झापाको क्षेत्र नं ५ मा विहान ११ बजेसम्म २० प्रतिशतभन्दा बढी मत खसेको उक्त क्षेत्रका निर्वाचन अधिकृत विदुर कार्कीले बीबीसीलाइ बताएका छन्।
विराटनगरस्थित बीबीसी संवाददता विक्रम निरौलासँग निर्वाचनअधिकृत कार्कीले भने, "एकदमै" उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। धेरै मतदाता लाइनमा मत खसाल्न बसिरहनुभएको छ"।
स्थानीय पत्रकार राजु पोखरेलका अनुसार सबैजसो मतदान केन्द्रहरूमा मतदाताको भीड देखिएको छ।
झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जिल्लामा शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको बताए।
झापा ५ मा एक लाख ६३ हजारभन्दा बढी मतदाता छन्।
उक्त क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वापाका वरिष्ठ नेता बालेन्द्र शाहसहित दुई दर्जन उम्मेदवार छन्।
यसैबीच रास्वपाका वरिष्ठ नेता शाह चढेको हेलिकप्टर भद्रपुर विमानस्थलमा अवतरण हुन नसकेर काठमाडू फर्किएको उनको पार्टीका केन्द्रीय सदस्य रोहन कार्कीले बीबीसीलाई बताए।
उनी काठमाण्डूमा मतदान गरेर आफू उम्मेदवार भएको क्षेत्रमा आउन लागेका थिए। झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले पनि भक्तपुरको बालकोटबाट मतदाता गरेका छन्।
अन्यक्ष क्षेत्रबाट उम्मेदवार बनेका कारण ओली र शाह दुवैले आफूलाई मत हाल्न पाएनन्।