरेलले हाँस्दै प्रश्न गरे, "प्रचण्डले तान्नु भएको हो कि तानिनु भएको हो?"

    नेता सि पि गजुरेल
  3. ओलीलाई 'कारबाही', अध्यक्षमा माधवकुमार नेपाल

    प्रचण्ड नेतृत्वको समूहको केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ।

    केन्द्रीय सदस्य रामदीप आचार्यका अनुसार "ओलीलाई अध्यक्षबाट निष्कासन गर्ने" निर्णय भएको छ।

    वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय पनि भएको नेता वर्षमान पुनले जानकारी दिए।

    प्रधानमन्त्री ओलीले संसद्को तल्लो सदन विघटन गर्न सिफारिस गरेपछि बसेको स्थायी कमिटी बैठकले उनलाई कारबाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने निर्णय गरेको थियो।

  4. काङ्ग्रेस बैठक सकियो, भोलि फेरि बस्ने, प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको बैठकमा आज चार जना नेताले आफ्नो धारणा राखेका छन्।

    प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक भोलि फेरि बस्ने गरी टुङ्गिएको छ।

    नेता प्रकाशशरण महतका अनुसार आज चार नेताले आफ्नो धारणा व्यक्त गरेका छन्।

    वरिष्ठ नेता रामचन्द्र पौडेल सहित नेता महेश आचार्य, एन पी साउद र नारायण खड्काले आजको बैठकमा प्रतिनिधि सभा विघटन भएको अवस्थामा अबको बाटो के हुने भन्ने विषयमा धारणा व्यक्त गरेको महतले बीबीसीलाई जानकारी दिए।

    “विस्तृत निष्कर्ष सहित अबको बाटो के हुनुपर्छ भन्ने कुरा बैठकले तय गर्नेछ,” उनले भने।

    "समग्रमा संवैधानिक प्रक्रिया मिच्दै जाने कुरामा सिङ्गो नेकपाको सहभागिता रहेको र अहिले पार्टीमा किचलो भएपछि मात्रै सत्तारूढ दलको एक समूहले प्रतिक्रिया जनाएको" भन्ने काङ्ग्रेस नेताहरूको भनाई रहेको बताइएको छ।

    नेपाली काङ्ग्रेस पार्टीको झण्डा

    तस्बिर स्रोत, Nepali Congress/Facebook

  5. साना दल को कता?, प्रतिनिधि सभा भङ्ग बारे केही साना दलहरूले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका छन्।

    सरकारले प्रतिनिधि सभा भङ्ग गर्दै जनमतका लागि पुनः निर्वाचनमा जाने गरेको निर्णयको केही साना दलहरूले आफ्नो आधिकारिक धारणा तय गरेका छन्।

    राष्ट्रिय जनमोर्चा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पछिल्लो कदमलाई 'असंवैधानिक' बताएको छ।

    “अहिले विकल्प खोज्नुपर्ने अवस्था होइन। पार्टीको आन्तरिक कलहलाई लिएर संसद् सुरु गर्नुपर्ने अवस्थामा प्रधानमन्त्रीले असंवैधानिक कदम चालेका छन्। यो लोकतन्त्र माथिको आक्रमण हो,” नेतृ दुर्गा पोखरेलले बताइन्।

    त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले सरकारको कदमलाई 'गलत र अधिनायकवादी' ठहर गरेको बताए।

    “कुनै राजनीतिक कारणले वा कुनै संवैधानिक कारणले यो गरिएको होइन। नेकपाको अन्तर कलहमा आफ्नो पक्ष कमजोर भएपछि यो कदम चालिएको को हो। यो बिलकुल गलत छ भन्ने हाम्रो ठहर हो,” उनले भने।

    सरकारको विरुद्धमा आफ्नो दलले देशव्यापी रूपमा कार्यक्रमहरू गर्ने तयारी गरेको उनले जानकारी दिए।

    अर्को दल नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको बताएको राष्ट्रिय समाचार संस्थाले उल्लेख गरेको छ।

    “प्रधानमन्त्रीको कदमले देशलाई खतराबाट रोकेको छ, तत्काल देशलाई भड्खालोबाट जोगाएको छ, पार्टी फुटे अर्को बन्ला, देश फुटे के गर्ने ? यतिखेर ओलीले देश फुट्नबाट जोगाउनुभएको छ, तर यो सङ्कट अझै टरेको छैन, आगामी दिनमा अझै खतरा छ, चलखेल अझै हुन्छ, यसतर्फ अब जनता सजग हुनु जरुरी छ,” राससले तयार पारेको समाचारमा नेता बिजुक्छेले बताएको उल्लेख छ।

  6. ओली पक्षद्वारा 'एकता महाधिवेशन' २०७८ मंसिरमा गर्ने निर्णय, नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकले नेकपा नफुटेको बताएको छ।

    प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको आफ्ना पक्षका केन्द्रीय कमिटीको बैठकले दलको 'एकता महाधिवेशन' २०७८ साल मंसिर २ गते गर्ने निर्णय गरेको छ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु परेको कारणबारे जानकारी गराउँदै चुनावका लागि एकताबद्ध भएर लाग्न निर्देशन दिएक‍ो जानकारी दिए।

    केन्द्रीय कमिटीको बैठकको निर्णय निर्वाचन आयोगलाई जानकारी गराउने पनि मन्त्री ज्ञवालीले जानकारी दिए।

    अहिलेसम्म नेकपा विभाजन नभएको भन्दै पार्टीको अर्को पक्षले बोलाएको बैठक अवैधानिक भएको उनको भनाइ छ।

    प्रवक्ता ज्ञवालीले भने, "अध्यक्ष र महासचिवको सहमतिबिना नेकपाको बैठक बस्न सक्दैन। माइन्यूटबिना पनि बैठक हुन्छ र?"

    उनले केन्द्रीय कमिटिको बैठकले कसैलाई कारबाही नगरेको र सामान्य कार्यविभाजन मात्रै गरेको बताए।

    बालुवाटार भेला

    तस्बिर स्रोत, Surya Thapa/Facebook

  7. पार्टी फुट्यो, अनि यता लागेँ: गजुरेल, दुवैतिरका बैठकमा सहभागी नभएका नेकपा नेता हरिबोल गजुरेलले पार्टी विभाजन भएको बताएका छन्।

    नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आफ्नो पार्टी फुटेपछि आफूले प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी भएको बताएका छन्।

    यसअघि उनी दुवै समूहले सोमवार आयोजना गरेको बैठकमा गएका थिएनन्।

    उनले भने, “एकताको यत्रो प्रयास गरियो, प्रयास सफल हुन सकेन, हामी चिन्तित छौँ,साङ्केतिक रूपमा नगएको हो, त्यो भनेको पार्टी फुटको विरोध गरेको हो।”

    तर दुवै पक्षले केन्द्रीय कमिटीको बैठक अलग-अलग आयोजना गरेपछि पार्टी औपचारिक रूपमा फुटेको उनको भनाइ छ।

    गजुरेल भन्छन्, “दुईवटा बैठक आयोजना गरिएपछि त पार्टी फुट्यो, फुटिसकेपछि के गर्ने?”

    यसअघि उनी केपी शर्मा ओलीतर्फ लागेको भन्ने समाचारहरू आएका थिए।

    दुवैतर्फबाट त्यस्तो प्रचारबाजी भएको र त्यसैकारण जनतामा भ्रम पैदा भएको उनको भनाइ छ।

    गजुरेलले भने, “खुमलटारकाले हरिबोल मन्त्रीका लागि ओलीतिर गयो भनेर प्रचार गरे,बालुवाटारकाले हरिबोलजी आउनु भयो भनेर प्रचार गरे,म कतै गएको पनि थिइनँ,आएको पनि थिइनँ। म त एकताको प्रयासमा थिएँ।”

    हरिबोल गजुरेल

    तस्बिर स्रोत, Facebook/Haribol

  8. ओलीले गरे ११९९ जनाको केन्द्रीय कमिटीको घोषणा, ५५६ नयाँ सदस्य मनोनित

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरूको भेलामा राखेको प्रस्ताव अनुसार पार्टीको केन्द्रीय कमिटीमा मनोनयन गरेका ५५६ जनाको नाम अनुमोदन भएको बताइएको छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा राखेको जानकारी अनुसार नेकपाको कुल केन्द्रीय सदस्यको सङ्ख्या ११९९ बनाउने निर्णय भएको छ।

    यसअघि नेकपामा झण्डै साढे ४ सयजनाको केन्द्रीय कमिटी रहेको थियो।

    त्यसमा तत्कालै ५५६ जना थपिएका छन् र रिक्त रहेका १९६ जना पछि थप्ने तयारी ओली पक्षको रहेको छ।

    मनोनित सदस्यहरूको नाम बैठकले अनुमोदन गरेको र उनीहरूलाई ओलीले शपथग्रहण गराएको थापाले जानकारी दिए।

    उक्त भेलामा पूर्व माओवादी पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट सहितका नेताहरू सहभागी भएका विवरण आएका छन्।

    बालुवाटार भेला

    तस्बिर स्रोत, Surya Thapa/Facebook

  9. नेकपा केपी ओली इतर समूहको बैठक दिउँसो, एजेन्डा केपी ओलीमाथि कारबाही र संसद् विघटनको विरोध

    नेकपाका अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा दिउँसो १ बजे राजधानी काठमाण्डूस्थित एउटा 'ब्याङ्क्वेट'मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ।

    केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार बैठकको एजेन्डा बाँडिएको छैन तर प्रतिनिधि सभा विघटनको विरोध र केपी ओलीमाथि कारबाही आजको मुख्य विषय हुनेछन्।

    नेकपामा धेरै केन्द्रीय सदस्य रहेकाले बैठक केही दिन लम्बिन सक्ने ठानिएको छ।

    एकीकरण अगाडिको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो।

    प्रधानमन्त्री तथा केपी ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक यो समाचार तयार पारुन्जेल जारी छ।

    नेकपा नेता

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, (फाइल फोटो) सांसदहरूको भेलामा सहभागी हुन लागेका नेकपाका बरिष्ठ नेताहरू
  10. व्यवसायीहरूलाई अस्थिरताको चिन्ता

    कोरोनाभाइरस महामारीका कारण लामो समयदेखि प्रभावित भएको उद्योग व्यवसाय क्षेत्र पछिल्लो राजनितिक घटनाक्रमले थप प्रभावित हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।

    संसद विघटनपछि शुरु भएको आन्दोलन जस्ता क्रियाकलापले उद्योग व्यवसाय देखि पर्यटन क्षेत्रमा असर पर्ने आशंका उनीहरूमा देखिन्छ।

    राजनीतिक अस्थिरताले लगानीको वातावरण पनि बिग्रिने व्यवसायीहरूको भनाइ छ।

    सडकमा सुरक्षा

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, सडक प्रदर्शन र जुलुस हुन थाले व्यवसाय र अर्थतन्त्रमा असर पर्ने चिन्ता गरिएका छन्
  11. कांग्रेस केन्द्रीय समितिको बैठक, एजेण्डा विरोधका कार्यक्रम र ‘संविधानको रक्षाको खोजी’

    मुख्य विपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक मङ्गलवार दिउसो १ बजे बोलाइएको छ।

    प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेकोमा सैद्धान्तिक विरोध जनाएको नेकाले अबका दिनको रणनीति तय गर्न बैठक डाकेको बताइएको छ।

    नेता बालकृष्ण खाँडले बीबीसीलाई बताए अनुसार केन्द्रीय समिति बैठक केही दिन लगातार बस्नेछ।

    उनले भने “संसद भङ्ग गर्ने प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधका कार्यक्रम तय गर्नेछौँ र संविधानको रक्षा कसरी गर्ने भन्ने पनि तय गर्नेछौँ।”

    कांग्रेसका काठमाण्डूमा उपस्थित केन्द्रीय समिति सदस्यहरू केन्द्रीय कार्यालयमा बैठकमा सहभागी हुने बताइएको छ।

    नेपाली कांग्रेस

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, (फाइल फोटो )नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ
  12. राजनीतिक अस्थिरताका माझ कोरोनाभाइरसको खोप आपूर्ति के होला?

    कोरोनाभाइरसको महामारीकामाझ संसद् विघटन गरेर सरकारले निर्वाचनको बाटो लिएको छ।

    त्योसँगै सडकहरूमा दलका नेता कार्यकर्ताको भिड ओर्लन थालेको छ।

    पछिल्लो राजनीतिक घटनाक्रमले कोरोनाभाइरस विरुद्धको खोप आउने काम प्रभावित हुने र भिडभाडले सङ्क्रमण बढ्ने हो की भन्ने चिन्ता व्यक्त हुन थालेका छन्।

    स्वास्थ्यमन्त्रालयका अवैतनिक सल्लाहकार समेत रहेका जनस्वास्थ्यविद डा. सुरेश तिवारीका अनुसार राजनीतिक उतारचढावका कारण खोप ल्याउनका निम्ति भइसकेका तयारी त रोकिँदैन तर आपूर्ति पक्कै ढिलो हुनसक्छ।

    “हामीले विभिन्न उत्पादक देश अनि अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि पहल गरिसकेको अवस्था छ। तर हिजोका हाम्रा तयारीलाई अझ रणनीतिक रूपमा अनि स्रोत र साधन जुटाउँदै अगाडि बढ्नुपर्ने अवस्थामा राजनीतिक वृत्तमा देखिएको अलमलले केही ढिलाइ हुने त पक्कै देखिन्छ,” तिवारीले भने।

    खोपलाई स्रोत के होला?

    अर्बौँ रुपैयाँ खोप आपूर्ति गर्न आवश्यक पर्ने बेला चुनावी खर्च समेत जुटाउन अब सरकार बाध्य हुने देखिन्छ।

    “सरकारले खोपका लागि चाहिने स्रोतको आकलन गरिसकेको छ। नेपाल सरकारले खोपलाई सार्वजनिक वस्तुको रूपमा लिएको हुनाले प्रारम्भिक रूपमा २०-४० प्रतिशत जनसङ्ख्यालाई नि:शुल्क खोप लगाउन पनि ठूलो धनराशि आवश्यक पर्छ,” उनले भने।

    यसअघि गरिएका आकलनमा करिब ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन झन्डै ५० अर्ब रुपैयाँ जति आवश्यक पर्ने देखिएको थियो।

    कोरोनाभाइरस खोप

    तस्बिर स्रोत, Reuters

  13. नेकपा केन्द्रीय कमिटीको बैठकः ओली पक्षको बैठक बालुवाटारमा, प्रधानमन्त्री निवास बालुवाटारमा एक बैठक जारी

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहानदेखि नेकपाको प्रधानमन्त्री ओली समर्थक नेताहरूको बैठक चलिरहेको छ।

    प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विटरमा जनाए अनुसार नेकपा केन्द्रीय कमिटीको आकस्मिक बैठक अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा सुरु भएको छ।

    दिउसो १ बजे प्रचण्ड-नेपाल समूहले पनि पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने बताएको छ। विश्लेषकहरूले नेकपाको केन्द्रीय समितिको समानान्तर बैठकलाई नेकपाको औपचारिक फुट हुने घटनाक्रमका रूपमा अर्थ्याइरहेका छन्।

    मुख्य विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको छ। दिउसो १ बजे बस्ने बैठकको एजेन्डा भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्।

    NCP meeting

    तस्बिर स्रोत, Bishnu RImal Twitter

    तस्बिरको क्याप्शन, प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी नेकपा नेताहरू