तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

रास्वपालाई प्रत्यक्षतर्फ सर्वाधिक सीट, समानुपातिकतर्फ झन्डै आधा मत

बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा सहभागी भएको रास्वपा प्रत्यक्षतर्फ घोषित मतपरिणाममा तथा समानुपातिकतर्फ जारी मतगणनामा पनि अग्रस्थानमा छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अधिकांश स्थानमा रास्वपा विजयी भएको छ
  • दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा एमाले देखिएका छन् भने नेकपा, श्रम संस्कृति पार्टी राप्रपा क्रमशः त्यसपछि छन्
  • समानुपातिक मत गन्ने क्रम पनि जारी छ। अहिलेसम्म गणना भएको मतमा रास्वपाले ४९ प्रतिशतभन्दा बढी पाएको देखिन्छ
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्

लाइभ कभरेज

  1. कर्णालीमा एमालेलाई एक सीट, प्रकाश पन्त, सुर्खेत

    नेकपा एमालेले कर्णाली प्रदेशमा पहिलो जित हासिल गरेको छ। अघिल्लो चुनावमा शून्यमा रहेको एमाले यस पटक त्यहाँ एक सीट जित्न सफल भएको हो।

    कर्णालीका अरू क्षेत्रमा नराम्रो पराजय बेहोरे पनि दैलेख क्षेत्र नं २ मा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेलले १३, ८८९ मत ल्याएर विजयी भएका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९,५५२ मत पाएका छन्।

    बखतबहादुर शाही (राष्ट्रिय स्वतन्त्र पार्टी) : ६,७९७

    योगेन्द्रबहादुर शाही (नेपाली कम्युनिस्ट पार्टी) : ३,८५१

    बखतबहादुर थापा (नेपाल मजदुर किसान पार्टी) : १,५१२

  2. रास्वपाले कटायो १०० सीट, समानुपातिकमा हालसम्म आधाभन्दा बढी मत उसैलाई

    राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना भइरहेका १६४ सीटमध्ये १०२ स्थानमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।

    उक्त दलले अझै २२ स्थानमा अग्रता लिइरहेको छ।

    समानुपातिकतर्फ करिब २६ लाख मतगणना हुँदा रास्वपाको मत १३ लाखभन्दा केही बढ्ता छ।

  3. रुकुम पश्चिममा जनार्दन शर्मा युद्धकालका आफ्नै प्रशिक्षार्थीद्वारा पराजित, प्रकाश पन्त, सुर्खेत

    रुकुम पश्चिममा माओवादी द्वन्द्वकालमा जनार्दन शर्माले प्रशिक्षण दिएका गोपाल शर्माले उनलाई हराएका छन्।

    विसं २०६४ सालयता लगातार चुनाव जित्दै आएका जनार्दनको जितयात्रामा यसपालि चुनावमा गोपालले ब्रेक लगाइदिएका छन् ।

    नेपाली कम्युनिस्ट पार्टीका गोपालले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका जनार्दनलाई ७,२६३ मतले हराएका हुन्।

    निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु केसी भएपछि जनार्दन तेस्रो स्थानमा सीमित भएका छन्।

    जनार्दनले १४,३४६ र गोपालले २१, ६०९ मत ल्याएका छन् भने कांग्रेसका राजु केसीले १६,६६१ र रास्वपाका मानबहादुर शाहीले ४,०७६ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    नयाँ दल खोलेर चुनावमा होमिएका जनार्दनले नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता गरेर समेत समर्थन गरे पनि जित्न सकेनन्।

    जनार्दनले यसअघि विसं २०६४ र २०७० सालको संविधानसभा र विसं २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्यको चुनाव जितेका थिए।

  4. मुगुमा कांग्रेसका खड्कबहादुर शाही अगाडि, कृष्णमाया उपाध्याय

    मुगुका तीनवटा पालिकाको १४,२३५ मतगणना गरिँदा नेपाली कांग्रेसका खड्ग शाही अगाडि देखिएका छन्।

    शाहीले ५,६१७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर रोकायाले ५,००१ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय मुगुले जनाएको छ।

    नेकपाका चन्द्रबहादुर शाहीले २,४४० मत प्रप्त गरेका छन् भने रास्वपाका भुवन टमटाले ३७१ मत प्राप्त गरेका छन्।

  5. खोटाङमा श्रम संस्कृति पार्टीको पहिलो जित

    हर्क साम्पाङले नेतृत्व गरेको दल श्रम संस्कृतिका पार्टीले पहिलो जित हासिल गरेको छ।

    खोटाङमा उक्त दलका आरेन राईले नेकपा एमालेका देवबिक्रम राईलाई पछि पार्दै चुनाव जितेका हुन्।

    पार्टी अध्यक्ष साम्पाङसँगै श्रम संस्कृति पार्टीले अझै दुई स्थानमा अग्रता लिइरहेको छ।

  6. बैतडीमा रास्वपाका भण्डारीको फराकिलो अग्रता, दोस्रो हुन एमाले–कांग्रेसबीच कडा प्रतिस्पर्धा, प्रकाश पार्की

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरिमोहन भण्डारीले स्पष्ट अग्रता कायम गरेका छन्।

    आइतवार बिहान ७:३० बजेसम्मको मतगणना परिणामअनुसार भण्डारीले २० हजार ७८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दामोदर भण्डारीले १५ हजार ८९० मत पाएका छन् भने नेपाली कांग्रेसका चतुरबहादुर चन्द १५ हजार ४९४ मतसहित तेस्रो स्थानमा छन्।

  7. पर्सा ३ र ४ मा पनि रास्वपा उम्मेदवार विजयी, माधुरी महतो, वीरगन्ज

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामाकान्तप्रसाद चौरसिया विजयी भएका छन्।

    चौरसियाले २९ हजार ६७९ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत प्राप्त गरेका छन्।

    पर्सा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्य विजयी भएका छन्।

    अन्तिम मतपरिणामअनुसार शाक्यले २८ हजार ६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश रिजालले १२ हजार ५३४ मत प्राप्त गरेका छन्।

    पर्सा, बारा, रौतहट र सर्लाहीका चारैवटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले विजय हासिल गरेका छन्।

  8. प्रत्यक्षतर्फ रास्वपा १०० नजिक, समानुपातिकमा हालसम्मको आधा मत उसैलाई

    निर्वाचन आयोगका अनुसार आइतवार बिहान ८ बजे सम्ममा प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९८ स्थानमा जित हासिल गरेको छ भने करिब दुई दर्जन सीटमा उक्त दलकै अग्रता छ।

    रास्वपाका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाइने भनिएका बालेन्द्र शाह, सभापति रवि लामिछाने जित हासिल गरिसकेका छन्।

    प्रतिनिधिसभाका देशका १६४ स्थानमा भइरहेका गणनामध्येमा समानुपातिकतर्फ समेत करिब २४ लाख मत गणना हुँदा १२ लाखभन्दा धेरै मत रास्वपाको पक्षमा देखिन्छ।

    राजधानीका तिनै जिल्लाका सबै १५ सीटमा रास्वपाले जित हासिल गरेको छ।

  9. सर्लाहीमा गगनलाई हराउँदै अमरेश विजयी, माधुरी महतो, वीरगन्ज

    प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

    अन्तिम मत परिणाम अनुसार सिंहले ३५,६८८ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सभापति गगन थापा ले २२,८३८ मत प्राप्त गरेका छन्।

    सिंहले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः १२,८५० मतान्तरसहित विजयी भएका हुन्।

  10. अहिलेसम्म हामीलाई के थाहा छ

    • बिहीवार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ १२५ स्थानको हालसम्म आधिकारिक नतिजा घोषणा भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ।
    • राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ हालसम्म ९८ स्थानमा जित र २७ स्थानमा अग्रता लिएको छ।
    • नेपाली कांग्रेसले १४, नेकपा एमालेले ७ र नेपाली कम्युनिस्ट पार्टीले ४ स्थानमा जित हासिल गरेका छन्।
    • समानुपातिकतर्फको प्रारम्भिक मतगणनामा पनि रास्वपा पहिलो स्थानमा छ भने कांग्रेस दोस्रो, एमाले तेस्रो स्थानमा छन्।
  11. स्वागतम्

    नमस्कार। बीबीसी न्यूज नेपालीको लाइभ पेजमा यहाँहरूलाई स्वागत छ।

    बिहीवार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम आज पनि जारी छ।

    आज हामी यो लाइभ पेजमा निर्वाचन र मतगणनासँग सम्बन्धित जानकारी र समाचार प्रकाशित गर्ने छौँ। दिनभरि हामीसँगै रहनुहोला।