प्रतिनिधि सभा विघटनपछिको दोस्रो दिन, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सोमवार विभिन्न राजनीतिक घटकहरूले आफ्नो आगामी बाटो तय गर्न बैठकहरू गरिरहेका छन्।

लाइभ कभरेज

  1. नेपालमा हिजोदेखि के भएको हो?

    नेपालको राजनीति तरङ्गित हुनेगरी हिजोदेखिभएका मुख्य घटनाहरूमा सर्सर्ती एकनजर:

    • सत्तारूढ दल नेकपाभित्रको विवाद चर्कँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा हिजो आइतवार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले संसद्को तल्लो सदन विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्‍यो।
    • राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको जानकारी गराइन्। भण्डारीले संविधानको धारा ७६ को १ र ७ अनि धारा ८५ को उपधारा १ लाई आधार बनाएर विघटनको गरेको राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
    • नेकपाका ९० जना सांसदहरूले आइतवार नै संसद् सचिवालयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। तर सो प्रस्ताव कतिबेला दर्ता गरिएको भन्नेमा विवाद देखिएको छ। सार्वजनिक गरिएको प्रस्तावको तस्बिरमा बिहान १०:५० लेखिएको छ भने संसद् सचिवालयले दिउँसो ३:३० मा दर्ता गरिएको जानकारी दिएको छ।
    • प्रतिनिधिसभा विघटन भएपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्दै केपी ओली नेतृत्वको सरकारका सातजना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, कृषि मन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री बिना मगर छन्। तर पूर्वमाओवादीका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले राजीनामा दिएका छैनन्।
    • प्रतिनिधिसभा विघटन गरिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले त्यसको चर्को विरोध गरेका छन्। काठमाण्डूसहित देशका विभिन्न भागमा उक्त कदमविरुद्ध जुलुसहरू पनि निस्किएका छन्।
    • नेकपाको 'स्थायी कमिटीको आइतवार बसेको बैठक'ले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लग्ने निर्णय गरेको छ। बैठकले प्रधानमन्त्रीको सिफारिसलाई असंवैधानिक कदमको संज्ञा दिएको छ।
  2. गुटगत भेलाका माझ प्रचण्डले भने ‘पार्टी एकतामा असर पर्दैन’

    प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका एकजना अध्यक्ष केपी ओलीले संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको निर्णय गरेको भोलिपल्ट सोमवार दिनैभरि विभिन्न गुटगत भेलाहरू भइरहेको र पार्टी फूटबारे अड्कलबाजी चल्दै गर्दा सो पार्टीका अर्का अध्यक्ष प्रचण्डले पछिल्ला घटनाक्रमले पार्टीको एकतामा असर नपर्ने बताएका छन्।

    सोमवार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले कुनै व्यक्तिको गतिविधिले पार्टी एकतामा फरक नपर्ने बताएका छन्।

    “म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन,” प्रचण्डले भनेका छन्।

    “राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु।”

    प्रचण्ड

    तस्बिर स्रोत, CMPRACHANDA

  3. एकै चरणमा निर्वाचन गर्न सुझाव

    संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन गरेको सूचना सँगसँगै राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा सरकारले आगामी बैशाखमा दुई चरणमा निर्वाचन गर्ने मिति घोषणा गरिएको छ।

    तर निर्वाचन आयोगका पदाधिकारी र एकजना पूर्व प्रमुख निर्वाचन आयूक्तले समेत सरकारलाई चुनाव एकै चरणमा गर्न सुझाव दिएका छन्।

  4. कहाँ के हुँदैछ:

    बालुवाटारमा प्रधानमन्त्री केपी ओली समर्थकहरूको बैठक बसिरहेको छ।

    सिंहदरबारमा नेकपाको संसदीय दलको बैठकमा संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटनको विरोध गर्दै आएका नेताहरू प्रचण्ड माधवकुमार नेपाल लगायतले संविधानविद्हरूसँग कानूनी उपचारका लागि बैठक तय गरेका छन्।

    एक बजे संसद् भवन नयाँ बानेश्वरमा नेकपामा सांसदहरूको बैठक बोलाइएको छ। त्यसमा ओली इतर सांसदहरूको सहभागिता हुने बताइएको छ।

    चारबजे मुख्य विपक्षी नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ।