केपी शर्मा ओली र रमेश लेखक पक्राउ : ‌‌'तत्काल रिहा गर्न' एमालेको माग, देशका विभिन्न सहरमा प्रदर्शन

ओलीलाई भक्तपुरको गुण्डु र लेखकलाई भक्तपुरकै कटुन्जेस्थित निवासबाट शनिवार बिहानै पक्राउ गरिएको बताइएको छ।

सारांश

  • पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा भूतपूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ परेको बारे एमालेको कडा विरोध, देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन
  • नेकपा एमालेको बैठकद्वारा "बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्त्सर्ना र विरोध"
  • नेपाली कांग्रेसद्वारा सरकारलाई परिपक्व हुन तथा विधि बमोजिम कार्य गर्न आह्वान
  • मन्त्रिपरिषद्को निर्णयअनुसार जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ

लाइभ कभरेज

  1. पार्टी अध्यक्ष ओली पक्राउ परेपछि एमालेको सचिवालय बैठक

    नेकपा एमाले सचिवालय बैठक

    तस्बिर स्रोत, Mahesh Basnet/FB

    पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछिको अवस्था र आगामी कदमबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा बसेको जनाइएको छ।

    बैठकले पछिल्लो घटनाबारे पार्टीको धारणा स्पष्ट पार्ने र "सङ्घर्षका कार्यक्रम" तय गर्ने पार्टी सचिव महेश बस्नेतले आफ्नो फेसबुक पेजमा लेखेका छन्।

  2. मन्त्रिपरिषदको पहिलो बैठकको निर्णयमा के थियो

    बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌को पहिलो बैठक

    तस्बिर स्रोत, PM Secretariat/RSS

    शुक्रवार बालेन्द्र शाह नेतृत्वमा बनेको मन्त्रिपरिषद्को पहिलो बैठकले जेन जी आन्दोलन जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनबारे निर्णय गरेको थियो।

    सोही बैठकले सरकारको प्रवक्ता नियुक्त गरेका शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकको निर्णयका बारेमा जानकारी दिएका थिए।

    पोखरेलका अनुसार उक्त प्रतिवेदन कार्यान्वयन गर्नका लागि सुरक्षा निकायका हकमा अध्ययन समिति गठन गरी सो समितिले भनेबमोजिम गरिने छ।

    अन्यका हकमा भने आयोगका सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिने निर्णय भएको पोखरेलले बताएका थिए।

  3. नमस्कार।

    बीबीसी न्यूज नेपालीको लाइभ पेजमा स्वागत छ।

    यसमा हामी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नयाँ सरकारले गठन भएको २४ घन्टा नपुग्दै गिरफ्तार गरेको घटनासँग सम्बन्धित पछिल्ला जानकारीहरू प्रस्तुत गर्ने छौँ।

    कृपया यो पेज हेर्दै गर्नुहोला।