४,००० मिटर आसपासको उचाइका मतदान केन्द्रहरू, प्रदीप बस्याल/बीबीसी
पश्चिम नेपालको उपल्लो डोल्पामा मात्र ४,००० मिटरभन्दा उचाइमा १० वटा मतदान केन्द्र रहेको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बीबीसीलाई जानकारी दिएकी छन्।
"ती सबै केन्द्रका मतपेटिका भोलि मात्र हेलिकप्टरमार्फत् ल्याइनेछ, १२ बजेपछि सितिमिति हेलिकप्टर उडाउन सकिँदैन," प्रजिअ ढकालले भनिन्।
हिमालपारिको जिल्लाका रूपमा चिनिने मुस्ताङको सबैभन्दा माथिल्लो मतदान केन्द्र उपल्लो मुस्ताङको छोसेरमा रहेको मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बीबीसीलाई बताइन्।
"छोसेरमा कुल ३३९ मतदाता छन् भने मुस्ताङमा सबैभन्दा धेरै मतदाता जोमसोमको एउटा केन्द्रमा ६८९ जना छन्," शर्माले भनिन्।
त्यसैगरी सोलुखुम्बुको सबैभन्दा माथिल्लो मतदान केन्द्र पाङबोचे करिब ४,००० मिटर उचाइमा छ। प्रसिद्ध सगरमाथा पदयात्रा मार्गमा पर्ने लुक्लामाथि ९ वटा मतदान केन्द्र रहेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले बीबीसीलाई बताइन्।
"पाङबोचे सगरमाथा आधार शिविर नजिकै पर्ने एउटा गाउँ हो। हामीले त्यहाँबाट करिब ९-१० घण्टा मतपेटिका बोकाएर ३,४०० मिटर उचाइको नाम्चे बजारमा ल्याएर त्यहाँबाट हेलिकप्टरमा ल्याउँछौँ," प्रजिअ पाण्डेले भनिन्।
खुम्बुमा लुक्लामाथिका सबै मतदान केन्द्रबाट मतपेटिका नाम्चे बजारसम्म बोकाएर त्यहाँबाट हेलिकप्टरमा उठाएर जिल्ला सदरमुकाम ल्याउने योजना छ।