तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

रास्वपालाई प्रत्यक्षतर्फ सर्वाधिक सीट, समानुपातिकतर्फ झन्डै आधा मत

बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा सहभागी भएको रास्वपा प्रत्यक्षतर्फ घोषित मतपरिणाममा तथा समानुपातिकतर्फ जारी मतगणनामा पनि अग्रस्थानमा छ।

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ अधिकांश स्थानमा रास्वपा विजयी भएको छ
  • दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा एमाले देखिएका छन् भने नेकपा, श्रम संस्कृति पार्टी राप्रपा क्रमशः त्यसपछि छन्
  • समानुपातिक मत गन्ने क्रम पनि जारी छ। अहिलेसम्म गणना भएको मतमा रास्वपाले ४९ प्रतिशतभन्दा बढी पाएको देखिन्छ
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्

लाइभ कभरेज

  1. यस्तो छ अहिलेसम्मको परिणाम

    निर्वाचन आयोगले प्रत्यक्षतर्फ १४८ स्थानको अन्तिम मतपरिणाम घोषणा गरिसकेको छ।

    अहिले १६ स्थानमा मतगणना जारी छ भने धनुषा १ मा रास्वपाको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समाविष्ट गरेको छैन।

    अहिलेसम्म श्रम संस्कृति पार्टी दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी एक र स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन्।

    यसपालि म्याग्दीबाट उठेका डा महावीर पुन एक मात्र विजयी स्वतन्त्र उम्मेदवार हुन्। उनी अन्तरिम सरकारमा मन्त्री थिए। निर्वाचनमा सहभागी हुन उनले मन्त्रिपरिषद्‌बाट राजीनामा दिएका थिए।

  2. जेन जी आन्दोलनपछि गठित जाँचबुझ आयोगको प्रतिवेदनमा के छ?

    गत भदौमा भएको जेन जी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा गठित जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई आफ्नो प्रतिवेदन बुझाएको छ।

    उक्त प्रतिवेदनमा के छ? आयोगका प्रवक्ता विज्ञानराज शर्माले यसो भने।

  3. धेरै मत ल्याएर विजयी हुने सबै उम्मेदवार रास्वपाका

    अहिलेसम्म घोषित मतपरिणाममा ११ उम्मेदवारहरू ५०,००० भन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। तीमध्ये झापाबाट निर्वाचित इन्दिरा राना मगर र बालेन्द्र शाह 'बालेन'ले ६०,००० मत कटाएका छन्।

    रास्वपाका वरिष्ठ नेता तथा काठमाण्डू महानगरका पूर्वप्रमुख बालेनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा ५ मा फराकिलो मतान्तरले पराजित गरेका हुन्। भूतपूर्व उपसभामुख इन्दिरा राना मगरले झापा २ मा पूर्वसभामुख देवराज घिमिरेलाई हराएकी हुन्।

    रास्वपाकी रुबिना आचार्यले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई पराजित गरेकी हुन् भने सुलभ खरेलले एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई हराएका हुन्।

  4. कर्णालीमा कांग्रेस ठूलो दल, कहाँ कसले जिते?, प्रकाश पन्त, सुर्खेत

    कर्णालीवासीले यस पटकको निर्वाचनमा यस अघि राष्ट्रिय राजनीतिमा प्रभाव राख्दै आएका सबै दललाई प्रतिनिधिसभामा प्रतिनिधित्व गराएर पठाएका छन्।

    नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताएर प्रतिनिधिसभामा पठाएका हुन्।

    कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी पाँच सीट जित्नै नेपाली कांग्रेस पहिलो दल भएको छ।

    देशैभरि नराम्रो पराजय भोगेको कांग्रेसलाई कर्णालीवासीले ठूलो दल बनाएर प्रतिनिधिसभामा पठाएका छन्।

    देशैभरि राम्रो नतिजा ल्याउन नसकिरहेको नेकपा ४ सीट जितेर दोस्रो भएको छ भने एमाले, रास्वपा र राप्रपाले एक/एक सीटमा पाएका छन्।

    अघिल्लो चुनावमा कर्णालीमा खाली हात रहेको एमालेले दैलेख क्षेत्र नं २ र रास्वपाले सुर्खेत क्षेत्र नं २ कांग्रेसबाट खोसेका छन्।

    कांग्रेसले सुर्खेत क्षेत्र नं २ र दैलेख क्षेत्र नं २ गुमाए पनि सुर्खेत क्षेत्र नं १ र मुगुमा जित कायम राख्दै दैलेख क्षेत्र नं १, हुम्ला, जाजरकोटमा जित हासिल गर्न सफल भएको छ।

    नेपाली कम्युनिस्ट पार्टीले जाजरकोट गुमाए पनि रुकुम पश्चिम, कालिकोट, सल्यान र डोल्पामा भने जित कायमै राखेको छ।

    राप्रपाले जुम्लामा जित दोहोर्‍याएर आफ्नो इतिहास कायम राखेको छ। संसदीय इतिहासमा यसअघि कुनै पनि व्यक्तिले जुम्लामा दोहोर्‍याएर चुनाव जितेको रेकर्ड थिएन उक्त कीर्तिमान यसपालि तोडिएको स्थानीय जानकारहरूले बताएका छन्।

    कहाँ कसले जिते

    कांग्रेसः सुर्खेत क्षेत्र नं १ - विष्णुबहादुर खड्का

    दैलेख क्षेत्र नं १ - बासना थापा

    जाजरकोट - खड्कबहादुर बूढा

    हुम्ला - जयपति रोकाय

    मुगु - खड्गबहादुर शाही

    नेकपा: कालिकोट - महेन्द्रबहादुर शाही

    डोल्पा - धनबहादुर बुढा

    रुकुम पश्चिम - गोपाल शर्मा

    सल्यान - रमेशकुमार मल्ल

    रास्वपा: सुर्खेत २ - रमेशकुमार सापकोटा

    एमाले: दैलेख २ - लक्ष्मीप्रसाद पोखरेल

    राप्रपा: जुम्ला - ज्ञानबहादुर शाही

  5. सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई विजयी

    सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई विजयी भएका छन्। उनी हर्क साम्पाङ नामले बढी चिनिन्छन्।

    उनी धरान उपमहानगर पालिकाका पूर्वमेयर हुन्।

    यसअघि सो पार्टीका उम्मेदवार आरेन राई खोटाङबाट विजयी भएका थिए।

    भोजपुरमा जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार भोजराज राई अग्रस्थानमा देखिन्छ।

    निर्वाचन आयोगका अनुसार सुनसरी १ को मतपरिणाम यस्तो छ -

    • हर्कराज राई - ३५,७४१
    • गोमा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी - २७,२४९
    • टीकाराम लिम्बू, नेकपा एमाले - ६,४६३
    • सूर्यबहादुर भट्टराई, नेपाली कम्युनिस्ट पार्टी - ६,१८५
  6. बालेनलाई उनका मतदाताको आग्रह

    झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री केपी ओलीलाई पराजित गरेका प्रधानमन्त्री प्रस्तावित उम्मेदवार बालेनप्रति मतदाताले भ्रष्टाचार नियन्त्रण र स्वदेशमै बस्ने वातावरण बनाइदिन माग गरेका छन्।

    अन्तिम मतपरिणामअनुसार बालेनले ६८,३४८ मत ल्याएका थिए भने ओली १८,७३४ मतमा सीमित भएका थिए। उनीहरूबीचको मतान्तर ४९,६१४ रहेको छ।

    दुवैलाई आआफ्ना पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावी अभियान गरेका थिए।

    एक भिडिओ झापा क्षेत्र नम्बर ५ बाट।

  7. धनुषा १ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदरवारको चिह्नमा धेरै मत, माधुरी महतो, वीरगन्ज

    धनुषा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको उम्मेदवारी खारेज भए पनि घण्टी निर्वाचन चिह्नमा अत्यधिक मत परेपछि मतगणनाको परिणाम अन्योलमा परेको छ।

    पछिल्लो मतपरिणाम अनुसार रास्वपाको घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ, जुन अन्य उम्मेदवारको मतभन्दा १३ हजारले बढी हो।

    रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी भने यसअघि नै खारेज भइसकेको छ।

    उम्मेदवारी खारेज भइसकेका उम्मेदवारले सबैभन्दा बढी मत पाएपछि त्यहाँको परिणाम सार्वजनिक गर्ने विषयमा अन्योल देखिएको हो।

    पछिल्लो सार्वजनिक मतगणनाअनुसार उम्मेदवारी कायम रहेका उम्मेदवारमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादव ७ हजार ५६६ मतसहित पहिलो स्थानमा छन्।

    नेपाली कांग्रेसका रामपल्टन साह ७ हजार ४२८ मतसहित दोस्रो स्थानमा छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रामचन्द्र मण्डल ६ हजार ६०५ मतसहित तेस्रो स्थानमा छन्।

    रास्वपाका उम्मेदवार साहविरुद्ध १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

    साहको स्वामित्वमा रहेको ‘कमल निर्माण सेवा’ कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो।

    आयोगले १४ फागुनमा साहसँग स्पष्टीकरण मागेको थियो भने १८ फागुनमा उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।

    उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगले घण्टी चुनाव चिह्नमा स्वस्तिक छाप लागेका मतपत्रको छुट्टै लगत राख्दै गणना गर्न निर्देशन दिएको छ।

    ती मतपत्र बाहेकका मतपत्रको गणना गरी निर्वाचन परिणाम प्रकाशन गर्न पनि आयोगले निर्देशन दिएको जनाएको छ।

    उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा साहले रिट निवेदन दर्ता गरेपछि धनुषा क्षेत्र नं १ को अन्तिम परिणाम कस्तो आउने भन्ने विषयमा अझै अन्योल कायम रहेको छ।

  8. अछाम २ मा एमाले-कांग्रेसबीच कडा टक्कर, प्रकाश पार्की, डडेल्धुरा

    अछाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ मतगणना जारी रहँदा नेकपा (एमाले) र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ।

    अहिलेसम्म २३ हजार ४५७ मत गणना हुँदा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटीले ७,५०४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्प शाहले ६,९१८ मत ल्याएका छन्। बोगटीले शाहभन्दा ५८६ मतले अग्रता बनाएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका भूपदेव शाहले ३,९६६ मत र नेकपाका बलबहादुर कुँवरले २, ९९१ मत प्राप्त गरेका छन्।

    अछाम क्षेत्र नं २ मा जम्मा ३२,४०८ मत खसेकोमा हालसम्म २३, ४५७ मत गणना भइसकेको मुख्य निर्वाच अधिकृतको कार्यालयले जनाएको छ।

  9. बर्दिया १ मा रास्वपाका ठाकुर सिंह थारू विजयी, विमला चौधरी, नेपालगञ्ज

    बर्दिया क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ठाकुर सिंह थारू फराकिलो मतान्तरसहित विजयी भएका छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थारूले ४९ हजार ६३१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार तथा बाँसगढी नगरपालिकाका पूर्वमेयर शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गरेका छन्। थारू र अधिकारीबीच ३४ हजार ९८८ मतको अन्तर छ।

    नेपाली कांग्रेसका सञ्जय गौतम तेस्रो स्थानमा सीमित भएका छन्। यसअघि विसं २०७० सालको संविधानसभा निर्वाचन तथा विसं २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका गौतमले यस पटक १२ हजार ७२२ मत प्राप्त गरेका छन्।

    नेपाली कम्युनिस्ट पार्टीका विष्णु चौधरीले ९ हजार २८५ मत प्राप्त गरेका छन् भने नागरिक उन्मुक्ति पार्टी नेपालका अब्दुल खानले ५ हजार ७२४ मत प्राप्त गरेका छन्।

    अहिले विजयी भएका ठाकुर सिंह थारू अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार थिए।

    त्यस बेला उनी नेपाली कांग्रेसका सञ्जय गौतम र नेकपा एमालेका उम्मेद्वार लक्ष्मण ज्ञवालीभन्दा कम मत ल्याएर तेस्रो भएका थिए।

    पत्रकारिता क्षेत्रबाट राजनीति यात्रामा प्रवेश गरेका थारू नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्वअध्यक्ष समेत हुन्।

  10. युद्धकालीन सहकर्मीसँग प्रकाण्ड पराजित, प्रकाश पन्त, सुर्खेत

    नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा प्रकाण्ड युद्धकालीन सहकर्मी महेन्द्रबहादुर शाहीसँग पराजित भएका छन्।

    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रकाण्ड नामले चिनिने नेता खड्गबहादुर विश्वकर्मा गुलाब चिह्न लिएर चुनाव लडेका थिए।

    शान्ति सम्झौतापछि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा विश्वकर्मा कालिकोटबाट निर्वाचित भएका थिए।

    तत्कालीन नेकपा माओवादी संसदीय राजनीतिमा आएयता चाहेजस्तो परिवर्तन नभएको भन्दै विद्रोहको बाटोमा हिँडेका उनी युद्धकालमा भेरी कर्णाली क्षेत्रबाट प्रतिनिधित्व गर्नेमध्ये माओवादीका प्रभावशाली नेता मानिन्थे।

    तर १८ वर्षपछि संसदीय राजनीतिमै फर्किएर चुनाव लडेका विश्वकर्मा यसपालि भने आफ्नै युद्धकालीन सहकर्मी महेन्द्रबहादुर शाहीसँग पराजित भएका छन्।

    एक पटक पर्यटनमन्त्री समेत भइसकेका र कालिकोटमा सबै दल एकतिर अनि आफू एक्लै अर्कोतिर भए पनि चुनाव जित्ने दावी गर्दै आइरहेका उनी निर्वाचनमा चौथो भएका छन्। उनी नेकपा माओवादीका प्रवक्ता र विप्लवपछि दोस्रो ठूला नेता हुन्।

    महेन्द्रबहादुर शाही (नेकपा) : ११,७३४

    नगीन्द्र शाही (नेकपा एमाले) : १०,६४७

    हर्षबहादुर बम (नेपाली कांग्रेस) : ७,४५०

    खड्कबहादुर विश्वकर्मा (नेकपा माओवादी) : ४,९९३

    प्रकाश न्यौपाने (रास्वपा) : ३,१०१

  11. कर्णालीमा रास्वपालाई एक सीट मात्र, प्रकाश पन्त, सुर्खेत

    देशैभरि राम्रो नतिजा ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले कर्णाली प्रदेशमा भने त्यस्तो देखिएको छैन।

    बाह्रवटा निर्वाचन क्षेत्र रहेको कर्णालीको सुर्खेत क्षेत्र नं २ बाहेक अन्यत्र भने रास्वपाका उम्मेदवारले जित्न सकेनन्।

    सल्यानमा निकटतम प्रतिद्वन्द्वी, दैलेख र सुर्खेतको क्षेत्र नं १ मा तेस्रो र कर्णालीका अरू जिल्लामा रास्वपाका उम्मेदवारहरू चौथो र पाँचौँ स्थानमा समेटिएका छन्।

    तर कर्णालीको राजधानी वीरेन्द्रनगर लगायतका सहरी क्षेत्र रहेको सुर्खेत क्षेत्र नं २ मा भने फराकिलो अन्तरले उसका उम्मेदवारले जितेका छन्।

    यो क्षेत्रमा रास्वपाका रमेशकुमार सापकोटाले कांग्रेसका नारायणकुमार कोइरालालाई १४,४५४ मत अन्तरले हराएका छन्। सापकोटाले ३०,८४२ मत र कोइरालाले १६,३७८ मत प्राप्त गरेका छन्।

  12. सुदूरपश्चिममा लेखराज भट्ट, भीम रावल र एनपी साउद पराजित, हिक्मतबहादुर रावल

    विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका वीरबहादुर बलायरसँग हार बेहोरेका लेखराज भट्ट यसपालि पनि पराजित भएका छन्।

    कैलाली क्षेत्र नं ४ बाट उम्मेदवार बनेका उनी यस पटक तस्रो स्थानमा रहे। राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइराला २८ हजार ५५६ मत ल्याउँदै विजयी हुँदा भट्ट ९ हजार ४४४ मतमा सीमित रहे।

    नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीमबहादुर रावल अछाम क्षेत्र नं १ मा थोरै मतान्तरले कांग्रेसका भरतकुमार स्वाँरसँग पराजित भएका छन्।

    स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्दा रावलले १० हजार २२३ मत प्राप्त गरे। विसं २०७९ को आमनिर्वाचनमा रावल नेकपा एमालेबाट टिकट पाउन सकेनन्। यस पटक पार्टी परिवर्तन गरेका रावलले पराजय भोगे।

    कञ्चनपुर क्षेत्र नं २ मा कांग्रेसका नारायणप्रकाश साउदले पनि पराजय भोगेका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहरासँग भारी मतान्तरले साउद पराजित भएका हुन्।

    रास्वपाका बोहराले ३३ हजार ९५२ मत ल्याए भने साउदले १० हजार ८२७ मत मात्र प्राप्त गरे।

  13. पराजयपछि गगनले के भने?

    सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश सिंहसँग पराजित भएका नेपाली कांग्रेसका सभापति गगन थापाले सिंहलाई बधाई दिएका छन्।

    सामाजिक सञ्जालमा थापाले लेखेका छन्, “मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।”

    “यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने छु।”

    रास्वपाका सिंहले ३५,६८८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने थापाले २२,८३८ मत प्राप्त गरेका छन्।

  14. हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी, कृष्णमाया उपाध्याय, जुम्ला

    हुम्लामा नेपाली कांग्रेसका जयपति रोकाया ८,७९७ मत ल्याएर विजयी भएका छन्।

    एउटा मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेकपाका दीपेन्द्र रोकायालाई १,५५४ मतले पछाडि पार्दै कांग्रेसका रोकाया विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    नेकपाका दीपेन्द्र रोकायाले ७,२४३ मत प्राप्त गरेका छन् भने एमालेका दल फडेराले ४,३३१ मत प्राप्त गरेका छन्। रास्वपाका टासी ल्हान्जोमले १,०६४ मत प्राप्त गरेका छन्।

  15. डोल्पामा भाइसँग सहोदर दाइ पराजित, प्रकाश पन्त, सुर्खेत

    डोल्पामा सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइ धनबहादुर बूढाले बाजी मारेका छन्।

    दाइ कर्णबहादुर बूढा नेपाली कांग्रेस र भाइ धनबहादुर बूढाले नेपाली कम्युनिस्ट पार्टीबाट चुनावी प्रतिस्पर्धा गरेका थिए।

    कांग्रेस विशेष महाधिवेसनबाट सहमहामन्त्री बनेका कर्णबहादुर पहिलो पटक र भाइ धनबहादुर चौथो पटक चुनाव लडेका हुन्।

    यो चुनाव डोल्पालीका लागि दलीय प्रतिस्पर्धाभन्दा पनि दाजुभाइको प्रतिष्ठाको लडाइँ बन्न पुगेको बताइन्छ।

    तर विसं २०७०, २०७४ र २०७९ सालमा भएका तीनवटै चुनावमा लगातार जित हासिल गरेका धनबहादुर यसपालि आफ्नै दाइलाई हराउँदै लगातार चौथो पटक चुनाव जित्न सफल भएका छन्।

    धनबहादुरले कर्णबहादुरलाई ३,८५३ अन्तरले जितेका छन्। दाइ कर्णबहादुर तेस्रो स्थानमा आएका छन्।

    धनबहादुर बूढा (नेकपा) : ६,८०२

    लङ्कबहादुर रोकाय (नेकपा एमाले) : ५,३९६

    कर्णबहादुर बूढा (नेपाली काँग्रेस) : २,९४९

  16. ओखलढुङ्गामा रास्वपासँग कांग्रेस झिनो मतले पराजित

    ओखलढुङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल विजयी भएका छन्।

    उनको नेपाली कांग्रेसका कुमार लुइँटेलसँग चर्को प्रतिस्पर्धा भएको थियो।

    मतगणना हुँदा कहिले लुइँटेल अगाडि देखिएका थिए भने कहिले पोखरेल।

    पोखरेल नेपाल प्रहरीबाट सेवानिवृत्त वरिष्ठ अधिकारी हुन्।

    • विश्‍वराज पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी - १३,९५३
    • कुमार लुइँटेल, नेपाली कांग्रेस - १३,९४८
    • अम्बिरबाबु गुरुङ, नेपाली कम्युनिस्ट पार्टी - ११,२९६
  17. कञ्चनपुरका तीनवटै क्षेत्रमा रास्वपा विजयी, हिक्मतबहादुर रावल, धनगढी

    कञ्चनपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनकसिंह धामी विजयी भएका छन्।

    कुल २४ हजार ३३२ मत ल्याएका उनले दुई पूर्वमन्त्री नेपाली कम्युनिस्ट पार्टीकी बीना मगर र नेकपा एमालेका तारालामा तामाङलाई हराएका हुन्।

    मगरले ११ हजार ११० मत प्राप्त गरेकी छन् भने तामाङले आठ हजार ८८ मत ल्याएका छन्।

    कञ्चनपुर क्षेत्र नं २ मा रास्वपाकै दीपकराज बोहरा फराकिलो मतान्तरले विजयी भएका छन्।

    बोहराले कांग्रेस नेता एवं पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १२५ मतान्तरले पराजित गरेका हुन्। बोहराले ३३ हजार ९५२ र साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्।

    कञ्चनपुर क्षेत्र नं ३ मा रास्वपाका ज्ञानेन्द्रसिंह महता २७ हजार ११८ मत ल्याएर निर्वाचित भएका छन्।

    महता १७ हजार ६७५ मतान्तरले कांग्रेसका हरिप्रसाद बोहरालाई पछि पार्दै विजयी भएका हुन्।

  18. सुर्खेत १ मा भाइले जोगाए दाइको विरासत, प्रकाश पन्त, सुर्खेत

    सहोदर भाइ विष्णुबहादुर खड्काले चुनाव जितेर नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काको सुर्खेत क्षेत्र नं १ मा विरासत जोगाएका छन्।

    पार्टीको आधिकारिकता विवादमा अदालतमा मुद्दा लड्ने पक्ष भएको भन्दै विसं २०४८ सालदेखि जित्दै आएका पूर्णबहादुर यस पटक भने चुनाव लडेनन्।

    विष्णुले नेकपा एमालेका ध्रुवकुमार शाहीलाई ८,००७ मतान्तरले पराजित गरेका हुन्। उनले २६,८९७ मत र शाहीले १८,८९० मत ल्याएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले १४,७२९ मत, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर रानाले २,८२८ मत र जेन जी आन्दोलनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका रविकिरण हमालले १,०४९ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

  19. कांग्रेस छाडेर रास्वपामा पुगेका भण्डारी बैतडीबाट विजयी, प्रकाश पार्की, डडेल्धुरा

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारी विजयी भएका छन्। कुल २२,१३४ मत प्राप्त गर्दै उनी निर्वाचित भएका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका छन्।

    बैतडीबाट तीन पटक लगातार जितेर चार पटक मन्त्री भएका नेकपा (एमाले) का दामोदर भण्डारीले १७,०९१ मत ल्याएका छन्।

    नेकपाका परमानन्द भट्टले ६,९६५ मत ल्याउँदा राप्रपका भुपेनबहादुर चन्दले २,६८१ मत पाए। हरिमोहनले प्रारम्भिक राजनीतिक सक्रियता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुरु गरे पनि पछि नेपाली कांग्रेसमा आबद्ध भएका थिए।

    विसं २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उनी तत्कालीन नेकपा (माओवादी केन्द्र) का प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए।

    विसं २०७९ सालको निर्वाचनमा भने नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए।

    सो निर्वाचनमा उनले कांग्रेसका आधिकारिक उम्मेदवार वीरबहादुर विष्टभन्दा बढी मत प्राप्त गरे पनि नेकपा एमालेका सुरेन्द्र पालसँग पराजित भएका थिए।

    कांग्रेसको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कारण विसं २०७९ सालमा उनलाई पार्टीले कारबाही गरेको थियो।

    निर्वाचन नजिकिँदै गर्दा उनको कारबाही फुकुवा गरिएको भए पनि उनी त्यसअघि नै रास्वपामा प्रवेश गरिसकेका थिए।

    रास्वपामा प्रवेश गरेसँगै भण्डारीले यस पटक प्रतिनिधिसभा निर्वाचन जित्दै संसदीय यात्राको सुरुवात गरेका छन्।

  20. सुदूरपश्चिमका आठवटा क्षेत्रमा रास्वपा विजयी, हिक्मत रावल

    सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आठवटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ।

    त्यहाँका तीनवटा क्षेत्रमा नेपाली कांग्रेस र दुईवटा क्षेत्रमा नेकपा एमालेका उम्मेदवार विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    कञ्चनपुरका तीन, कैलालीका पाँचमध्ये चार र डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका हुन्।

    कैलाली क्षेत्र नं २ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनालले अग्रता कायमै राखेका छन्।

    नेपाली कांग्रेसले डोटी र अछाम क्षेत्र नं १ मा विजय हासिल गरेको छ। डोटीमा कांग्रेसका भरतबहादुर खड्का र अछाम क्षेत्र नं १ मा नेपाली कम्युनिस्ट पार्टीका भीमबहादुर रावललाई हराउँदै कांग्रेसका भरतकुमार स्वाँर विजयी भएका हुन्।

    बाजुरामा नेपाली कांग्रेसकै जनकराज गिरीको अग्रता छ। दार्चुला र बझाङ्गमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

    दार्चुलाबाट गणेश सिंह ठगुन्ना र बझाङ्गबाट ऐनबहादुर महर विजयी भइसकेका छन्।

    दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नं १ को मतगणना जारी छ। सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई उछिन्दै एमालेका यज्ञबहादुर बोगटीले अग्रता कायम राखेका छन्।

    एउटा निर्वाचन क्षेत्र रहेको बैतडीमा रास्वापाका उम्मेदवार हरिमोहन भण्डारीको अग्रता छ।